प्रधानमन्त्री कार्यालयमा राखिने ‘वार रुम’ के हो ? यसले कसरी काम गर्छ ?

 मंसिर १९, २०७५ बुधबार १३:१०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं  – निजगढ विमानस्थल निर्माण गर्न रुख काट्नु पर्ने भनेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयारी थालेपछि वन मन्त्रालयले अड्को थाप्यो ।

पछि प्रधानमन्त्रीकै सकृयतामा वन मन्त्रालय रुख काट्न दिन तयार भयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले पहिलो चरणमा झण्डै दुई लाख मात्रै रुख काट्ने तयारी थालेको छ । 

नेपाल विद्युत प्राधिकरणले कोशी करिडोरमा बनाउँदै गरेको विद्युत प्रसारण लाइन निर्माण रुख कटानकै कारण अड्किएको छ । 

सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा बनिरहेको एकसय पाँच मेगावाटको प्रसारण लाइन तीव्र गतिमा अघि बढाउन खोजे पनि रुख कटान गर्न वन मन्त्रालय, विभाग तथा जिल्लास्थित वन कार्यालयबाट समस्या आइरहेको गुनासो स्वयं प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नै गर्नु परेको छ ।

अन्तरमन्त्रालय तथा कार्यालयको जुहारीले यस्ता योजनाहरुमा कुनै किसिमको अवरोध आउन नदिन अबदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ राखिने भएको छ । 

अन्तरमन्त्रालय तथा कार्यालयको विवादका कारण साना ठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न यस्तो रुम राख्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताउनुभयो ।

भिडियो संवाद गर्न मिल्ने ‘वार रुम’

‘वार रुम’ सञ्चालनमा आएपछि विकास निर्माणका काममा ढिलासुस्ती तथा राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि सिधै प्रधामन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर समस्या हल गरिने उहाँले बताउनु भयो । 

प्रधानमन्त्री कार्यालयमा ‘वार रुम’ राख्नेबारे योजना अघि बढिरहेको र त्यसका लागि तीनवटा निर्माण कम्पनीसँग प्रस्ताव माग गरिएको पनि प्रवक्ता कुँवरले बताउनुभयो ।

प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग आफ्नै कार्यालयमा बसेर भिडियो सम्वाद ‘टेलिप्रिजेन्ट’ गर्न मिल्ने गरी ‘वार रुम’ बनाइने योजना छ । विकास निर्माणमा हुने अन्तरमन्त्रालय विवाद, ढिलासुस्ती, गतिरोध तथा अन्य साना ठूला समस्या तत्काल समाधानमा यसले ठूलो भूमिका खेल्ने विश्वास पनि लिइएको कुँवरले बताउनुभयो। 

विगतमा अन्तरमन्त्रालय एवं कार्यालय विवादका कारण ठूला परियोजनाको काम निर्धारित समयमा नसकिएको तथा केही योजनाका काम प्रभावित समेत भएको उदाहरण छ । तर  अबदेखि भने सरकारले अगाडि बढाएका योजनामा कतैबाट पनि अवरोध नआओस भनेर प्रधानमन्त्रीकै निगरानीमा ‘वार रुम’ राख्न लागिएको हो ।

यसले राष्ट्रिय प्राथमिकतामा रहेका आयोजनाको श्रब्य दृश्य ‘टेलिप्रिजेन्ट’ मार्फत अनुगमन गर्न मद्धत पुग्नुका साथै त्यसमा केही समस्या देखिए तत्कालै समाधान गर्न सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवसँग समन्वय गर्ने छ ।

यो संचालनमा आएपछि परीक्षणको रुपमा राष्ट्रिय प्राथमिकतामा रहेका ११ वटा आयोजनालाई लक्षित गरेर काम गरिने प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।

बनिसक्यो कानुन 

‘वार रुम’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नतिजा व्यवस्थापन महाशाखाअन्तर्गत राखिने प्रवक्ता कुँवरले बताउनुभयो ।

अहिले पनि यही शाखा अन्तर्गत ‘तत्काल समस्या समाधान केन्द्र’ सञ्चालनमा छ । यसले पनि सरकारले प्राथमिकतामा राखेका विकास निर्माण सम्बन्धी आयोजना र तत्काल आइपर्ने समस्या समाधानलगायत महत्वपूर्ण विषयमा काम गर्ने गरेको छ । अब त्यसलाई अझ प्रभावकारी बनाउन प्रत्यक्ष संवाद गरेर निर्णयमा पुग्न सहयोग पुग्ने गरी ‘वार रुम’ को अवधारणा अघि बढाएको हो ।

वार रुममा भिजुअल उपकरण, डिभाइस समयतालिका र परियोजना जानकारी दिने विवरण राखिनेछ । यस्तै ह्वाइट बोर्ड, चार्टलगायतका माध्यमबाट समस्या भएका आयोजनाहरुको रिपोर्ट राख्ने काम पनि हुने छ । 

सकेसम्म योजनामा विवाद आउन नदिने गरी काम गर्न निर्देशन हुने र कारणवश विवाद आए प्रधानमन्त्रीको तहबाटै हल गर्ने गरी यो रुम संचालन गर्न लागिएको हो । प्रधानमन्त्रीको तहबाटै समस्या आएका योजनाबारे सम्बोधन हुँदा सन्देश पनि राम्रो जाने र काम पनि छिटोछरितो रुपमा अघि बढ्ने भएकाले यसको अवधारणा अघि बढाइएको प्रवक्ता कुँवरले बताउनुभयो । तत्काल यो रुम सहसचिवको निगरानीमा रहने छ ।

रुम संचालनका लागि आवश्यक पर्ने कानुनको मस्यौदा तर्जुमा भइसकेको पनि उहाँले जानकारी दिनुभयो । 

विशेष नतिजा हात पार्न ‘वार रुम

छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गर्दै नेपालमा पनि प्रधानमन्त्री ओलीले यस्तो ‘वार रुम’को अवधारणा अघि सार्नुभएको  हो । भारतीय प्रधानमन्त्री मोदीले ‘वार रुम’लाई विकास निर्माणसँग जोडेर काम अगाडि बढाइरहेका छन् । नेपालमा पनि विकास निर्माणकै आयोजनालाई ध्यान दिएर यस्तो रुम बनाउन लागिएको हो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि सन् २००८ को राष्ट्रपति चुनावको समयमा यस्तो रुम चलाएका थिए । आक्रामक रुपमा चुनाव प्रचार प्रसार र मतदाता आफूतर्फ तान्न यस्तो रुमको प्रयोग भएको थियो ।

चुनावका बेला ओबामाले संचालन गरेको ‘वार रुम’ अत्याधुनिक हुनुका साथै चुनावी रणनीतिकर्ता, राजनीतिक विश्लेषक तथा विभिन्न विज्ञहरुलाई खटाइएको थियो ।

विशेष नतिजा हात पार्ने उद्धेश्यका साथ यस्तो ‘वार रुम’हरु सञ्चालन गर्ने गरिएको छ । नेपालले पनि विकाश निर्माणमा ठोस उपलब्धी हासिल गर्न ठूला परियोजना विवादमा नपरोस भनेर यस्तो रुम सञ्चालन गर्न लागेको हो ।

विशेष गरी युद्धका बेला सेनाले प्रयोग गर्ने रुमलाई ‘वार रुम’ भनिने गरेको भए पनि पछिल्लो समय युद्धस्तरमा काम गर्न प्रयोग गर्ने रुमलाई पनि यसै नामले नामाकरण गर्न थालियो ।

सेनाले ‘वार रुम’मा नक्साबाटै युद्धरत क्षेत्रको पहिचानका साथै उपकरणका माध्यमबाट सैनिकको तत्कालको स्थिति पत्ता लगाउने काम गर्छ । युद्धका बेला आवश्यक रणनीति बनाउन पनि सेनाका अधिकारीलाई यो रुम महत्वपूर्ण हुने गर्छ ।

दोस्रो विश्वयुद्धमा शक्तिशाली राष्ट्रहरूले प्रयोग गरेको ‘वार रुम’को अवधारणालाई समय क्रमसँगै सरकारी र निजी क्षेत्रले विभिन्न विकाश निर्माण तथा अन्य परियोजना व्यवस्थापन तथा तत्काल समस्या समाधान गर्ने कमाण्ड केन्द्रका रुपमा अभ्यासमा ल्याएका हुन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया