धादिङलाई तरकारी ‘सुपरजोन’ बनाउने प्रचण्डको उद्घोष

 मंसिर १५, २०७५ शनिबार ९:९:२० | सिताराम अधिकारी

धादिङ – धादिङले काठमाडौंको तरकारी बजार धानेको छ । नेपालभर काठमाडौंसँग जोड्ने सडक धादिङ भएर हिँड्नुपर्ने भएपछि धादिङको तरकारी मात्र होइन, यहाँको विकास र समृद्धि पनि सबैले सबैतिरबाट नियाल्ने छन् । यहाँको राम्रो कुरालाई अरुले पनि लागू गर्नेछन् । 

धादिङको चरौँदीमा शुक्रबारदेखि सुरु भएको कृषि पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धादिङको विकासलाई अघि बढाउने योजना अघि सार्नुभयो । उहाँले धादिङ तरकारी उत्पादनको राम्रो क्षेत्र भएकोले तरकारी सुपर जोन बनाएर यसैमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

धादिङ जिल्ला कृषि, पर्यटन, जडीबुटी र जलविद्युतबाट जिल्लाले आर्थिक विकास गर्दै सम्वृद्ध हुने संभावना रहेकोले सरकारले यसतर्फ ध्यान दिएको बताउनुभयो । धादिङ जिल्लाका सबै गाउँपालिकासम्म सडक नपुगेको अवस्थामा पक्की सडक बनाउने, बुढीगण्डकी जलविद्युतलाई छिट्टै निर्माण सुरु गरेर देशको विकासमा टेवा पुर्याउने, चीनको सिगात्सेबाट आउने रेल रसुवा, धादिङ हुँदै लुम्बिनी पुर्‍याउने, तरकारी सुपरजोनको रुपमा जिल्लालाई विकास गर्ने योजना पूर्व प्रधानमन्त्री दाहालले कार्यक्रममा सुनाउनुभयो ।

अबको दश वर्ष आर्थिक विकासमा काम गर्ने योजना बनाएकोले सबैलाई यसतर्फ क्रियाशील हुन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गर्नुभएको छ । 

१० वर्ष युद्धको नेतृत्वकर्ता रहेर युद्ध सफल भएपछि १० वर्ष शान्ति प्रकृयामा सहभागी भएकोले शान्ति प्रकृयाबाट नयाँ संविधान, गणतन्त्र र मौलिक हकसमेत जनाताले अभुतपूर्व रुपमासफलता पाएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले सरकारले एक वर्षभित्र विकासको केही काम गर्ने र अब चार वर्षमा आर्थिक विकासले देश फड्को मार्ने दावी गर्नुभयो । 

उद्घाटन समारोहमा धादिङका सांसद खेमप्रसाद लोहनी, भूमिप्रसाद त्रिपाठी, ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेललगायतले शुभकामना दिनुभएको थियो । नेकपाका अध्यक्ष प्रचण्ड आउने र सम्बोधन गर्ने जानकारी पाएपछि जिल्लाको चेपाङहरुसमेत हजारौँको संख्यामा सहभागी थिए । 

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा १ सय ५० स्टल रहेको छ । १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेकोे धादिङ उद्योग वाणिज्य संघ दक्षिण क्षेत्रीय समितिले जनाएको छ । 

कृषि, घरेलु, वन, तथा अन्य जिल्लालाई चिनाउने प्रदर्शनी रहेको छ भने चेपाङ बसोबास गर्ने घरलगायतका सामग्रीहरुको समेत प्रदर्शनी गरिएको छ । 

 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया