प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

 मंसिर १४, २०७५ शुक्रबार ६:३१:२० | रासस
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाली समकक्षी हुन सेनबीच द्विपक्षीय हित र चासोका विषयमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका क्रममा हुन सेन बिहीबार काठमाडाैं आइपुग्नु भएको हो । प्रधानमन्त्री ओली र उहाँका समकक्षीबीच होटल द्वारिकाजमा बिहीबार साँझ झण्डै आधा घण्टा भेटवार्ता भएको थियो । एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय छलफलसमेत भएको थियो ।

छलफलमा सहभागी सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार दुई देशको सम्बन्ध आपसी हित र द्विपक्षीय चासो एवं नेपालको शान्ति प्रक्रिया, वर्तमान सरकारको प्राथमिकतालगायत विषयमा छलफल भएको थियो । यही अवसरमा प्रधानमन्त्री ओली र उहाँका कम्बोडियाली समकक्षीबीच दुई देशबीच पर्यटन प्रवर्द्धन, तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विविध क्षेत्रबारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो ।

छलफलमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको सहभागिता थियो । नेपाल र कम्बोडियाबीच उच्च सरकारी तहमा भ्रमण आदानप्रदानलाई बढावा दिने तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान धारणाका साथ अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो । कम्बोडियाका अधिकांश नागरिकले बौद्ध धर्म मान्ने भएकाले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा बुधबार भएको हवाई सम्झौताले महत्वपूर्ण अर्थ राख्ने विश्वास लिइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया