सिङ्गापुर वार्ता : विश्वको अपेक्षा शान्ति र एकता

 जेठ ३०, २०७५ बुधबार ६:४९:२६ | एजेन्सी
unn.prixa.net

जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायःद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो ।

तर मङ्गलबार बिहानको पहिलो बैठक मै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद हुनपुगेको हो ।
अमेरिका र लगभग विश्वले नै कडा मिजासका दुवै नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम पहिलो वार्तामा कसरी प्रस्तुत हुन्छन् त्यसैमा वार्ताको भविश्य निर्भर रहन्छ भन्दै परिणामको पर्खाइमा थिए ।

जब दुवै नेताले पृष्ठभूमिमा राखिएका दुवै देशका झण्डाको अघि उभिएर हात मिलाउनुभयो र मुस्कुराउनुभयो तब उहाँहरुको ‘बोडी ल्याङ्ग्वेज’ शारिरीक भाषाले केही बोलिसकेको थियो । उहाँहरुको केही क्षणको एक्लाएक्लै वार्तापछि समाचार पनि सकारात्मक नै बाहिर आयो । अमेरिकाले भन्ने गरेको निशस्त्रीकरणको मागमा उत्तर कोरिया सहमत भयो र अमेरिकाले पनि यसलाई सकारात्मकरुपमा लियो ।

यससम्बन्धी महत्वपूर्ण दस्ताबेजमा दुवै नेताले हस्ताक्षर गर्नुभयो । चार वुँदै सो दस्ताबेज वास्तवमै ऐतिहासिक र महत्वपूर्ण रहेको बताइएको छ । उक्त दस्ताबेजमा उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कुरामा प्रतिबद्धता जनाउनु मत्वपूर्ण हो ।

उहाँहरुले अभूतपूर्व वार्ता गरेपछि उक्त संयुक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । त्यस क्षणलाई राष्ट्रपति ट्रम्पले नै एक अभूतपूर्व क्षण भन्नुभएको छ । राष्ट्रपति ट्रम्पले केहीबेर अघि भएको वार्ताबाट महत्वपूर्ण उपलब्धि हासिल भएको र यसबाट आफूले निकै गर्वको अनुभूति गरेको बताउनुभएको थियो ।

उहाँहरुबीचको एक्लाएक्लै वार्तामा नै नेता किमले अब दुई देशबीचमा नयाँ सम्बन्धको अध्यायको सुरुआत भएको र विगतका कुरा विर्सिएको भनी दिएको तर्कबाट नै राष्ट्रपति ट्रम्प प्रभावित हुनुभएको थियो । त्यस लगत्तै सम्वाददातालाई राष्ट्रपति ट्रम्पले अब अमेरिका र कोरियाली प्रायद्वीपबीचको सम्बन्ध पनि भिन्न रुपमा अघि बढ्ने बताउनुभयो ।

अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्तिलाई उता कोरियाली सञ्चारले भने बडो महत्वका साथ प्रचार गरेका छन् । उनीहरुले अमेरिकाले उत्तर कोरियाली नेताको प्रस्ताव स्वीकार गरेको भन्ने अर्थमा प्रचारमा ल्याएका थिए । दुवै पक्षले इतिहासमै विशेष सम्बन्धको विकास गरेको भनेर खुसी पनि व्यक्त गरेका छन् ।

यतिमात्र होइन कि उत्तरका नेता किमले बैठक ऐतिहासिक र महत्वपूर्ण भएकोले आगामी केही समयमै विश्वले नै ठूलो र सकारात्मक परिवर्तन देख्नसक्ने धारणा राख्नुभयो । उता अमेरिकी राष्ट्रपतिले पनि आफूहरु अब छिट्टै ह्वाइट हाउसमा भेट्ने प्रतिक्रिया दिनुभयो । वार्तामा आफूले नसोचेको प्रगति भयो उहाँले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकाले उत्तरकोरियाले पूर्णरुपमा प्रमाणिकरण गर्न सकिने खालको परमाणु निशस्त्रीकरणमा जोड दिएको थियो । उता उत्तर कोरियाले पनि ठूलो खतरा मोल्दै यस अगावै आफ्ना परमाणु परीक्षणस्थल भत्काएको थियो । उत्तरले वार्ताको वातावरण त उहिलेदेखि नै निर्माण गर्दै आएको थियो । तर पनि यी दुई नेताको स्वभाव र प्रकृतिका कारण वार्ताको टेबलमै बसेपछि मात्र विश्वास लाग्ने भनाइ विदेशी समुदायको थियो ।

यो वार्ताका लागि राष्ट्रपति ट्रम्पले आफैले खतरा मोलेको भनाइ छ अधिकांशको । उहाँले नै सत्तामा आएपछि पहिलेको तुलनामा झन कडारुपमा नाकाबन्दी लगाउनुभएको थियो । त्यतिमात्र नभएर उहाँले उत्तरका विरुद्धमा सैन्य कारबाही गर्न समेत एसियाका नेताहरुको सहमतिका लागि एसिया भ्रमणमा निस्किनुभयो । अमेरिकी अधिकारी पनि राष्ट्रपतिले अनावश्यक मानिससँग वार्ताको खतरा मोलेको बताएका थिए । तर उहाँ कम्तीमा एक पटक वार्ताको टेबलमा बस्ने अडानमा रहनुभयो र आज त्यो सफल पनि भयो ।

अर्कातर्फ उत्तर कोरियाली नेता किमका लागि भने यो निकै ठूलो अवसर बन्न पुगेको छ । छ महिनाअघि सम्म एक अर्कालाई सिध्याइदिने भन्नेजस्तो अवस्था रहेकोमा अमेरिकी राष्ट्रपतिसँग एउटै दस्ताबेजमा सही गर्न पाउने र एक्लाएक्लै वार्तामा बस्न पाउने पनि ठूलो अवसर भएको भनाइ छ । यसबाट आफ्नो देशमाथि लागेका सबै प्रकारका नाकाबन्दी हट्ने अपेक्षा उत्तरले गरेको छ ।

यस वार्ताको सफलताबाट विश्वले गरेको अपेक्षा हो शान्ति र एकता । त्यो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिबद्धतामा उसले हस्ताक्षर गरेको छ । कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ ।

यस्तै विश्वले चाहेको एकता दुई कोरियाबीचको एकता हो । सन् १९५३ मा अनायासै एउटै कोरियाका नागरिक विभाजन भएपछि आजका दिनसम्म जुन पीडा उनीहरुले भोगेका छन् त्यसले समय समयमा विश्वकै नागरिकलाई पनि बडो स्तब्ध गराउने गर्छ । यी कोरियाको पारिवारिक पुनर्मिलनमा देखापर्ने दृश्यहरुले सबैको ध्यान तान्ने गर्दछ । त्यसैले यो वार्ताको सफलतापछिको विश्वको अपेक्षा यी दुई देशबीचको एकता पनि हो ।

ह्वाइट हाउसमा फेरि भेट्छौँ– ट्रम्प  

यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने बचन दिनुभएको छ । सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने बचन दिनुभएको हो ।

ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि ‘हामी फेरि भेट्छौँ, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौँ भन्नुभयो । दुई नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न हुनुभएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेटगर्ने पनि बताउनुभयो ।

निशस्त्रीकरणका लागि ट्रम्प–किम सम्मेलन ‘कोशेढुङ्गा’ : राष्ट्रसंघ प्रमुख

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनको स्वागत गर्नुभएको छ । उहाँले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्नका लागि कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभयो ।

महासचिव गुथ्रेसले सम्बन्धित सबैलाई ‘महत्वपूर्ण मौका’को सदुपयोग गर्न आग्रह गर्दै उत्तर कोरियाली आणविक कार्यक्रमलाई नष्ट गर्ने बिषयमा सफलता हासिल गर्न संयुक्त राष्ट्रसंघको सहयोग रहने बताउनुभएको छ ।

महासचिव गुथ्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सिङ्गापुरमा भएको सम्मेलन विश्वको दीर्घ शान्ति र पूर्ण तथा प्रमाणित रूपमा कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न अग्रगामी कदम अर्थात् कोशेढुङ्गा सावित हुनेछ ।

मङ्गलबार भएको ट्रम्प–किम सम्मेलनमा दुवै देशका नेताले हस्ताक्षर गरी जारी गरिएको संयुक्त विज्ञप्तिमा प्योङ्याङले कोरियाली प्रायद्वीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न प्रतिवद्धता जाहेर गरेको छ । यद्यपि वक्तब्यमा आणविक कार्यक्रमलाई नष्ट गर्ने प्रतिवद्धता जनाइए पनि ‘प्रमाणित’ भन्ने शब्दावली भने समावेश छैन ।

सम्मेलनपूर्व महासचिव गुथ्रेसले प्रमाणित रूपमा आणविक निशस्त्रीकरण हुनु सम्मेलनको निर्दिष्ट लक्ष्य हुनुपर्ने भन्दै यसमा अन्तर्राष्ट्रिय आणविक शक्ति निकाय (आइएइए)ले काम गर्ने बताउनुभएको थियो ।

उत्तर कोरियाले पत्रकारहरूको उपस्थितिमा आणविक परीक्षण केन्द्रको नष्ट गरिने बताउदै विदेशी सञ्चारमाध्यमलाई निमन्त्रणा पठाएपछि राष्ट्रसंघ प्रमुखले उक्त स्थानमा अन्तर्राष्ट्रिय विशेषज्ञलाई बोलाइनुपर्ने  बताउनुभएको थियो ।

सहमतिका चार बुँदामा के छ ?

सहमतिको पहिलो बँुदामा दुई नेताले संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायःद्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउने बिषय सहमतिको दोस्रो बुँदा रहेको छ ।

उहाँहरूले सन् २०१८ को एप्रिल २७ तारिखमा भएको पाम्मुन्जम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायःद्वीपको पूर्ण परमाणु निरस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता जाहेर भएको छ ।

अन्तिम बुँदामा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउनेतर्फ पहल गर्ने प्रतिबद्धता जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया