भूकम्प पीडितलाई सहुलियत कर्जा : कामभन्दा धेरै चर्चा

 मंसिर १४, २०७५ शुक्रबार ११:११:४५ | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – ‘अतेले आफ्नो घर पुनर्निर्माण त सुरु गरे, तर पनि आर्थिक अभावका कारण सम्पन्न गर्न भने सकेका छैनन् । यही कारण अझै पनि भूकम्पले ध्वस्त पारेको घरलाई नै मर्मत गरी ५ जनाको परिवार बसिरहेको छ । अते मात्र हैन, उनकी बुहारी पूजा पनि एकै स्वरमा भन्छिन् – हामीले सरकारी अनुदानको दुई किस्ता त लिएका छौं, तर सुपथ ऋणबारे भने सुनेकै छैनौं । बरु त्यस्तो ऋण पाउन पाए हुन्थ्यो ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रकाशन गरेको ‘पुनर्निर्माण’ पुस्तकमा रहेको सहुलियत कर्जाको ‘आशा ऋण’ शीर्षकको एउटा अंश हो यो । घर बनाउन नसकेकाले सहुलियतपूर्ण कर्जा, ५ वर्षका लागि ३ लाख रुपैयाँसम्म लिन सकिने उल्लेख छ । तर लमजुङ बेसीशहर नगरपालिका १० बाँझखेतका ६४ वर्षका अते परियार र २२ वर्षकी पूजा परियारले ऋणको बारेमा थाहै नपाएको बताएका छन् ।

यसरी सुपथ ऋणको आशा गर्ने धेरै भूकम्प प्रभावित छन् । काठमाडौं उपत्यका भित्रका भूकम्प प्रभावितलाई दिने भनिएको २५ लाख रुपैयाँसम्मको ऋण सुविधा अहिले नपाउने अवस्थामा पुगेको छ । यसअघि लिने झण्डै १२ सय भूकम्प प्रभावित पनि चर्को ब्याजदरमा परेको गुनासो गरी ब्याज मिनाहाको माग गर्दैछन् ।

राष्ट्र बैंकले भूकम्प प्रभावितसँग तत्काल चर्को ब्याज नलिनु भनेर बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर थमाएको अवस्था छ । अर्को बिना ब्याजको ३ लाख रुपैयाँ पनि बैंक तथा वित्तीय संस्थाले दिन नसक्ने अडान यथावत् राखेपछि सहुलियत ब्याजदरमा दिने गरी सहमति भएको छ । अहिले सहुलियत ब्याजदरमा भूकम्प प्रभावितलाई ३ लाख रुपैयाँ ऋण दिन बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको अवस्था छ ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि र व्यवस्था

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग घर बनाउन भनी सम्झौता गरेका तर आर्थिक अभावका कारण अहिलेसम्म घरको थालनी गर्न नसकेका भूकम्प प्रभावितले ३ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने व्यवस्था छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार घर बनाउन नसकेका भूकम्प प्रभावितले अधिकतम ५ वर्षका लागि ऋण लिन सक्नेछन् । 

नेपाल सरकारले ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने यस्तो कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर अर्थात् बेसरेट मा २ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याज लिन पाउनेछन् । यो कर्जामा ब्याज बाहेकको अन्य थप सेवा, शुल्क वा दस्तुर लिन पाइनेछैन । तर सामूहिक वा धितो जमानीमा ऋण प्रवाह गर्न सक्नेछन् ।

बुधवार बसेको विकास समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आर्थिक अभावले नै घर बनाउन नसकेको खण्डमा सहुलियतकर्जा उपयोगी हुने भएकाले इच्छुक भूकम्प प्रभावितलाई ऋण लिन आग्रह समेत गर्नुभयो । उहाँले यसै आर्थिक वर्षभित्र घर निर्माणको काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य भएकाले भूकम्प प्रभावितलाई सहुलियत ऋणले सहयोग पुग्ने समेत बताउनुभयो ।

ऋण लिन शर्त

कार्यविधिमा ऋण लिन केही शर्त राखिएको छ । भूकम्प प्रभावित जसले ऋण लिने हो उसले सरकारी अनुदानको रकम बाहेक अन्य संस्थागत अनुदान लिएको हुनु हुँदैन । अनि आर्थिक अभावकै कारण अहिलेसम्म घरको जग बसाल्न नसकेको हुनुपर्नेछ । साथै ऋणी र उसको परिवारको नाममा कुनै पनि स्थानमा बस्न योग्य अर्को घर पनि हुनुहुँदैन । ऋण लिन बन्दै गरेको घर पनि धितोका रुपमा राख्न सकिन्छ । 

कर्जाका लागि आवश्यक कागजात

५ वर्षका लागि ३ लाख रुपैयाँसम्म लिन सकिने कर्जाका लागि केहि कागजात पनि आवश्यक छ ।

१. सम्बन्धित बैंक तथा वित्तीय संस्थाको विधिवत भरिएको कर्जा आवेदन फारम
२. लाभग्राहीको नागरिकताको फोटोकपी
३ कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वःघोषणा
४ अनुदान सम्झौता पत्रको सम्बन्धित स्थानीय तहबाट प्रमाणित प्रतिलिपि
५ दोस्रो किस्ताका लागि निवेदन नदिएको व्यहोरा सहित सिफारिस पत्र
६ धितोका लागि आवश्यक कागजपत्र
 

अन्तिम अपडेट: चैत २७, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया