‘सरकार ! हामीलाई ज्यूँदै किन नर्क पठाएको ?’

 मंसिर १७, २०७५ सोमबार १०:५५:१२ | अर्जुन पोख्रेल
unn.prixa.net

मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकै उत्साहित हुनुहुन्थ्यो । भाषणमा उहाँले अघिल्ला सरकार र अरु दलका नेताहरुको आलोचनासँगै अहिलेको सरकारले गरेका केही कामको सूची पनि वाचन गर्नुभयो । 

‘वर्षौंदेखिको सपना थियो, कलंकी –नागढुंगा सडक, कलंकी – नागढुंगा हेर्न जानुस् राम्रो बन्दैछ, बडो तीव्रताका साथ बन्दैछ, हो त्यहाँ छ सरकार ।’ 

अब जता हेर्‍याे त्यतै सरकार देखिने भन्दै प्रधानमन्त्रीले हरेक गरिब, दुखीले सरकार देखेको दावी गर्नुभयो । भाषणको क्रममा उत्साहित प्रधानमन्त्रीले भन्नुभयो, ‘केही दिनमा मेलम्ची आउँछ र त्यसले जवाफ दिन्छ सरकार कहाँ छ भनेर, बाटोमा धुलो उड्न कम भैसक्यो यसबाट पनि जवाफ पाउनुपर्ने हो ।’ उहाँले थप्नुभयो, ‘वर्षौंदेखिको सपना थियो, कलंकी –नागढुंगा सडक, कलंकी – नागढुंगा हेर्न जानुस् राम्रो बन्दैछ, बडो तीव्रताका साथ बन्दैछ, हो त्यहाँ छ सरकार ।’ 

प्रधानमन्त्रीले भाषण गरेको ३ दिनपछि अर्थात मंसिर १४ गते म कलंकी नागढुंगा हुँदै दामन जाँदै थिएँ । वर्षौंदेखि आउजाउ गर्दै आएको बाटोको दुर्दशा केही कम भएको छ कि भन्ने झिनो आशा थियो । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेजस्तो छैन अवस्था भनेर धेरैले उडाएका थिए । प्रधानमन्त्रीलाई उडाउनकै लागि यसो भनिएको होला, पक्कै बाटो राम्रो हुँदैछ भन्ने मलाई लागेको थियो ।

सडकको अवस्था के रहेछ भनेर बुझ्न म बसका चालक नजिकै बसें । चालकले कलंकीमै भनेका थिए ‘सरकारले यहाँ हामीलाई जिउँदै नर्क पठाएको छ, यस्तो नर्क हेर्न किन अघि बस्नुहुन्छ, पछाडि गएर सिटमा बस्नुहोस् ।’

तर मेरो मनले मानेन र गुरुजीसँगै इन्जिनमाथिको सिटमा बसेँ । कलंकीको बाबा पेट्रोलपम्प पुग्नेबित्तिकै ‘नर्क जानेजस्तो सडक’ सुरु भयो । सडक हेर्दा लाग्थ्यो हामीले काठमाडौंको दूर–दराजको गाउँको यात्रा सुरु गर्‍यौं । धुलो यतिधेरै थियो कि, पछिल्लो गाडीले अघिल्लो गाडी देख्न मुश्किल । अनि खाल्डाखुल्डी यति धेरै थिए कि गाडी सिधा भएर गुड्नै नपाउने ।

‘सरकारले यहाँ हामीलाई जिउँदै नर्क पठाएको छ, यस्तो नर्क हेर्न किन अघि बस्नुहुन्छ, पछाडि गएर सिटमा बस्नुहोस् ।’

बाहिरबाट सामान बोकेर आएका १०/१२ चक्के गाडीको सबैभन्दा ठूलो बिजोग  थियो । कयौं ट्रक र कन्टेनर सडकमै पल्टिएका थिए । कतिपय ट्रक र कन्टेनरका चालक टाउकोमा हात राखेर सुस्केरा हाल्दै र सरकारलाई धिकार्दै गरेका देखिन्थे । सायद उनीहरुले पनि प्रधानमन्त्रीको भाषण सम्झँदै थिए होला ।

५ जना कामदार र एउटा डोजर, यही हो त कामको तीव्रता ?

नागढुंगा – कलंकी सडक राम्रो हुँदै गएको प्रधानमन्त्रीको बोली झूटो थियो । उहाँले तीव्र गतिले काम भैरहेको भनेकाले काम पूरा नभए पनि तीव्र होला भन्ने लागेको थियो । तर कलंकीदेखि नागढुंगासम्म कतै पनि तीव्र रुपले काम भएकै देखिएन । गाडीहरु बडो सकसका साथ गुडिरहेका थिए । बाटो बन्दैछ र यो सकस चाँडै अन्त्य हुनेछ भन्ने आशा जगाउने गरी कुनै काम नै भएको थिएन । 

शुक्रबार कलंकीबाट नागढुंगा जाँदा ढुंगेअड्डामा एउटा डोजरले ढल खोस्रँदै थियो । ४/५ जना कामदारले ढुंगा ओसारिरहेका थिए । बाँकी भागमा अरु कामदार र काम गर्ने उपकरण नै देखिएनन् । 

शनिवार फर्कँदा  पनि मैले ध्यान दिएर सडकमा हेरेँ, पूरै सडकखण्डमा जम्मा एउटा डोजर र ४/५ जना कामदार मात्रै थिए । शायद प्रधानमन्त्रीले भनेको तीव्र गतिको काम यै थियो होला । 

कसरी श्वास फेर्छन् होला यहाँका बासिन्दा ?

९ दशमलव १ किलोमिटर लामो कलंकी नागढुंगा सडक बन्न थालेको साढे ३ वर्ष भयो । साढे ३ वर्षअघि ठेकेदारले सडक जथाभावी भत्काए, बनाउन चासो देखाएनन् । कतिपय ठाउँमा जग्गाको मुआब्जा विवादका कारण घरहरु आधा भत्काएर छाडियो । 

एकपटक नागढुंगा – कलंकी सडकको यात्रा गर्ने नागरिक त धुरुक्कै रुन्छन् भने त्यहाँका बासिन्दालाई कस्तो भएको होला ? यो सडकखण्ड छेउछाउका केही घरमा मान्छै बस्न छाडिसके । सडकको धुलोले समाज विस्थापित गराएर सायद सरकारले गिनिज बुकमा विश्व रेकर्ड कायम गर्दैछ होला । 

कलंकी – नागढुंगा सडकछेउका घरका झ्यालढोका हिजोआज खुल्दैनन् । सबै घर रोएजस्ता र ठुलै संकटमा परेजस्ता मात्रै देखिन्छन् ।

सडक वरपरका नागरिकले  साढे ३ वर्षदेखि हिलो खेपिरहेका छन, धुलो खेपिरहेका छन्, दुघर्टना खेपिरहेका छन्, अनि रोगी पनि भएका छन् । कयौं नागरिक ज्यान बचाउन ब्यापार व्यवसाय छाडेर भागेका छन् । राज्यको यो हदसम्मको निकम्मापन विश्वका सायदै देशमा होला । 

बसाइ सर्न नसकेकाहरुले रातदिन झ्याल लगाएर गुजारा चलाइरहेका छन् । कलंकी – नागढुंगा सडकछेउका घरका झ्यालढोका हिजोआज खुल्दैनन् । सबै घर रोएजस्ता र ठुलै संकटमा परेजस्ता मात्रै देखिन्छन् । राज्यको अत्याचारका कारण कलंकी – नागढुंगा सडक छेउछाउका नागरिकले घरको झ्यालढोका पनि खोल्न पाएका छैनन् ।

बस जाममा परेको बेला झ्यालबाटै एकजना महिलालाई सोधेँ – यसरी रातदिन झ्यालढोका बन्द गरेर कसरी बस्न सक्नुभएको छ त ?  उहाँले भन्नुभयो, ‘हिजोआज हामी झ्याल खोल्दैनौ, किनकी बाहिर नर्क मात्रै देखिन्छ ।’
 

अन्तिम अपडेट: मंसिर २२, २०७५

अर्जुन पोख्रेल

अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया