शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
गोरखा – १० किलो सुनसहित पक्राउ परेका गोरखाको छेकम्पारका दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागले साढे २४ करोड रुपैयाँ जरिवाना माग दाबी गरेको छ ।
गएको भदौ २३ गते ५÷५ किलो सुनसहित पक्राउ परेका चुमनुब्री गाउँपालिका–७, छेकम्पारका ५८ वर्षका छिरिङ ङुटुप लामा र २८ वर्षका लोप्साङ तेङ्बे लामाविरुद्ध २४ करोड ६५ लाख २२ हजार रुपैयाँ जरिवाना गर्न माग गरिएको हो ।
विभागले सुन तस्करी सम्बन्धी अनुसन्धान सकेर मिसिल र अभियोगपत्र जिल्ला अदालत गोरखामा पठाएको हो । ‘अहिलेसम्मको अनुसन्धानको सम्पूर्ण मिसिल र अभियोग पत्र प्राप्त भएको छ’, जिल्ला अदालतका श्रेस्तेदार विनोदप्रसाद अधिकारीले भन्नुभयोे, ‘प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी मुद्धा दर्ता गरिएको छ ।’
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्धा दर्ता गराएको हो । ‘राजस्व छलेर करोडौं मूल्य पर्ने सुन आयात गरिएको पाइयो’, सुन प्रकरणको अनुसन्धान अधिकृतको रुपमा काम गरेका विभागका निर्देशक रामप्रसाद रेग्मीले भन्नुभयोे, ‘अनि त्यही सुन किन्नका लागि नेपाली पैसा विनिमय परेर अवैध रुपमा चीन पठाइएको पाइयो, त्यसैले दुवै ऐन आकर्षित भए ।’
प्रतिवादी लामाद्धयलाई आर्थिक जरिवानासहित ६ वर्ष कैद सजाय हुन पनि राजस्व अनुसन्धान विभागले माग गरेको छ । बरामद गरिएको सुनसहित पक्राउ परेका दुईजनालाई जिल्ला प्रहरी कार्यालयले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।
अनुसन्धानका क्रममा काठमाडौं लगिएका दुवैजनालाई नख्खु कारागारमा राखिएको थियो । ‘विभागले हामीलाई पठाएको अभियोगपत्र अनुसार दुवैजनासँग बयान गरी मुद्धा पुर्पक्षका लागि जेल चलान गरिएको छ’, श्रेस्तेदार अधिकारीले बताउनुभयो ।
उनीहरुलाई बरामद गरिएको सुनको बजार मूल्यको ५ गुणा आर्थिक जरिवानासहित ६ वर्ष कैद सजायको माग दाबी गरिएको राजस्व अनुसन्धान विभागका निर्देशक रेग्मीले जानकारी दिनुभयो । बरामद गरिएको सुन जफत गरी नेपाल राष्ट्र बैङ्कमा पठाइएको छ ।
सुन लिलाम भै आएको रकम सरकारको ढुकुटीमा जाने व्यवस्था छ । १० किलो सुनसहित गोरखाको चुमनुब्री गाउँपालिका छेकम्पार घर भएका ङुटुप र लोप्चन गएको भदौ २३ गते पक्राउ परेका थिए ।
फिलिममा रहेको प्रहरी चेक पोष्ट अगाडिको मनासलु पदमार्गमा चेकजाच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । दुवै जनाले कम्मरमा बाधेर अवैध रुपमा लुकाई ल्याएको सुन बरामद गरिएको थियो ।
गोरखाको उत्तरी नाका हुँदै सुन तस्करी हुने गरेको सूचनाका आधारमा सो क्षेत्रमा थप सुरक्षा निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।