वडाध्यक्ष वैदेशिक रोजगारीमा जान लागेको भन्दै सदस्यको आपत्ति

 मंसिर १४, २०७५ शुक्रबार ११:४०:५६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष वैदेशिक रोजगारमा जान लागेको भन्दै वडा सदस्याले आपत्ति जनाएका छन् ।

वडा अध्यक्ष काजी शेर्पा अधिकांश समय विदेशमा रहँदा सेवा प्रभाहमा समस्या आएको भन्दै वडा सदस्य आङ फुर्वा शेर्पाले बताउनुभयो । वडाध्यक्ष काजी शेर्पा पर्यटन व्यवसायी भएकाले अघिल्लो वर्ष पनि अष्ट्रिया गएको र यो वर्ष पनि अष्ट्रिया जानालागेको वडा सदस्य शेर्पाको भनाई छ ।

वडाध्यक्ष गाउँमा नहुँदा कार्यवाहक अध्यक्षले कार्य सञ्चालन गर्दा समस्या आउने गरेको वडा सदस्य शेर्पाको दावी छ । गएको वर्ष अध्यक्ष विदेश जाँदा कार्यवाहक अध्यक्ष आफूले चलाउँदा स्थानीयले अध्यक्ष हुनुपर्ने माग गरेको शेर्पाको भनाई छ । वडाका युवाहरुले अध्यक्ष वैदेशिक रोजगारीका लागि विदेश जाने र आफ्नो व्यवसायमा नै लाग्ने हो भने आपूmहरु वडा कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रने चेतावनी दिएको महिला वडा सदस्य  शेर्पाले बताउनुभयो ।

आफ्नो पेशा नै विदेशमा भएकाले जान लागेको वडा अध्यक्षको भनाई

यता वडा अध्यक्ष काजी शेर्पाले भने आफ्नो रोजगार नै विदेशमा भएकाले आफू अष्ट्रिया जान लागेको स्वीकार गर्नुभयो । १७ वर्ष देखि पर्यटन व्यवसायमा आबद्ध भएकाले अष्ट्रिया जान लागेको वडाध्यक्षले बताउनुभयाे। ४–५ दिनमा अष्ट्रिया जान लागेको भन्दै वडाका कुनै पनि काम प्रभावित नहुने उहाँको तर्क छ । चुनावको समयमा जनतासँग मत माग्दा नै आफूले त्यो कुरा जानकारी गराएको भन्दै सेवा प्रवाहमा कुनै बाधा नआउने उहाँले जिकिर गर्नुभयो ।

आफू ३ महिना व्यवसायका लागि अष्ट्रिया रहने कुरा जनतालाई जानकारी गराएरै चुनाव जितेको वडाध्यक्षको भनाई छ । उहाँले अरुले एक वर्षमा सम्पन्न गर्ने विकास निर्माणका कामसमेत आफूले ७ महिनाको अवधिमा पूरा गरेको दावी गर्नुभयो । आर्थिक वर्ष २०७५–७६ को विकासका कार्य समेत ६० प्रतिशत सम्पन्न गरिसकेको र बाँकी सञ्चालनको क्रममा रहेकाले आफू ३ महिना विदेशमा रहँदा विकास निर्माणमा कुनै असर नगर्ने उहाँले बताउनुभयो । 

गुनासो गर्ने महिला सदस्यले आपूmले कार्यवाहक नपाएको आवेगमा आपूmमाथि आरोप लगाएको अध्यक्ष शेर्पाको भनाई छ । अघिल्लो वर्ष वडा सदस्य आङ फुर्वा शर्पालाई कार्यवाहक दिए पनि यो वर्ष नदिएकाले यस्ता आरोप लगाएको अध्यक्ष शेर्पाको दावी छ ।

विदेशमा रहेको समयमा वडाबाट प्राप्त कुनै पनि तलब भक्ता नलिने भन्दै आफ्नो वडामा विकास निर्माणदेखि अन्य काममा कुनै पनि किसिमको ढिलासुस्ती समेत नहुने जिकिर गर्र्नुुभयो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया