लमजुङको राइनासमा शैक्षिक मेलाको रौनक (फोटो फिचर)

 मंसिर १५, २०७५ शनिबार ६:३६:५२ | श्यामशितल परियार

लमजुङ – लमजुङको राइनास नगरपालिका–५, तीनपिप्लेमा रहेको शिशु विद्याश्रम माविको प्रांगणमा राइनास शैक्षिक मेलाको आयोजना गरिएको छ ।

राइनास नगरपालिकाको शिक्षा शाखाको आयोजनामा जिल्लामै पहिलो चोटी राइनासमा नगरस्तरीय बृहत शैक्षिक मेलाको आयोजना गरिएको हो । 

विद्यार्थी, शिक्षकको अन्तर्निहित प्रतिभा प्रष्फुटनका साथै नगरभित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने मुख्य हेतुले शैक्षिक मेलाको आयोजना गरिएको राइनास नगरपालिका शिक्षा शाखाका प्रमुख विद्यालय निरीक्षक पूर्ण नेपालीले बताउनुभयो । 

‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कियो भन्ने निराशा प्रायः यत्रतत्र सुन्नमा पाइन्छ । सम्पूर्ण विद्यालयको शैक्षिक गुणस्तर उकास्नुका साथै शिक्षाप्रति सरोकारवालाहरुको उत्प्रेरणा जगाउने उद्धेश्यले शैक्षिक मेलाको आयोजनागरिएको हो’, उहाँले भन्नुभयो । उहाँका अनुुसार शैक्षिक मेलाले सिंगो राइनास नगरपालिकामा शैक्षिक वातावरण सिर्जना गरेको छ । 

राइनास नगरपालिकाका श्रोतव्यक्ति नवराज अधिकारीका अनुसार शैक्षिक मेलामा नगरपालिकाभित्र रहेका ४१ वटै विद्यालयले सहभागिता जनाएका छन् । मेलामा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीले विभिन्न शैक्षिक सामग्री प्रदर्शन गरेका छन् । मेलामा शैक्षिक सामग्री हेर्नेको घुइँचो देख्न सकिन्छ । 

मेलामा विद्यार्थीले तयार पारेका विभिन्न शैक्षिक सामग्रीका साथै विभिन्न परम्परागत हस्तकलाका सामग्री समेत प्रदर्शनीमा राखिएको छ । 

आधारभूत तथा मावि तहका विद्यार्थीले सांगितिक प्रस्तुित राखेका छन् । प्रावि तहका विद्यार्थीले चित्रकलाका साथै हस्तकलाका सामग्री तयार पारी प्रदर्शनीमा राखेका छन् ।

शैक्षिक मेलाले विद्यार्थीमा रहेको ज्ञान, सीप, कला, क्षमता प्रष्फुटनमा सघाउ पुर्याएको शिशु विद्याश्रम माविको कक्षा १० मा अध्ययनरत छात्रा निशा नेपालीले बताउनुभयो ।

‘शैक्षिक मेला नया सूर्यको रुपमा उदाएको छ । यसले विद्यार्थीमा लुकेर बसेका ज्ञान, सीप, कला, क्षमताको उजागर गर्न सघाएको छ । हाम्रो यो भाग्य हो । हामी खुशी छौँ’, उहाँले थप्नुभयो ।

नगरमा आयोजित शैक्षिक मेलाले राइनास नगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयका विद्यार्थी, शिक्षकको अन्तर्निहित प्रतिभा प्रष्फुटनका साथै उनीहरुबीच आन्तरिक स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरणको सिर्जना गरेको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताउनुभयो ।

राइनास नगरपालिकाको सामाजिक विकास समितिका संयोेजक स्वतन्त्र हमालले शैक्षिक मेलाले विभिन्न विद्यालयबीच सहयोग र समन्वयको भाव जगाउनसमेत उल्लेखनीय योगदान पुर्‍याउने बताउनुभयो । यस्ता कार्यहरुले निरन्तरता पाउनुपर्नेमा सरोकारवालाहरुले जोडदिएका छन् ।
    

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया