अस्पतालमा ज्वरोका बिरामी बढे, खानपानमा ध्यान दिन डाक्टरको सल्लाह

 जेठ ३०, २०७५ बुधबार ९:१२:१ | उज्यालो सहकर्मी

काठमाडौं – गर्मीको योबेला ज्वरोको बिरामी बढेको भन्दै सचेत रहन डाक्टरले सुझाव दिएका छन् । काठमाडौंसहित देशका विभिन्न भेगमा गर्मीका कारण भाइरल ज्वरोका बिरामी बढेका छन् । सरकारी तथा नीजि अस्पतालहरुमा केही दिन यता ज्वरोका  बिरामी बढेको टेकु अस्पतालका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक औसतमा २० जना ज्वरोका बिरामी पुग्ने गरेका छन् । जाडोको समयमा औसतमा १० जना भन्दा कम बिरामी जाने गरेका थिए । टाउको दुख्ने, पेट दुख्ने, खाना नरुच्ने, ज्वरो आउने जस्ता लक्षण देखा परे तत्काल अस्पताल जान पनि डाक्टर पुनले सुझाव दिनुभएको छ  । 
अत्याधिक  गर्मी र खानपिनमा उचित ध्यान नपुर्‍याउँदा भाइरल ज्वरोको बिरामी बढेको उहाँले बताउनुभयो । अहिले सिजनल रुपमा भाइरल ज्वरो देखिनु सामान्य नै भएको उहाँको भनाई छ । सावधानी नअपनाएमा जोखिम हुनसक्ने भएकाले खानपिनमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । बाहिरका तथा बासी खानेकुरा नखान र पानी उमालेर मात्र पिउनु डाक्टर पुनको सल्लाह छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया