ए डिभिजन लिग : मनाङ, थ्रीस्टार र च्यासलको जित

 मंसिर १९, २०७५ बुधबार १८:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत उपाधिको दावेदार टिम थ्रीस्टार र मनाङले जित निकाल्दा हिमालयन शेर्पा च्यासलसँग पराजित भयो ।

आज भएको खेलमा थ्रीस्टारले सरस्वती क्लबलाई दुई–एक गोलले हरायो भने मनाङले जाउलाखेलमाथि एक–शून्यको संघर्षपूर्ण जित निकाल्यो । अर्को खेलमा च्यासलले हिमालयन शेर्पालाई दुई–एकले नै हरायो ।

हलचोकस्थित सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा थ्रीस्टारले सरस्वतीको एक गोलको अग्रता उल्ट्यायो । खेलको तेस्रो मिनेटमा नै सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई भिक्टर अमोबीले गोल गर्न सफल भए । खेलको सुरुवातमा नै एक गोलले पछि परेको थ्रीस्टारले १३ औं मिनेटमा गोल फर्काउने सुनौलो मौका पाएको थियो तर सफल भएन । तर १५ औं मिनेटमा थ्रीस्टारले पेनाल्टीको अवसर पायो । जसमा रञ्जित धिमालले गोल गर्दै खेल एक–एकको बराबरीमा पुर्याए ।

२४ औं मिनेटमा थ्रिस्टारले अर्को गोलको मौका खेर फाल्यो । खेलको ३६ औं मिनेटमा थ्रीस्टारले अग्रता बनायो । उसका लागि निराजन खड्काले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले अगाडि रहेको थ्रीस्टारले दोस्रो हाफमा पनि चार वटा मौका पाए पनि सफल भएन । खेलको अन्त्यतिर सरस्वतीले राम्रो गोलको अवसर पाए पनि सफल भएन ।

यस्तै मनाङ मर्स्याङ्दीले लगातार छैटौँ जित निकाल्ने क्रममा जाउलाखेलमाथि एक–शून्यको संघर्षपूर्ण जित हात पार्यो । मनाङले सुरुवाति १२ मिनेटमा गोलका तीन अवसर गुमाउँदा  पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । साताँै मिनेटमा विशाल राइको फ्रीकिकलाई जाउलाखेलका गोलकिपर सागर श्रेष्ठले पन्च गरेका थिए । त्यसै बलमा अन्जन बिष्टले गरेको सशक्त प्रहारमा सागर नै बाधक बने । लगत्तै अडेलाजा सोमिदीको प्रहारमा पनि गोलकिपरले बचाए ।

६० औं मिनेटमा जाउलाखेलका एडामा दुम्बियाल अफिज ओलावालेलाइ डिबक्समा लडाएपछि मनाङले पेनाल्टीको अवसर पायो । जसलाई अञ्जन विष्टले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । जारी लिगमा अन्जनको यो पाँचाँ गोल हो । ७२  औं मिनेटमा मनाङले अर्को गोलको अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । खेलको अन्तिममा भने  जाउलाखेलले मनाङलाई दबाबमा राखेको थियो ।  

सात मिनेट थप गरिएको इन्जुरी समयमा जाउलाखेलले गोलका दुई सुन्दर अवसर गुमाएको थियो । जारी लिगमा अपराजित रहेको मनाङ  ६ खेलबाट १८ अंक बनाउदै लिगको शीर्ष स्थानमा कायमै रहेको छ । जाउलाखेलको प्रतियोगिामा यो चौथो हार हो ।

अर्को खेलमा च्यासलले हिमालयन शेर्पालाई दुई–एकले नै हरायो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा च्यासलले हिमालयनको एक गोलको अग्रतालाई पन्छ्यायो । खेलको १५ औँ मिनेटमा शेर्पाले त्रिदेभ गुरुङको गोलमार्फत अग्रता बनाएको थियो । त्यसपछि ३० औँ मिनेटमा च्यासलका हेमन्त मगरको प्रहार क्रसबारमा लागेर फर्कियो । 

पहिलो हाफमा एक गोलले पछि परेको च्यासलले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ५६ औँ मिनेटमा सन्तोष साउखलले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ७३ औँ मिनेटमा सब्स्टिच्यूट खेलाडी सुनिल खड्काले च्यासलका लागि गोल गर्दै खेल दुई–एकको अवस्थामा पुर्याए । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया