त्यसै त जोर बिजोरले सास्ती, त्यसमाथि भीआईपीको सवारी

 मंसिर १३, २०७५ बिहिबार १४:२२:८ | उज्यालो सहकर्मी

काठमाडौं – एसिया प्यासिफिक सम्मेलनमा भाग लिन आएका विदेशी पाहुनाको आवत जावत सहज पार्न सरकारले चार दिन काठमाडौं उपत्यकाको सडकमा जोर बिजोर प्रणाली लागू गरेको छ ।

काठमाडौँमा यात्रुको भीड थामिनसक्नु भएका बेला जोर बिजोर प्रणाली लागू भएकै दिन बिहीबार यात्रुले नराम्ररी सास्ती पाए । बिहानैदेखि काठमाडौँमा चल्ने गाडी कम छन् । चोक चोक र बस स्टपमा यात्रुको भीड बाक्लो छ । नियमित गाडी चल्दा पनि झुण्डिएर, उभिएर यात्रा गर्नुपर्ने बाध्यता छदै थियो । 

त्यसमाथि जोर बिजोर प्रणाली बिहीबार अफिस आउने जाने घण्टौ गाडी कुर्न बाध्य भए ।  कोही हिँडेरै घर कार्यालय पुगेका छन्। बेलुकी फर्किँदा पनि त्यस्तै सास्ती झेल्नुपर्ने पक्का छ ।

लामो समय कुरेपछि आउने एक दुई वटा गाडीमा यात्रु कोचाकोच गरी यात्रा गर्न बाध्य भएका छन । एसिया प्यासिफिक सम्मेलनका लागि कम्बोडियोका प्रधानमन्त्री हुन सेन र म्यानमारकी नेतृ आङ साङ सुकी काठमाडौं आउँदा यात्रुले सास्ती झेलेका हुन् ।

भीआइपीको सवारीले झन् सास्ती 

बिहीबार बिहान दुवै भीआईपी लगभग एकै समय काठमाडौं ओर्लिए । सर्वसाधारण कार्यालय जाने समयमै काठमाडौं ओर्लिएका सुकी र कम्बोडियाका प्रधानमन्त्री सेनको सुरक्षाका लागि सडक खाली गराइयो ।

सडक खाली गराउँदा कार्यालय जान ठिक्क परेका सर्वसाधारण बस स्टपमा गाडी कुरेको कुर्‍यै देखिन्थे । घण्टौ कुर्दा पनि गाडी नआएपछि कोही बाइकमा लिफ्ट मागेर गन्तव्यमा पुगे त कोही महंगो भाडा तिरेर ट्याक्सी चढ्न बाध्य भए ।

काठमाडौं उपत्यकाका सार्वजनिक गाडीमा यात्रा गर्न सजिलो छैन । पछिल्लो समय ठूला ठूला बस थपिए पनि यात्रुको चाप घटेको छैन । विदेशी पाहुना आउँदा एकातर्फ जोर बिजोर प्रणाली अर्कातिर कार्यालय समयमै हुने भीआईपीको सवारीले यात्रु बेला बेला नाकाबन्दी सम्झिन बाध्य छन् । 

तस्बिर : रासस 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया