यूएईका जेलमा रहेका नेपालीको अवस्था बुझ्न दूतावासद्वारा जेल भ्रमण अभियान सुरु

 मंसिर १५, २०७५ शनिबार ६:११:५४ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – नेपाली दूतावास आबुधाबीले यूएईका जेलहरुको भ्रमण अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत यूएईका सात वटा राज्यमा रहेका सबै जेलमा पुगेर ती जेलमा रहेका नेपालीको अवस्था बारे दूतावासले जानकारी लिने छ । एक वर्षमा दुई पटक जेल भ्रमण गर्ने योजना अनुसार यस वर्ष दोस्रो पटक अभियान सुरु गरेको हो । 

यूएईका सातैवटा राज्य पुगेर दूतावासले त्यहँंका ८ वटा कारागारमा कैदी जीवन बिताइरहेका नेपालीको मुद्दा, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिने छ । त्यस्तै उनीहरुलाई लागेको आरोप वा मुद्दाका विषयमा दुतावासले गर्नसक्ने कानुनी सहजीकरणका लागि योजना बनाउन दूतावासले अभियान सुरु गरेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो । 
 
जेलमा नेपालीको अवस्था वा आवश्यक परामर्श तथा कानुनी सहजीकरणका लागि दूतावासले अध्ययन सुरु गरेको हो । दूतावासले सुरु गरेको अभियानमा यस पटक द्वितीय सचिव तथा सूचना अधिकारी विष्णुकुमारी अधिकारीसहित जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलम जेल पुगेर प्रतिवेदन तयार गर्नुहुनेछ । 

यसै साताबाट यूएईका जेल भ्रमण सुरु गरेको दूतावासको टोलीले जेल भ्रमण अभियान अन्तर्गत गएको बुधबार सारजाहा जेल पुगेर त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएको थियो । त्यस्तै बिहीबार दुबईको अल अविरमा रहेको सेन्ट्रल जेलमा पुगेको दूतावासले जनाएको छ । 

दुतावासले १० महिना पहिले पनि यूएईका सबै जेलमा पुगेर नेपालीको अवस्थाबारे सरकारलाई जानकारी गराएको थियो । त्यसबेला १ सय ८५ जना नेपालीले जेल सजाय भोगिरहेका थिए ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया