चार महिनामा आठ अर्बभन्दा बढी मूल्यको सामान आयात, आठ भन्सारबाट निर्यात शून्य

 मंसिर १८, २०७५ मंगलबार १९:५:५३ | रासस
unn.prixa.net

काठमाडौं – चालू आर्थिक वर्षको चार महिनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालबस्तु निर्यात नभएको पाइएको छ ।

भन्सार विभागले भर्खरै सार्वजनिक गरेको विवरणअनुसार ती भन्सारबाट कुनै पनि मालबस्तु निर्यात हुन नसकेको हो । विभागका अनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, सिराहा, राजविराज र अर्को एक भन्सारबाट कुनै पनि मालबस्तु निर्यात हुन सकेको छैन ।

अहिले देशभर २० भन्सार कार्यालय सञ्चालनमा छन् । चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सबैभन्दा बढी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उक्त भन्सारबाट ३० दशमलब शून्य पाँच प्रतिशत बराबरको मालबस्तु निर्यात भएको छ ।

विमानस्थल भन्सारबाट आठ अर्ब ७९ करोड ८५ लाख ८५ हजार रुपैयाँ बराबरको मालबस्तु निर्यात भएको छ । यस्तै विराटनगर भन्सार कार्यालयको हिस्सा २७ दशमलव ५८ प्रतिशत छ । उक्त भन्सार कार्यालयबाट आठ अर्ब सात करोड ६५ हजार मूल्य बराबरको मालबस्तु निर्यात भएको छ । पूर्वाञ्चल क्षेत्रबाट विशेष गरी चिया, अलैची तथा अन्य कृषिउपज विदेश निर्यात भएको हो ।

तेस्रो स्थानमा मालबस्तु निर्यात गर्ने भन्सारमा वीरगञ्ज भन्सार पनि रहेको छ । सो भन्सारबाट १७ दशमलव ७६ प्रतिशत बराबरको मालबस्तु निर्यात भएको छ । कूल पाँच अर्ब २० करोड ६ लाख ३९ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

पछिल्लो चार महिनामा नेपालमा चार खर्ब ८३ अर्ब ७५ करोड ७८ लाख ३२ हजार रुपैयाँ बराबरको आयात भएको छ । विभागका अनुसार सो अवधिमा रु २९ अर्ब २८ करोड १७ लाख ७० हजार बराबरको मात्रै निर्यात भएको छ । आयातको कूल हिस्सामध्ये वीरगञ्ज भन्सार अग्रस्थानमा छ । सो भन्सारबाट रु एक खर्ब ६६ अर्ब चार करोड ६० लाख ९८ हजार बराबरको आयात भएको छ ।

दोस्रो स्थानमा रहेको भैरहवा भन्सारबाट रु ८२ अर्ब ८४ करोड ८८ हजार ५०० बराबरको आयात भएको छ । यो कूल आयातको १६ दशमलव ९७ प्रतिशत हो । सबैभन्दा कम राजविराज भन्सारबाट रु २१ करोड ९३ हजार १०० बराबरको आयात भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया