डोटीका ग्रामिण बस्ती विपद व्यवस्थापनको उच्च जोखिममा

 जेठ २९, २०७५ मंगलबार १९:४३:३६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटी जिल्लाका अधिकांश ग्रामीण बस्तीहरु विपद व्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको पाइएको छ ।

भिरालो स्थानमा परम्परागत प्रविधिबाट घर निर्माण गर्ने, वनजंगलको फडानी गर्ने, इञ्जिनियर र प्राविधिक बिना डोजरले जथाभावी सडक निर्माण गर्ने कारण डोटीका धेरैजसो बस्ती बाढी–पहिरोको उच्च जोखिम रहेको शहरी विकास डिभिजन कार्यालय दिपायल राजपुरले जनाएको छ । भौगोलिक बनावटका कारण भूकम्पीय जोखिम पनि धेरै रहेको शहरी विकास डिभिजन कार्यालय दिपायल राजपुरले जनाएको छ ।

शहरी विकास डिभिजन कार्यालय दिपायल राजपुरका प्राविधिक रामचन्द्र बिसीले भौगोलिक बनावट अनुसार विद्यालय तथा समुदायमा भूकम्प प्रतिरोधी भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने बताउनुहुन्छ । 

परम्परागत रुपमा निमार्ण गर्दा लाग्ने खर्चको १० प्रतिशत मात्रै थप गर्दा भौतिक संरचना भूकम्प प्रतिरोधी हुने भएकाले प्राविधिकको सल्लाह अनुसार विद्यालय तथा समुदायमा भूकम्प प्रतिरोधात्मक भौतिक संरचना निर्माण गर्न र भौतिक  विपद जोखिम न्यूनिकरणका लागि समुदायको उत्थानशिलता बढाउन आवश्यक रहेको प्राविधिक  बिसीले बताउनुभयो ।

यस्तै विगत लामो समयदेखि विपद जोखिम न्यूनिकरणका क्षेत्रमा कार्यरत सामुदायिक विकास केन्द्र डोटीका विपद जोखिम न्यूनिकरण अधिकृत प्रयागराज कापडी पनि डोटीका ग्रामीण बस्ती विपद व्यवस्थापनका दृष्टिकोणले उच्च जोखिममा रहेको बताउनुहुन्छ ।

बाक्लो ग्रामीण बस्ती, कमजोर भौतक संरचना र विपद व्यवस्थापनबारे न्यून जानकारीका कारण विद्यालय तथा समुदाय विपदबाट असुरक्षित रहेको कापडीले बताउनुभयो । सामुदायिक विकास केन्द्र डोटीले जिल्लाका १ सय ४६ वटा विद्यालयमा गरेको एक सर्भेक्षणमा ८ प्रतिशत विद्यालयमा मात्र विपद जोखिम न्यूनिकरणका बिषयमा आधारभूत जानकारी र योजना रहेको पाइएको छ भने समुदायमा विपद व्यवस्थापनको बारेमा न्यून जानकारी रहेको पाइएको छ  ।

विपद व्यवस्थापनका दृष्टिले जोखिमयुक्त देखिएका २ वटा गाउँपालिका र १ नगरपालिकाका १० वटा विद्यालयमा करिब ५ करोडको लागतमा भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने कार्यक्रम रहेको, २६ जना दक्ष कामदारहरुलाई भूकम्प प्रतिरोधात्मक भवन निर्माण प्रविधि सम्बन्धी सात दिने ढुङ्गे डकर्मी तालिम, ३० वटा विद्यालयमा आधारित विपद जोखिम न्यूनिकरण योजना निर्माणमा सहयोग, विद्यालय सुधार योजनामा विपद जोखिम न्यूनिकरण योजना समवेश, विद्यालयमा सुरक्षित स्थानको पहिचान, प्राथमिक उपचारको व्यवस्था, समुदाय स्तरमाआम सचेतिकरणका कार्यक्रमहरु संचालन भइरहेको सामुदायिक विकास केन्द्र डोटीले जनाएको छ ।

परराष्ट्र« मन्त्रालय अन्तर्गत जापानको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक विकास केन्द्र डोटीले सन् २०१७ को जनवरीदेखि समुदाय र विद्यालय विपद पर्र्व तयारी तथा उत्थानशिलता परियोजना मार्फत विपद जोखिम न्यूनिकरणका सम्बन्धी भौतिक पूर्वाधार तथा आम सचेतिकरण सम्बन्धी कार्यक्रम संचालन  गरिरहेको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया