उनले बिस्तारै भनिन् ‘प्लिज डन्ट टच मी’, तर सुन्ने कोही थिएन

 मंसिर १३, २०७५ बिहिबार १९:१८:११ | विना न्याैपाने
unn.prixa.net

सार्वजनिक गाडीमा दिनको चार-पाँच पटकसम्म यात्रा गर्नु मेरो पनि बाध्यता हो । सार्वजनिक गाडी, त्यसमाथि घुइँचो हुँदा कति धेरै पीडा भोग्नुपर्छ भन्ने सबैलाई थाहा छ ।

भेडाबाख्रा जस्तो गरी कोचिएर यात्रा गर्दा सास्ती त हुन्छ नै, कतिपयले चाहिँ भिडको फाइदा उठाउँदै युवतीलाई कसरी छुन पाइएला भनेर दाउ हेर्ने गरेको देखेको छु । 

उभिएर यात्रा गर्नुपर्दा यस्तो दुर्व्यवहार भोग्नुपर्ने त आफ्नो ठाउँमा छँदैछ । बस्ने सिट पाउँदा समेत महिला र युवतीले सुविधासँग बस्न पाउँदैनन् । सँगैको सिटमा पुरुष छ भने उ खुट्टा फट्याएर बसेको हुन्छ । त्यसमाथि छेउमा पुरुष अनि बीचमा महिला भइन् भने मिलेर बस्ने निहुँमा उनीहरुकै काखमा बस्नु पर्ने बाध्यता छ । सबै पुरुष उस्तै हुँदैनन्, तर धेरैजनाको व्यवहार यस्तै देखेको छु, अनि भोगेको छु मैले पनि । 

अप्ठ्यारो भयो थोरै उता सर्नुहोस् न भन्यो भने पनि छुन पनि नहुनेले आफ्नै प्राइभेट कारमा आउनुपर्थ्याे भन्छन् ।

कतिपयले त आफू बसेको सिट छोडेका पनि छन् । विकसित देशमा त पुरुष यात्रुले बसमा खुट्टा फट्याएर बस्न नपाउने, सिधा भएर बस्नु पर्ने, अरुलाई धक्का दिन नपाइने नियम छ । मलाई थाहा भएअनुसार स्पेनको राजधानी मड्रिडमा सार्वजनिक गाडीमा यस्तो नियम लागू भएको छ । तर हाम्रो नेपालमा जस्तोसुकै समस्या भए पनि यस्तो समस्यामा चुपचाप सहनु परेको छ ।

गाडीका सहचालकले अझै छोइँदैमा केही हुँदैन, अझै उता सर्नु भन्छन् । आखिर कहिलेसम्म ? यस्को जवाफ मैले पाउँछु जस्तो लाग्दैन । किनकी भएका नियम त कार्यान्वयन गर्न नसक्ने देशमा अरु के आशा गर्नु र ? आफू चिल्ला कारमा हुइँकिनेहरुले यतातिर ध्यान दिने त कुरै भएन । उनीहरुले न यो समस्या भोग्नु पर्छ, न त पीडामा फसेका नागरिक देख्नु नै पर्छ । 

कालो सिसा लगाएको गाडीमा हिँड्नेहरुले कहिले देख्लान् नागरिकका पीडा ? अनि कुर्सीमा बसेर ठूल्ठूला आशाका पहाड थुपार्नेले कहिले बुझ्लान् नागरिकका पीडा ? 

नेपालीले मात्रै होइन, केही समयका लागि नेपाल घुम्न आउने विदेशी पर्यटकले पनि सार्वजनिक गाडीमा दुर्व्यवहार र हिंसा सहनुपरेको मैले नै देखेको छु । भृकुटीमण्डपबाट गुड्ने बेलामै गाडीमा सिट भरिसकेको सकेको थियो । सुन्धाराबाट ठमेल जान चढेकी विदेशी पर्यटक अगाडि उभिएकी थिइन् । 

अन्दाजी २२-२३ वर्षको केटा थियो उनको नजिक । जमलमा पुग्दासम्म टेक्ने ठाउँसम्म पनि थिएन । उभिनेलाई सास फेर्न पनि धेरै गाह्रो भएको थियो । केटाले उनलाई समायो । उनी आत्तिएर पुरै रातो भैसकेकी थिइन् । उनलाई धेरै गाह्रो भएको छ भन्ने सजिलै अन्दाज गर्न सकिन्थ्यो । उनले बिस्तारै भनिन, ‘प्लिज डन्ट टच मी’ तर सुन्ने कोही थिएन ।  केहीले सुने पनि होलान् तर नसुनेको झैँ गरे । 

आखिर पीडितले न्याय पाउँदैन भने दोषीलाई कानुनको कठघरामा ल्याउन सकिँदैन भने किन गरिन्छ चेतनामूलक नाम दिइएका कार्यक्रम ?

मलाई अप्ठ्यारो लाग्यो । अगाडिको सिटमा बसेको थिएँ म । आफू उठेर उनलाई बस्नु भनेँ, तर उनी मानिनन् । धेरै गाह्रो भएर होला ठमेल जानु पर्र्ने मान्छे लैनचौरमा नै झरिन् । उनी झरेपछि उल्टै ‘ट्याक्सीमा आउनु पर्ने खैरिनी यस्तो गाडीमा आएर हुन्छ’ भन्यो त्यही केटाले । यसले नेपालको प्रतिष्ठामा  कस्तो असर पुग्ला भनेर यतातर्फ कसैको ध्यान गएको पाइँदैन । अप्ठ्यारो भयो थोरै उता सर्नुहोस् न भन्यो भने पनि छुन पनि नहुनेले आफ्नै प्राइभेट कारमा आउनुपर्थ्याे भन्छन् । 
यसरी सार्वजनिक गाडीमा अरुलाई समात्नु पर्ने अवस्थाको अनि महिलामाथि हुने गरेको अभद्र व्यवहारले धेरैलाई समस्या हुने गरेको छ । तर बुझ्ने कस्ले ? यस्तै खालको समस्याले गर्दा सन् २०१४ मा अमेरिकामा एउटा अभियान नै चलाइएको थियो । 

लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको समयमा नै बाबुले छोरीलाई, काकाले भतिजीलाई, अनि हजुरबुबाले नातिनीलाई बलात्कार गरेको खबर आइरहँदा हाम्रो समाज कता गैरहेको छ भनेर बुझ्ने ? यति मात्रै होइन, श्रीमानले श्रीमतीको हत्या पनि यही अभियानकै समयमा भएको छ ।  के ठूलो बजेट खर्च गरेर राष्ट्रपति, अनि प्रधानमन्त्रीले चर्का भाषण गरेर मात्रै यस्ता खालका घटनामा कमी आउने हो ? होइन भने किन कसैको यता ध्यान जाँदैन ? 

सार्वजनिक गाडीमा यात्रा गर्दा महिलाहरु यौन हिंसामा पर्ने गरेका घटना बढ्न थालेपछि नियन्त्रणका लागि प्रहरीले अभियान नै चलाएको थियो । तर प्रभावकारी भने देखिएन । अभियान चलाएकै बेलामा लागेको थियो, के यातायातमा महिलाहरुप्रति हुने यौनजन्य हिंसा कम गर्ला त ? तर यो प्रश्नको उत्तर भेटिएको छैन ।

कुनै पनि कार्यक्रमको उद्धेश्य भनेको अपराध गर्नेलाई कानुनको दायरामा ल्याएर नियन्त्रण गर्ने अनि यस्ता घटना सहेर बस्नु हुँदैन, रिपोटिङ गर्नुपर्छ, जागरुक हुनुपर्छ  भनेर जनचेतना फैलाउने हो । तर यो त भन्ने कुरा मात्रै भयो । जति नै अभियान चलाए पनि महिला हिंसामा कमी आउन सकेको छैन । न त उजुरी नै सुनुवाइ भएको छ । 

निर्मला हत्याकाण्डको छानबिन तथा दोषी पत्ता लगाउन धर्ना बसेका बाबुले आफ्नो मानसिक सन्तुलन समेत गुमाउनु परेको छ । के हाम्रो देशमा न्याय साँच्चै हराएको हो ? कि त कानुनलाई बाकसमा बन्द गरिएकोे हो ? आखिर पीडितले न्याय पाउँदैन भने दोषीलाई कानुनको कठघरामा ल्याउन सकिँदैन भने किन गरिन्छ चेतनामूलक नाम दिइएका कार्यक्रम ? अनि किन सकिन्छ देशको ढुकुटी ? 

अहिले लाग्छ कुनै पनि अभियान होइन, काम गर्नको लागि धेरै ढिला भइसकेको छ । दिनानुदिन बढेको  हिंसाले गर्दा हजारौं छोरीले अकालमा ज्यान गुमाउनु परेको छ । यो दोष कुनै एकजना पुरुषको मात्रै होइन, यस्ता कामको दोषी अब पुरै समाज हो भन्न मन लाग्यो । 

हामीले आफ्नो घर र समाज निर्माण कसरी गरिरहेका छौँ भन्ने कुराले नै देश कता गइरहेको छ भन्ने प्रष्ट हुन्छ । हरेक घरमा छोरीको इज्जत, सम्मान र संरक्षणको बारेमा कुरा हुन जरूरी छ । प्रत्येक आमाले आफ्ना छोराहरुलाई छोरी तथा दिदीबहिनीहरुको महत्व बुझाउन पनि अत्यावश्यक भै सकेको छ । 

पहिला त हिंसा हुनै नदिने हो, यदि हिंसाले गर्दा केही घटना भइहाले पनि सबै मिलेर पीडितलाई न्याय दिलाउनुपर्छ । 

हिंसा, बलात्कार र हत्याको शृङ्खलामा पनि दोषीहरू सजिलै उम्कनुले पनि हाम्रो देशलाई अहिले न्याय हराएको देश भनेर भन्न सकिन्छ । के अब पनि सबैजना यसरी चुप बस्न मिल्छ र ? नागरिक जति नै सडकमा कराए पनि ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भने झैँ भएको छ ।

के हामीले अरु देशमा यस्तो भएको थियो भनेर मात्रै पढ्ने हो त ? कहिले हुन्छ यस्ता खालका विकृति र विसंगतिको अन्त्य ? हिजोआज यस्ता खालका प्रश्नले सधैं सताउने गर्छ । तर उत्तर पाएको छैन । 
 

अन्तिम अपडेट: मंसिर २१, २०७५

1 Comments

  • chandra gautam

    Nov. 29, 2018, 8:28 p.m.

    सार्वजनिक यातायातमा महिलामाथि हुने पिडाजनक ब्यवहार खेदजनक छ । तपाईंसंग सहमत । तर घटना बिवरण अलि मेल खाएन कि ? सुन्धाराबाट ठमेलको लागि बस चढेकि बिदेसि महिला पिडाकै कारण लैनचौरमा झरिन , के भनेको ? लैनचौर त अझ टाढा पुगियो हैन र ?

तपाईको प्रतिक्रिया