नेपाल र म्यान्मारबीच व्यापार सम्झौता, सु कीले भनिन् : काठमाडौं परिवर्तन भएछ

 मंसिर १४, २०७५ शुक्रबार १५:४८:५९ | रासस

काठमाडौं – नेपाल र मित्र राष्ट्र म्यान्मारबीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग–अलग भेट र द्विपक्षीय वार्तापछि उहाँहरुको उपस्थितिमा व्यपार सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मारका तर्फबाट अन्तर्रा्ष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गर्नुभएको थियो । 

दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ । दुई देशका उद्योग वाणिज्य महासङ्घबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ । ‘एसिया प्रशान्त शिखर सम्मेलन’मा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा काउन्सिलर सु की बिहीबार काठमाडौँ आउनुभएको थियो । 

वार्तामा सहभागी प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईका अनुसार दुई देशबीच व्यापार र आर्थिक गतिविधि बढाएर हवाई सम्पर्कसमेत स्थापना गर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । हाल नेपालमा म्यान्मारबाट दाललगायत खाद्यान्न आपूर्ति भएकाले दालको भाउ स्थिर हुन योगदान पुगेको बताइएको छ । 

उहाँले लुम्बिनीमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि दुई देशबीच सीधा हवाई सम्पर्क स्थापना गरिने र नेपालले सन् २०२० का लागि घोषणा गरेको नेपाल पर्यटन वर्षमा म्यान्माबाट पर्यटक वृद्धि गराउन म्यान्माले सहयोग गर्ने समझदारी भएको छ । 

डाक्टर भट्टराईले नेपाल सिद्धार्थ गौतमको जन्मस्थल रहेको र म्यान्मा बौद्धमार्गी मुलुक भएकाले पनि दुई देशबीचको भावनात्मकका साथै व्यापारिक सम्बन्ध कायम रहेकाले आगामी दिनमा व्यापार र लगानी वृद्धि हुने बताउनुभयो । म्यान्माले गौतम बुद्धजन्मस्थल लुम्बिनीमा चैत्य निर्माण गरेको छ । 

प्रधानमन्त्री ओली र सु कीबीच बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)लाई थप सक्रिय तुल्याउन दुवै पक्षले काम गर्ने विषयमा पनि छलफल भएको थियो । उहाँले सन् २०१४ मा बिम्स्टेकको तेस्रो शिखर सम्मेलनका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले म्यान्माको औपचारिक भ्रमण गर्नुभएको थियो भने त्यहाँका प्रधानमन्त्री उ सेन विङले नेपालका राजा वीरेन्द्रको राज्यारोहणका समयमा सन् १९७५ (वि.सं. २०३१)मा नेपालको भ्रमण गर्नुभएको थियो । 

सन् १९८० मा तत्कालीन राजा वीरेन्द्रले म्यान्माको औपचारिक भ्रमण गर्नुभएको थियो । दुई मुलुकबीच सन् १९६० मार्च १९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । म्यान्मारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्यता पाउन सन् २००८ मा प्रस्ताव गरेको थियो ।

वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, डा भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, म्यान्माका लागि नेपाली राजदूत भीम उदास तथा म्यान्माका मन्त्री टिनलगायतको उपस्थिति थियो । पहिले बर्मा भनिने म्यान्मामा नेपाली मूलका करीब दुई लाख मानिसको बसोबास छ । 

काठमाडौं परिवर्तन भएछ : सु की 

प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा स्टेट काउन्सिलर सु कीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौँमा धेरै परिवर्तन भएको पाएको अनुभव सुनाउनुभएको थियो । नेत्री सु की सन् १९७३ मा आफ्ना श्रीमानले अनुसन्धान गर्न आएका बखत नेपालमा बस्नुभएको थियो । नेपालकी अनगारिका धम्मावती गुरुमा सु कीकी बौद्ध गुरुआमा हुनुहुन्छ । 

भेटमा प्रधानमन्त्री ओलीले नेपालको कक्षा ९ को सामाजिक विषयमा रहेको नेत्री सु कीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तकसमेत उपलब्ध गराउनुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया