दुई बालक स्कुलबाटै बेपत्ता

 मंसिर १९, २०७५ बुधबार १५:४४:२२ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको शहीद लखन गाउँपालिकाका दुई बालक विद्यालयबाटै हराएका छन् । 

गोरखा सदरमुकामको द वर्ल्ड क्यापिटल माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने १३ वर्षका प्रज्ज्वल राना र १४ वर्षका रोशन श्रेष्ठ मंगलबार बिहानदेखि हराएका हुन् ।

शहीद लखन गाउँपालिका –६, घैरुङ घर भएका सदरमुकाम बस्दै आएका प्रज्ज्वल र शहीद लखन गाउँपालिका –७, बुंकोटका रोशन बिहानी सत्रको पढाई सकेपछि हराएका हुन् । बिहान ६ देखि सवा ८ बजेसम्म बिहानी सत्रको कक्षामा बसेका उनीहरु खाना खाने छुट्टीमा घर नगई सम्पर्कविहीन भएका विद्यालयका प्रिन्सिपल जनक केसीले बताउनुभयो ।

कक्षाकोठामा भएको झोला अरु साथीहरुको सहयोगमा झ्यालबाट लिएर हिँडेको साथीहरुले बताएका उहाँको भनाई छ । दिवा सत्रको कक्षामा उपस्थित नभएपछि तत्काल अभिभावकलाई जानकारी दिइएको केसीले जानकारी दिनुभयो । प्रहरी, बालकका आफन्त र विद्यालय परिवारले हिजैदेखि बालकद्वयको खोजी सुरु गरेको छ ।

सदरमुकामको सीसी क्यामेरा फुटेजका आधारमा उनीहरु हिजो बिहान १० बजेतिर आँबुखैरेनी गोरखा सडकखण्डको खोलखोले आसपास देखिएका बालक प्रज्ज्वलका आफन्त श्याम थापा मगरले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया