अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित

 मंसिर १९, २०७५ बुधबार ११:१४:५१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – गएको एक महिनादेखि जिल्ला अस्पताल बैतडीमा नर्स नहुँदा उपचार सेवामा समस्या भएको छ । जिल्ला अस्पतालमा ४ जना स्टाफ नर्सको दरबन्दी भएको भए पनि अस्पताल एकजना पनि नर्स छैनन् । 

अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रवाहमा समस्या भएको अस्पतालका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताउनुभयो । 

गर्भवतीको अल्ट्रासाउण्ड गर्ने कार्यमासमेत बाधा पुगेको उहाँले बताउनुभयो । आफू बाहिर भएको बेला अस्पातलमा अल्ट्रासाउण्ड सेवा बन्द हुने गरेको उहाँको भनाइ छ । तालिमप्राप्त नर्सको सरुवा भइसकेको र नयाँ नर्स नआएकाले सेवा प्रवाहमा समस्या भएको उहाँले बताउनुभयो । अस्पतालमा सञ्चालित जटिलतायुक्त प्रसूति सेवा दिन पनि गाह्रो भइरहेको डा. बिष्टले बताउनुभयो ।

यस्तै पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि स्टाफ नर्सको दरबन्दी खालि रहेको छ । त्यहाँ पनि स्टाफ नर्स नहुँदा सेवा प्रवाहमा समस्या भैरहेको छ । स्टाफ नर्सको पदपूर्तीका लागि स्वास्थ्य सेवा विभागमा जानकारी गराएको भए पनि अहिलेसम्म पदपूर्ती हुन नसकेको अस्पतालले जनाएको छ । 

यस्तै तीनजना डाक्टरको दरबन्दी भएको अस्पतालमा पनि एकजनाले मात्रै काम गर्नु परेको छ । अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा स्थानीयले भारत तथा अन्य ठाउँमा गएर उपचार सेवा लिनुपर्ने बाध्यता छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया