रुप फेर्दै रोल्पा

 मंसिर १८, २०७५ मंगलबार १९:२७:२४ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित रोल्पाको भौतिक विकासको स्वरुप फेरिँदै गएको छ ।

शान्ति प्रक्रिया सुरु भएसँगै भौतिक विकासबाट रोल्पाका नागरिकले आधारभूत आवश्यकता पूरा गर्न थालेका छन् । नागरिकका शिक्षा, स्वास्थ्य, यातायात, सडक सञ्जाल जस्ता भौतिक विकासका आधारभूत आवश्यकता पूरा हुँदै गएका छन् ।

रोल्पाका गाउँ–गाउँमा लघु जलविद्युत र झिमरुकको विद्युत मार्फत उज्यालो छाएको छ । रोल्पाका सबै ठाउँमा पछिल्लो समयमा सडक सुविधा पुगेपछि टाढाबाट स्थानीयले सामान बोकेर गुजारा गर्नुपर्ने बाध्यता हटेको छ ।

‘पहिलो दाङ र लिबाङबाट सामान बोक्नुपर्ने थियो’, थबाङ गाउँपालिकाका स्थानीय बमबहादुर रोकाले भन्नुभयो, ‘अहिले त गाउँमै सडक पुगेकाले त्यस्तो समस्या छैन् ।’

भौतिक विकास सँगसँगै अब रोल्पामा सांस्कृतिक विकास, सामाजिक विकास, आर्थिक विकास, स्वरोजगारमुकल कार्यक्रम, गरिबी निराकरण र स्थानीयलाई आत्मनिर्भर बनाउने किसिमका कार्यक्रम रोल्पामा सञ्चालन गर्नुपर्ने स्थानीय बुद्धिजीवी बताउँछन् ।

मानव विकास सूचाङ्कमा रोल्पा ६५ औं स्थानमा रहेकाले अब भौतिक विकाससँगै आर्थिक तथा सामाजिक विकासमा सरकारले ध्यानदिनुपर्ने प्राध्यापक गोकर्णप्रसाद पुनले बताउनुभयो ।

स्थानीय सरकारले गाउँगाउँमा रोजगारीका प्रशस्त अवसरहरु दिन सके रोजगारीका लागि पलायन युवा रोकेर जिल्लाको विकास गर्न सकिने पुनको भनाई छ ।
 

अन्तिम अपडेट: मंसिर २४, २०७५

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । उहाँलाई फेसबुकमा भेट्न सकिन्छ ।

तपाईको प्रतिक्रिया