के हो एसिया प्यासिफिक सम्मेलन ? को–को आउँदैछन् काठमाडौं ?

 मंसिर १३, २०७५ बिहिबार १७:१९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शुक्रबारदेखि काठमाडौंमा सुरु हुन लागेको एसिया प्यासिफिक सम्मेलनमा सहभागि हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख तथा प्रतिनिधिहरु आउने क्रम जारी छ ।  

दक्षिण कोरियामा रहेको अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल च्याप्टरले आयोजना गरेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । 

विभिन्न देशका सरकार प्रमुखसहित यति धेरै प्रतिनिधि बोलाएर हुन लागेको यो सम्मेलन नेपालमै पहिलो पटक हुन लागेको ठूलो अन्तर्राष्ट्रिय सम्मेलन भएको आयोजकको दावी छ ।  

शुक्रबारदेखि सुरु हुने सम्मेलन आत्मनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापी मूल्य मान्यताका विषयमा केन्द्रित हुने बताइएको छ । सम्मेलनको मूल एजेण्डा भने गरिबी, आतंकवाद, खाद्य, सुरक्षा र जलवायु परिवर्तन रहने आयोजकले जनाएको छ ।  

शुक्रबारदेखि सुरु हुने सम्मेलन सोमबार काठमाडौं घोषणापत्र सार्वजनिक गर्दै सकिने छ । 

सम्मेलन सुरुदेखि नै विवादित

विवादित सस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गर्न लागेको सम्मेलन सुरु नहुँदैबाट विवादित बन्न पुग्यो ।   

सम्मेलनमा शान्ति प्रकृया, द्वन्द्व, जलवायु र विवाह एवं परिवार संरचनालाई सुदृढ बनाउन विस्तृत छलफल गरिने आयोजकले दावी गर्दै आएको छ ।  

विवादित अन्तर्राष्ट्रिय गैरसरकारी सस्थाले आयोजना गर्न लागेको यो सम्मेलनमा नेपाल सरकार र संघीय संसदलाई सहआयोजक बनाउने तयारी गरेपछि विवाद छताछुल्ल भयो । सम्मेलनका लागि बाँडिएका निम्तो कार्डमा पनि गैरसरकारी संस्थाको लोगोमुनि नेपाल सरकार र संघीय संसदको लोगो प्रयोग गर्दै नेपाल सरकार कार्यक्रमको सहआयोजक  भएपछि नेपाली कांग्रेसलगायतका दलले आपत्ति जनाए । 

नेपाली कांग्रेसले कुनै एक धर्मको प्रचारका लागि कार्यक्रम हुन थालेको भन्दै विरोध जनाएको हो । देशको संविधानले धर्म निरपेक्षतालाई अनुसरण गर्ने तर सरकार नै कुनै एक धर्मको प्रचारमा सह–आयोजक बन्न खोज्नुले संविधानको बर्खिलाफ भएको भन्दै विरोध जनाएको थियो । 

व्यापक विरोध हुन थालेपछि सरकार सम्मेलनको सहआयोजकबाट फिर्ता भएर सहआयोजक नभई सहयोगी मात्रै बन्ने निर्णय गर्यो ।

यस्तै राष्टिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धर्मप्रचारक संस्थाले आयोजना गरेको विवादास्पद भेलामा सहभागी पाहुनालाइ गरिएको स्वागत अवांछित रहेको बताउनुभयो । थापाले ट्वीट गर्दै सहभागी पाहुनालाई सरकारले गरेको स्वागत पनि प्रचलित कुटनीतिक मान्यता अनुकुल नभएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘पाहुनाको स्वागत हुनुपर्छ तर मर्यादा विपरीत होइन ।’ साथै नागरिकलाई सास्ती दिनेगरी सवारी साधनमा जोरबिजोर रुपमा चलाउनु अनावश्यक र यात्रुमाथिको ज्यादति भन्दै उहाँले भर्त्सना  गर्नुभयो ।  

को–को हुँदैछन् सहभागी

शुक्रबारदेखि सुरु हुन लागेको सम्मेलनमा विभिन्न ४५ देशका झण्डै १५ सय प्रतिनिधि सहभागि हुँदै छन् । सम्मेलनमा सहभागी हुन फिलिपिन्सका उपराष्टपति लोनी रोड्रेबो, बुधबार नै काठमाडौं आइसक्नु भएको छ । यस्तै म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार काठमाडौं आइपुग्नु भएको छ । अन्य देशका राष्ट्रप्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरु पनि आउने क्रम जारी छ । 

सम्मेलनमा पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी, अफगानिस्तानका पूर्व उपराष्ट्रपति, कोलाम्बियाका पूर्व राष्टपति, इन्डोनेसियाका संसद प्रमुख, टोंगा सरकारका प्रवक्ता, फिजीका सभामुख पनि सम्मेलनमा सहभागी हुने बताइएको छ ।

यस्तै पोलिनिसिया मुलुक सामोआका प्रमुख, दक्षिण प्रशान्त सागरमा रहेको मुलुक टुभालुका सरकार प्रमुख, माइक्रोनेसिया मुलुक नाउरुका राष्ट्रपति बरुना वकासहित एसिया प्रशान्त देशका उच्च अधिकारी सम्मेलनमा सहभागी हुने आयोजकले जनाएको छ । 

सम्मेलनमा हिन्दू, बौद्ध र मुस्लिम धर्मका गुरु समेत सहभागी

क्रिश्चियन धर्म प्रचारका लागि कार्यक्रम गरिएको भन्ने चर्चा हुन थालेपछि आयोजक संस्थाले कार्यक्रममा क्रिश्चियन मात्रै नभई सबै धर्मका गुरुहरुलाई समेत निम्ता गरेको छ । 

हिन्दू धर्मलाई प्रतिनिधित्व गर्दै वृन्द्रावनका गोस्वामी आउँदैछन् भने उनका साथमा बीजेपीका नेता विजय जोली काठमाडौं आइपुगिसक्नु भएको छ । ताइवानबाट अन्तर्राष्ट्रिय बुद्धिस्ट संघका अध्यक्ष चिनचुङ याङ र भारतबाट मुस्लिम धर्मलाई प्रतिनिधित्व गरेर इमाम प्रमुख डाक्टर उमर अहमद इल्यासी आउनुहुने आयोजकले जनाएको छ । 

क्रिश्चियन धर्म गुरुका रूपमा भने म्यान्मारस्थित वाप्टिस्ट एसोसिएसनका राष्ट्रिय अध्यक्ष जा खादर आउने तय भएको छ ।   

सबै धर्मका गुरुहरु सहभागी सम्मेलनमा साझा शान्तिको बाटो के हुने भन्ने बारेमा पनि छलफल हुने आयोजक संस्था यूपीएफले जनाएको छ ।

कहाँ–कहाँ बस्छन् पाहुना  ?

सम्मेलनमा आउने पाहुनाले काठमाडौंका होटल भरिने भएको छ । बिहीबारदेखि एक सातासम्मका लागि काठमाडौंका ठूला होटल पर्यटकले नभई सम्मेलनमा सहभागी हुन आउने पाहुनाले भरिने भएका हुन् । 

बिहीबार काठमाडौं आएका म्यान्मारकी नेत्री आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन होटल सोल्टीमा बस्नुभएको छ ।  

उनीहरूझैँ सम्मेलनमा आउने ७ देशका सरकार÷राष्ट्र प्रमुख उपप्रमुखलाई पनि त्यही होटलमा राख्ने आयोजकको तयारी छ । हायात, याक एन्ड यती, र्‍याडिसन, सोल्टी तथा द्वारीकाज लगायतका तारे होटलमा उच्च तहका पाहुना बस्ने छन् । काठमाडौंका तीन र चारतारे होटलहरूमा पनि झन्डै ४५ देशबाट आएका १५ सय पाहुनाले भरिनेछन् ।  

उच्चस्तरीय भेटघाट

सम्मेलनमा आउने देशका प्रमुखहरुले नेपालका राष्ट्रपति, प्रधानमन्त्री एवं शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । 

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्नुहुने कार्यक्रम तय भएको छ । यस्तै कम्बोडियाका प्रधानमन्त्री सेनले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै भेटवार्ता गर्नुहुने परराष्ट मन्त्रालयले जनाएको छ । अन्य देशका राष्टप्रमुख तथा सरकार प्रमुखसँग पनि द्विपक्षीय भेटघाट हुने बताइएको छ । 

संस्थाको स्थापना  

संस्थाका सस्थापक सन म्युङ म्युन पटक–पटक विवादमा परेका व्यक्ति हुन् । कम्युनिष्टका कट्टर विरोधी र कोरियाली राष्ट्र एकीकरणको वकालत गरेका मुनले सन् २००५ मा यो संस्था स्थापना गरेका हुन् । 

आफैले जोडी खोजेर सामूहिक विवाह गराइदिएर कोरियामा चर्चा बटुलेको संस्था हो यूपीएफ । अरुको जोडी खोजेर सामूहिक विवाह गरिदिने सस्थाकै संस्थापक मुनको विवाह प्रक्रियालाई लिएर पनि आलोचना हुने गरेको छ । सन १९७१ मा आयकरमा गडबडी गरेपछि संस्थापक मुनलाई कोरिया सरकारले कारबाहीस्वरुप १८ महिना जेल पठाएको थियो । 

आफू मसिहा भएको र जिससले अधुरा छाडेका कार्यलाई पूरा गर्न खटाएको दावी गर्ने मुनको सन् २०१२ मा निधन भएको थियो । 

इसाइ धर्मको प्रचारप्रसार गर्ने यो सस्थाले आयोजना गर्न लागेको सम्मेलनको नारा ‘क्रिटिकल च्यालेन्जेज अफ् आवर टाइम’ अर्थात हाम्रो समयका गम्भीर चुनौतीहरु राखिएको छ ।  

विभिन्न देशमा क्रिश्चियन धर्म प्रचार गर्दै आएको यूपीएफलाई फिजी सरकारले सम्मेलन गर्न नदिएपछि नेपालमा आयोजना गर्न लागिएको हो । संस्थाको नेपाल च्याप्टर अध्यक्ष तत्कालीन परिवार दलका प्रमुख एवं पूर्वमन्त्री एकनाथ ढकाल हुन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • PADAM BK

    Dec. 5, 2018, 12:04 a.m.

    हे नेपालीहरु ! पछिमी धर्म प्रचार हुँदैछ , यो क्रिस्चियन वाट भन्ने कुराले टाउको किन दुखायो ? यो धार्मिक कार्यक्रम हो भन्न तिमीहरु किन डराएको ? नेपालमा भारतीय गुरुको कार्यक्रम खुलेयाम गर्छौ- कुनै समस्या छैन /आखिरमा यसमा चित्त किन दुखेको ? नेपाल धर्म निरपेक्ष देश हो नि, त्यसो भए कुनै धार्मिक कार्यक्रम गर्न पाउने सबैलाई हक छ नि हैन ? अझै लेखले नेपाल धर्म निरपेक्ष भन्छ , फेरि विरोध पनि गर्छन , कस्तो लेखक हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया