उपराष्ट्रपति पुनसँग फिलिपिन्सकी समकक्षीको भेट

 मंसिर १४, २०७५ शुक्रबार १७:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनसँग फिलिपिन्सकी समकक्षी मारिया लेनोर जेरोना रोब्रेडोले शिष्टाचार भेट गर्नुभएको छ । 

एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका फिलिपिन्सकी उपराष्ट्रपतिले शुक्रबार दिउँसो उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर नेपाली समकक्षीसँग शिष्टाचार भेट गर्नुभएको हो । समकक्षीबीचको भेटमा दुई देशको सम्बन्ध र सहकार्यको लगायतको बारेमा छलफल भएको छ । 

फिलिपिन्सका समकक्षीसँगको भेटमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले फिलिपिन्स नेपालको घनिष्ठ मित्र राष्ट्र भएको बताउनुभयो । उहाँले नेपाल र फिलिपिन्सबीच सांस्कृतिक लगायतका धेरै समानताहरु रहेको बताउनुभयो । ‘नेपाल र फिलिपिन्सबीच औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको साठी वर्ष पुग्दैछ । पूर्वी दर्शनको मान्यता अनुसार साठी वर्ष अत्यन्त शुभ वर्ष हो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘कुटनीतिक सम्बन्धको साठी वर्षले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्ने छ ।’

उपराष्ट्रपतिले नेपालले राजनीतिक स्थायित्व हासिल गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको आर्थिक समृद्धिका लागि फिलिपिन्ससँग सहकार्य चाहेको समेत बताउनुभयो । 

‘हामी आर्थिक सामाजिक रुपान्तरण सहितको समुन्नत र समृद्ध नेपाल निर्माण अभियानमा छौँ । नेपालको विकास र समृद्धिका लागि हामी सबै मित्र राष्ट्रसँग सहकार्य गर्न चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘नेपाल र फिलिपिन्स दुवै प्राकृतिक रुपमा सुन्दर मुलुक हुन्, दुई देशबीचको सहयोग र सहकार्य अझै फराकिलो बनाउनुपर्दछ ।’

भेटमा उपराष्ट्रपति पुनले नेपालले कृषिको आधुनिकीकरण, पर्यटनको विकास, जलविद्युत उत्पादन तथा बिक्री, जडिबुटीको प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणको माध्यमबाट समृद्धि हासिल गर्न खाजेको बताउनुभयो । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको जानकारी गराउँदै त्यस अवसरमा नेपालको भ्रमणका लागि फिलिपिन्सका नागरिकहरुलाई आग्रहसमेत गर्नुभयो ।

नेपालका समकक्षीसँगको भेटमा फिलिपिन्सका उपराष्ट्रपति मारिया लेनोर जेरोना रोब्रेडोले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको भ्रमण गर्न पाउँदा आफूले गौरव महसुस गरेको बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनुहुँदै आउँदा दिनमा थप सुदृढ हुने बताउनुभयो । नेपाल र फिलिपिन्सबीच धेरै समानता रहेको चर्चा गर्नुहुँदै उहाँले विकास र समृद्धिका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो ।

‘फिलिपिन्स र नेपालको धेरै समानता छन् । हाम्रो संस्कृतिमा समानता छ । हामी दुवै देशले विकासको प्रयास गरिरहेका छौँ । व्यापार घाटा जस्ता समानता पनि दुवै देशको छ’, उहाँले भन्नुभयो ।

फिलिपिन्सका उपराष्ट्रपतिले राजनीतिक स्थायित्व र संविधान निर्माणका लागि नेपाललाई बधाई दिनुभयो । ‘यहाँहरुले नयाँ संविधान बनाउनुभयो । राजनीतिक स्थायित्व हासिल गर्नुभयो । बधाई छ’, उहाँले भन्नुभयो, ‘नेपालको संविधानले महिला अधिकारसम्बन्धी गरेको व्यवस्था अत्यन्त प्रशंसनीय छ ।’

उहाँले उपराष्ट्रपति पुनलाई फिलिपिन्स भ्रमणको आमन्त्रण समेत गर्नुभयो । भेटमा उपराष्ट्रपति पुनले उपयुक्त समयमा फिलिपिन्स भ्रमण गर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया