‘वाइडबडी सम्बन्धमा छानबिन समितिको प्रतिवेदनले थुप्रै प्रश्न उब्जाएको छ, अध्ययन जरुरी छ’

 मंसिर १९, २०७५ बुधबार १७:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदका सम्बन्धमा मन्त्रालय गम्भीर रहेको भन्दै आवश्यक परे थप अध्ययन अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । 

प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा मन्त्री अधिकारीले यस्ताे बताउनुभएको हो ।

समिति सदस्यहरुले विवादित विमान खरिद प्रक्रियाबारे सरोकारवाला मन्त्रालय नै गम्भीर नबनेको , जिम्मेवार मन्त्रीले चित्त बुझ्दो गरी जवाफ दिन नसकेको भन्दै आक्रोश पोखेपछि मन्त्रीले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । उहाँले मन्त्रालय चुप लागेर नबसेको पनि स्पष्ट पार्नुभयो ।

छानविन समितिको प्रतिवेदनले पनि थुप्रै प्रश्न उब्जाएको भन्दै उहाँले त्यसमाथि पनि अध्ययन जरुरी रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमभित्र कमजोरी पनि भएको स्वीकार गर्दै स्पष्ट छानविन गर्नुपर्छ भन्नेमा मन्त्रालय स्पष्ट रहेको बताउनुभयो । यसबारे समितिले छानबिन गरी ल्याउने वास्तविकतालाई मन्त्रालयले प्रक्रियामा लैजाने पनि उहाँले स्पष्ट पार्नुभयो ।

समितिले निगमको वाइडबडी खरिदमा भएको भनिएको आर्थिक अनियमितताका सम्बन्धमा आज मन्त्री अधिकारीसँग छलफल गरेको हो । यसअघि निगमका पदाधिकारी, मन्त्रालयका सचिव लगायतसँग छलफल गरेको थियो ।

वाइडबडी खरिद प्रक्रिया नियमसम्मत नरहेको भन्ने महालेखा परीक्षकको प्रतिवेदनसँगै यसमा झण्डै ६ अर्बको आर्थिक अनियमितता भएको चर्चा भएपछि संसदीय समितिले यसमा चासो देखाएको हो ।

 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया