३० ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

 मंसिर १९, २०७५ बुधबार १४:१०:४ | भावुक योगी
unn.prixa.net

बर्दिया – लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) तस्करी गर्ने एक जना भारतीय नागरिकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । 

नेपाल भारत सीमाना निसानगाढा नजिक पर्ने मधुवन नगरपालिका –७, बाट भारतको उत्तरप्रदेश राज्य अन्तर्गत जिल्ला बहराइच थाना मोतिपुर ग्राम मिहिपुरवाका २५ वर्षीय बिमलेश कुमार हरजनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो ।

ब्राउन सुगरसहित मंगलबार दिउँसो पक्राउ परेका भारतीय नागरिक हरजनलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत बुधबार मध्यान्न जानकारी गराएको हो ।

पक्राउ परेका भारतीय नागरिक हरजनले बर्दियाको मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकामा ब्राउनसुगर बिक्री वितरण गर्ने गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खोजी गर्ने क्रममा ३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी उपरीक्षक मैनालीले बताउनुभयो । 

प्रहरी उपरीक्षक मैनालीका अनुसार शंकास्पद अवस्थामा हिँडिरहेका बेला भारतीय नागरिक बिमलेश कुमार हरजनको साथबाट झण्डै २ लाख मूल्य बराबरको ५५० जनालाई प्रभावित पार्न सक्ने ३० ग्राम लागुऔषध ब्राउनसुगर (खैरो हेरोई ) सहित पक्राउ गरेको प्रहरी उपरिक्षक मैनालीले बताउनुभयो । 

पक्राउ परेका भारतीय नागरिक बिमलेश कुमार हरजन झण्डै ४ वर्ष अघिदेखि नेपालमा आएर ब्राउन सुगर कारोबारमा संलग्न रहेको बुझिएकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ऐनमा २५ ग्रामदेखि १ सय ग्रामसम्मको लागुऔषध कारोबारमा संलग्नलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

पछिल्लो ४ महिना यता साउनदेखि जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आईरहेको छ । लागुऔषध नियन्त्रणका लागि बर्दियामा विशेष निगरानीसहित अभियान थालिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताउनुभयो ।

लागुऔषधको दुर्व्यसनीमा परेका १५० जनालाई पक्राउ गरी सम्झाइबुझाई अभिभावकको जिम्मा लगाइएको र १० वटा मुद्धा दर्ता गरी १७ जनालाई लागुऔषध खैरो हेरोइन मुद्धामा कारबारी प्रक्रिया अघि बढाइएको प्रहरी उपरिक्षक मैनालीले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया