ढुवानी समस्याले तीन जिल्लामा खाद्यन्न र पेट्रोलियम पदार्थ अभाव

 जेठ २९, २०७५ मंगलबार १३:४२:३ | शिव ढुंगाना

ओखलढुंगा – ढुवानी समस्याले ओखलढुंगामा खाद्यन्नसहित पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।

खाद्यन्न, खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ भने ढुवानीमा अवरोध भएका कारण कारण देखाएर व्यापारीले कालोबजारी गर्न थालेका छन् । ग्यासमा एक सय पचास रुपैयाँसम्म मूल्यवृद्धि भएको छ भने ३० केजीको प्याक चामलमा एक सय रुपैैयाँसम्म मूल्य बढेको छ ।

डिजेल र पेट्रोलको पनि अभाव भएको छ । कटारी घुर्मी सडक बन्द भएपछि यस्तो समस्या आएको हो । ओखलढुंगा मात्र होइन, माथिल्लो सगरमाथाका खोटाङ र सोलुखुम्बुमा पनि खाद्यन्न र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ ।

विकल्पका रुपमा रहेको बर्दिबास–सिन्धुली–खुर्कोट सडक खण्डमा पनि मालबहाक ठूला सवारी साधन सञ्चालनमा रोक लगाउन सर्बाेच्च अदालतले अन्तरिम आदेश दिएसँगै ढुवानीका साधन रोकिएपछि व्यपारीले मूल्य बढाउने र लुकाउने काम गरेको उपभोक्ताको गुनासो छ । 

सिद्धिचरण लोकमार्गको ठाँटी क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नति गर्ने भन्दै सिधा सवारी सञ्चालनमा रोक लगाइएपछि व्यवसायीहरुले विपी राजमार्गलाई विकल्पका रुपमा प्रयोग गरेर सामान ढुवानी गरिरहेका थिए ।

सामान आयात ठप्प भएसँगै बजारमा ग्राहकको माग अनुसारको सामाग्री उपलब्ध हुन छाडेको उद्योग वाणिज्य संघ ओखलढुंगाका कार्यालय सचिव नवराज दाहालले बताउनुभयो । 

‘अहिल्यै बजारमा अभाव बढिसक्यो, वर्षामा झन समस्या हुने देखियो’, दाहालले भन्नुभयो । सर्बोच्च अदालतले विपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश दिएसँगै खाद्यन्न र पेट्रोलियम पदार्थ बोकेका मालबाहक सवारी सिन्धुलीमा रोकिएका छन् । 

ओखलढुंगा, खोटाङ्ग र सोलुखुम्बुका लागि आवश्यक सामान ढुवानी गर्न सिद्धिचरण लोकमार्ग र विपी राजमार्गको विकल्प छैन । 

अन्तिम अपडेट: चैत २३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया