एसिया प्यासिफिक समिट : विदेशी पाहुनाको घुइँचो, औपचारिक सुरुवात आजदेखि

 मंसिर १५, २०७५ शनिबार ८:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार शिष्टाचार भेट गर्दै कम्बोडियाका प्रधानमन्त्री हुन सेन । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौं – युनिभर्सल पिस फेडेरसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा एसिया प्रशान्त सम्मेलन सुरु हुँदैछ । 

सम्मेलनको अनौपचारिक जमघट हिजैदेखि भए पनि औपचारिक सुरुवात भने आज हुन लागेको हो । आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हिजो राष्ट्र प्रमुख÷सरकार प्रमुखलाई स्वागत गर्दै सम्मेलनको अनौपचारिक थालनी गर्नुभएको हो । भोलिसम्म चल्ने सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुखलगायत उपस्थित भएका छन् । 

गैरसरकारी संस्थाले गरेको सम्मेलनलाई सरकारले सहयोग गरेको भन्दै आलोचना भैरहेको छ । तर आयोजकले भने सम्मेलनले नेपालको पर्यटकीय प्रवद्र्धन गर्नका साथै यहाँको शान्तिप्रक्रिया र संविधान निर्माणपछिको रुपान्तरणको चरणबारे विश्वव्यापी सन्देश दिन सहयोगी हुने दावी गरेको छ ।     

संयोजक नेता नेपालले एसिया प्रशान्त क्षेत्रका विद्यमान चुनौतीलाई सामना गर्ने सन्दर्भमा गौतम बुद्धको जन्मस्थल नेपालमा यो सम्मेलन हुनुको विशेष महत्व रहेको भन्दै विश्वव्यापीरुपमा भइरहेको शक्तिको होडको समस्याबाट मुक्त भई एकापसमा मिलेर मात्रै साझा समस्याको सामना गर्न सकिने बताउनुभयो ।

सम्मेलनमा छलफल हुने महत्वपूर्ण विषयहरुले एक आपसका समस्या र सम्बन्धको पहिचान गरी सहकार्य बढाउन पहल हुने जनाउँदै उहाँले बढीभन्दा बढी सम्पर्क सञ्जालको विस्तार र सहकार्यले मात्रै आफूहरुको सम्बन्ध विस्तार हुन सक्ने बताउनुभयो । सम्मेलनमा ४५ देशका एक हजार पाँचसय विदेशी विशेष अतिथिको सहभागिता रहने आयोजकले जनाएको छ । 

सम्मेलनका लागि म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, छिमेकी भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि काठमाडौंमा हुनुहुन्छ । सु की र सेनको नेपालको औपचारिक भ्रमणसमेत भएकाले उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीलगायतसँग भेटवार्ता गरिसक्नुभएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया