आनन्दलाई अचेल छैन आनन्द, भन्छन् :  तिम्रो पनि मुटु नै भए यति सारै कठोर किन...

 मंसिर १५, २०७५ शनिबार ११:४९:४८ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाडौं – हास्ँदाहास्ँदै , खेल्दाखेल्दै ठेस लाग्यो । तर सामान्य लागेको यो ठेसले अहिले हरेक दिन आँखा भिजाइदिएको छ । हप्ताको दुई दिन उनको मुटु असाध्यै दुख्छ । जब श्रीमती ईश्वरी कार्की मिर्गौलाको डायलाइसिस गर्ने कक्षमा पस्छिन्, उनी भक्कानिन्छन् ।  

श्रीमतीको दुवै मिर्गौलामा खराबी आएको छ । हप्तामा दुई दिन डायलाइसिस गर्नुपर्दछ । काठमाडौंले दिएको माया सँगाल्दै उनी मायामा बाँधिन्छन् । 

डाक्टरको लापरबाहीले दिएको पीडा

भनिन्छ, डाक्टर भगवान हुन् । सबै बिरामीको भरोसा । तर भरोसाका नामका नक्कली डाक्टरले आनन्दको जीवनको आनन्दै भगाइदिएको छ । 

कुरा ९, १० वर्ष अघिको हो । मधुमेह देखिएको भन्दै डाक्टरले श्रीमती ईश्वरीलाई औषधि लेखिदिए । उनले पनि विश्वास गरे । तर त्यो औषधिले रोग नियन्त्रण गर्नुको साटो झन् झन् गाल्दै लग्यो । ईश्वरी कार्कीको जीउ सुन्निन थाल्यो, सास फेर्न नै गारो हुन थाल्यो । 

गायक कार्कीका साथीहरुले उपचारका लागि भारत लैजान सुझाव दिए । सुझावलाई शिरोपर गर्दै उनले श्रीमतीलाई लगे भारत । 

त्यहाँ उनले नसोचेको नतिजा पाए । डाक्टरले ईश्वरीको दुवै मिर्गौला बिग्रेको रिपोर्ट थियो ।  यही दिनदेखि हो गायक कार्कीलाई डाक्टरसँगको भरोसा टुटेको । उनले आफ्नो मिर्गौला श्रीमतीलाई दिन पनि नखोजेको होइन । श्रीमतीसँग उनको मिर्गौला म्याच भएन । अहिले मिर्गौला दाताको पर्खाइमा श्रीमतीको डायलाइसिस  भइरहेको छ । 

डाक्टरले दिएको पीडा अर्को पनि छ ।  भतिजको उपचारका लागि अस्पताल पुगेका आन्नदले फेरि उही नियति भोग्नु पर्यो । पेट दुखेर उपचारका लागि पुगेका भतिजलाई डाक्टरले उच्च रक्तचापको औषधि दिए । दाजुले रक्तचापको औषधि आइरहेकाले यसको पोल खुल्यो । तर डाक्टरसित झगडा गर्नुको अरु विकल्पै रहेन । उनले फेरि डाक्टर फेरे ।

नेपालका सबै डाक्टर यस्ता छैनन् । तर पनि आफूले भोगेको पीडाकै कारण उनी बिरामीलाई औषधिको बारेमा सोधीखोजी गरेर मात्रै खान सुझाव दिन्छन् ।

लवज र अनुहारकै कारण भारतमा मात्रै होइन, काठमाडौंमा पनि हेपिए

२०४२ सालतिर उनी गजल गाउनका लागि भन्दै अभ्यास परीक्षा दिन काठमाडौंको एक होटलमा पुगे । त्यहाँ उनले गजल गाउन त पाए नै सँगै मायालाई पनि भेट्टाए । ईश्वरी कार्कीको ठूला ठूला गाजलु आँखाले आनन्द कार्कीको नजर अन्त जानै सकेन । पहिलो भेटमा नै बस्यो माया । 

बिस्तारै बाक्लिँदै गयो, भेटघाट । यसले मायालाई थप बलियो बनायो । अन्ततः हजारौँ अड्चन पार गर्दै यो जोडी विवाह बन्धनमा बाँधियो । 

बाल्यकाल भारतमा बित्यो । बुवा भारतीय सेनामा जागिरे भएकाले उनी ६ वर्षमा नै भारतको लखनउ गए । उनले त्यहीँ आफ्नो औपचारिक शिक्षासँगै संगीतको विषारदसम्मको शिक्षा पनि लिए ।  जागिर सकिएपछि बुवा पुर्ख्यौली घर सोलुखुम्बुको दिङ्ला फर्किए भने कार्की अध्ययनका लागि लखनउमा नै बसे । धेरै हिन्दी गजल र गीत गाएका उनले भारतबो बसाई पहाडीया भन्दै हेपेको सहनै सकेनन्, र फर्किए आफ्नै देश । 

भारतमा नै बाल्यकाल बिताएकाले उनलाई नेपालमा सहज भने भएन । लवज हिन्दी भएकाले आफ्नै देशमा पनि उनले पराई जसरी संघर्ष गर्नु पर्यो । भारतमा बसे पहाडिया र नेपालमा बसे  मधेसीको उपमा पाउँथे । 

तर एउटा संयोगले उनलाई नेपालमा नै बस्ने वातावरण बन्यो । उनी आफ्नो गायन यात्रालाई अगाडि बढाउन एउटा होटल पुगे । जहाँ उनले जागिर मात्र होइन जीवनसंगीनी पनि पाए । २०४२ सालमा नै रेडियो नेपालमा स्वर परीक्षण पास गरे पनि उनले गीत राष्ट्रिय स्तरमा खासै गीत गाउन पाएनन् । त्यस पछि उनले संगीतकार शक्ति बल्लभसँग भेट्ने मौका पाए । उनले उहाँकै सहयोगमा पहिलो गीत रेकर्ड गराए ।

जीवनमा धेरै खोला तर्नु छ,
कति असल हुन्थ्यो होला
मेरी मायालु, मायाको डुंगाबाट तर्न पाए
मायाको डुंगाबाट तर्न पाए ...

राष्ट्रिय स्तरमा राम्रो स्थान नपाएपछि उनले आनन्द कार्कीका गजलहरु भनेर एल्बम निकाले । यसमा समेटिएको एउटा गीत, जुन उनको लागि शिखर उक्लने गौडो बन्यो ।
। 

तिम्रो पनि मुटु नै भए यति सारै कठोर किन
मेरा दोषहरु भन, मौन बसिदिन्छौ किन ...

यो गीत रानी ऐश्वर्या शाहलाई असाध्यै मन पर्यो । खासै गीत नबजाउने रेडियो नेपालले राजा वीरेन्द्रको जन्मदिनमा यो गीत धेरै पटक बजायो । केही दिन भित्रै नातिकाजी श्रेष्ठमार्फत उनलाई दरबारमा गीत गाउने निम्तो पनि आयो । यसपछि आनन्द कार्कीले सांगीतिक क्षेत्रमा नाम, दाम र माया सबै पाए । 

बाल्यकालको सम्झना 

बाल्यकालमा गायक आनन्द कार्कीका धेरै नाम । माया गर्नेहरुले उनलाई उनको प्रतिभासँग जोडेर नाम राखिदिन्थे । देवान, देवानन्द, देवानसिंह अनि आनन्द । फरक–फरक नामले बोलाउने गरे पछि आमाले नाम राखिदिनुभयो, ‘तिमी आनन्दको मान्छे, तिम्रो नाम पनि आनन्द ।’

सानो छँदा दूध सारै मन पर्ने । भान्छामा राखिएको दूध उनी हरेक दिन चोरेर नै भए पनि सबै खाइदिन्थे । बाल्यकालको कुरा सम्झँदै कार्की भन्छन्, ‘हरेक दिन दूध रित्तिने गरेपछि एक दिन बुबाले सोध्नुभयो, ‘दूध सधैँ कसरी सकिन्छ ?’ जवाफमा मैले भने बिरालोले खायो । ‘अनि त्यो बिरालोको हुलिया चाहिँ कस्तो रैछ हँ ?’ बुवाले फेरि प्रश्न तेर्स्याउनुभयो । म आत्तिए, अब के जवाफ दिनु ? मेरो माइन्डमा तुरुन्त जवाफ आइहाल्यो सर्ट पाइन्ट लगाएर आएको थियो बिरालो । बुबा मुसुमुसु हाँस्नुभयो । यस्ता धेरै किस्सा छन् । तर अहिले बुवा मसँग हुनुहुन्न ।’

छैन घमण्ड

शालीन स्वभावका आनन्द कार्कीले ३ हजार भन्दा धेरै गीत गाइसकेका छन् । यसमध्ये धेरै लोकप्रिय छन् अर्थात स्रोताले रुचाएका छन् । 

सबै विधाका गीत उतिकै आनन्दित भएर गाउने आनन्द अहिले पनि नयाँ गीत आए उत्तिकै मिहेनतका साथ तयारी गर्दछन् ।

गायक कार्की छिन्नलता पुरस्कार १९९७ र २००९, प्रबल गोर्खा दक्षिण बाहुजस्ता दर्जनौँ पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । 

श्रीमतीको हेरविचारसँगै सांगीतिक यात्रालाई उनले सँगसँगै अगाडि बढाएका छन् । अहिले पनि उनी विभिन्न देशमा गएर आफ्नो प्रस्तुति दिइरहेका हुन्छन् । तर जब जब उनी एक्लै हुन्छन् अनि भगवानसित भन्छन् : तिम्रो पनि मुट नै भए यति सारै कठोर किन...


 

अन्तिम अपडेट: मंसिर २६, २०७५

तपाईको प्रतिक्रिया