चालु दश वर्ष समाजवाद निर्माणको वर्ष : प्रचण्ड

 मंसिर १८, २०७५ मंगलबार १९:४५:६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – चालु दश वर्षलाई सरकारले समाजवादको आधार निर्माण दशकको रुपमा अघि बढाएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बताउनु भएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य संघले वाणगंगामा आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताउनुभयो ।

त्यसको आधारको रुपमा ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्व पश्चिम रेलमार्ग निर्माण,  हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू दश वर्षमा सम्पन्न हुने गतिमा सरकार अघि बढेको उहाँले बताउनुभयो । भारत–नेपाल र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको उहाँको भनाई थियो ।

चीनसँगका ४ वटा बन्दरगाहसम्मको पहुँचले अब नेपालमा सहज विकास हुने दाबी प्रचण्डको छ । अध्यक्ष दाहालले ‘अब नेपाल जमिनले घेरिएको भूपरिवेष्ठित देशको रुपमा होइन समुन्द्रसँग जमिनबाट जोडिएको देशको रुपमा’ परिचित हुने बताउनुभयो ।

तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्व शान्ति शहरको रुपमा यस क्षेत्रलाई विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा यसलाई विकास गर्न सकार अघि बढेको उहाँले बताउनुभयो ।

यसै गरी लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोडेर धार्मिक केन्द्रको रुपमा विकास गर्दै भारतीय क्षेत्रमा रहेका शक्तिपीठहरुलाई पनि यसमा जोड्दै धार्मिक पर्यटन विकासमा जोड दिने उहाँले बताउनुभयो ।

देशभित्रका लगानीकर्ताहरुलाई उत्प्रेरित गरी लगानीमैत्री वातावरण सृजना गर्न नेता प्रचण्डले सरकारलाई आग्रह समेत गर्नु भएको छ । आन्तरिक लगानी प्रवद्धन भए मात्रै विदेशी लगानी भित्र्याउन सकिने भन्दै यसका लागि सरकार संवेदनशील भई स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने नीतिमा अघि बढेको प्रचण्डले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया