माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले प्रभावितलाई दियो एम्बुलेन्स

 मंसिर १८, २०७५ मंगलबार १८:१२:३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले आयोजना क्षेत्रका प्रभावितलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

माथिल्लो दोर्दी–‘ए’ सरोकार तथा समन्वय समितिको नाममा आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत खरिद गरिएको एम्बुलेन्स प्रभावितलाई सोमबार हस्तान्तरण गरिएको हो ।

नेकपाका प्रमुख सचेतक एवम् संघीय सांसद देवप्रसाद गुरुङ र आयोजनाका अध्यक्ष कुशकुमार जोशीले स्थानीय समुदायलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै गुरुङले एम्बुलेन्सको सही सदुपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।

‘शहरी क्षेत्रमा मात्र होइन । दुरदराजमा रहेका नागरिकसम्म एम्बुलेन्स सेवा पुर्याउन अत्यन्त आवश्यक छ’, उहाँले भन्नुभयो, ‘यसका लागि सबैभन्दा पहिले सडक राम्रो बनाउनुपर्छ । निर्मित सडकको स्तरोन्नति हुनु आवश्यक छ । विकटका नागरिकले समेत आवश्यक पर्दा एम्बुलेन्स सेवा पाएमा मात्रै यसको अर्थ हुनेछ ।’

आयोजना सरोकार समितिका अध्यक्ष चिनबहादुर गुरुङले आयोजनाले स्थानीय नागरिकलाई लक्षित गरी एम्बुलेन्स प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । प्राप्त एम्बुलेन्सबाट ढोडेनी, फलेनी र बन्सारका नागरिकका साथै सिङ्गो गाउँपालिकाका बासिन्दा लाभान्वित हुने माथिल्लो दोर्दी–‘ए’ सरोकार समितिका सचिव धर्म गुरुङले बताउनुभयो ।

उहाँका अनुसार बजारमा ४२ लाख ५० हजार पर्ने एम्बुलेन्स सरोकार समितिले १० लाख १५ हजारमा खरिद गरेको हो । माथिल्लो दोर्दी–‘ए’ जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व बहन गर्नका लागि छर–छिमेक कार्यक्रम मार्फत ६ करोड रुपैयाँ विनियोजन भएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताउनुभयो ।

उहाँका अनुसार छर–छिमेक कार्यक्रम अन्र्तगत आयोजना प्रभावित क्षेत्रमा सरोकार समितिमार्फत सडक, शिक्षा, खानेपानी र स्वास्थ्य क्षेत्रमा आयोजनाले खर्च गर्दै आएको छ ।              
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया