क्रिकेटबाट सन्यास लिएका गम्भीरले राजनीतिक मैदानमा ब्याटिङ गर्लान् त ?

 मंसिर १९, २०७५ बुधबार १८:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २००७ को टी–२० विश्वकप फाइनल  । पाकिस्तानविरुद्ध लगातार विकेट पतन भइरहेका बेला गौतम गम्भीरले एका तर्फबाट पारि सम्हालेको थिए । त्यतिबेला उनले  ७५ रनको उत्कृष्ट पारि खेल्दै भारतको सम्मानजनक स्कोर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

त्यसको चार वर्षपछि मुम्बईका वानखडे स्टेडियममा श्रीलंकाविरुद्ध चुनौतीपूर्ण स्कोर  पछ्याउने क्रममा भारतीय टिमका  भरपर्दा ब्याट्सम्यान वीरेन्द्र सहवाग तथा सचिन तेन्दुलकर आउट भए । त्यतिबेला पनि   गम्भीरले ९७ रनको  महत्वपूर्ण पारि खेल्दै टिमलाई सम्हालेका थिए । तर दुवै म्याचमा कप्तान महेन्द्रसिंह धोनी थिए । धोनीको सेनामा रहेकाले यसको पूरा फाइदा सेनापति धोनीको हातमा गयो । गम्भीरले भारतका लागि धेरै महत्वपूर्ण पारिहरु खेलेका छन् ।

मंगलबार जब उनले क्रिकेटका सबै फरम्याटबाट सन्यास लिने घोषणा गरेपछि अब उनले भविष्यमा के गर्छ भन्ने बहस प्रारम्भ भएको छ ।

गम्भीर क्रिकेटबाट सन्यास लिएपछि चुप लागेर बस्छन् भन्नेमा कसैले पनि विश्वास गरेका छैनन् । केहीले गम्भीर अब क्रिकेट कमेन्टेटर बन्छन् भनी अड्कलवाजी गरेका छन् भने कतिले उनी अब राजनीतिमा आउने आशंका गरेका छन् ।

आसन्न आईपीएलअघि नै गम्भीरको सन्यासले सबै क्रिकेट फ्यानहरु अचम्ममा परे पनि उनले चार नोभेम्बरमा गरेको ट्वीटमा सन्यास लिने संकेत भने गरिसकेका थिए । उनले त्यतिबेला भनेका थिए, ‘आईपीएलका लागि कप्तानी अब युवाहरुलाई दिने बेला आएकाले दिल्ली डेरडेभिल्सका छनौटकर्तालाई मेरो आग्रह छ कि मलाई कप्तानी भूमिका दिन पर्दैन, म  पछाडि बसेर सहयोग गर्न तयार छु ।’ गत सिजनमा उनी नेपाली युवा बलर सन्दीप लामिछाने सहभागी टिम दिल्लीको कप्तान थिए । तर टिमले राम्रो गर्न नसकेपछि पछिल्ला खेलहरुमा उनीनै प्लेइङ सेटमा अटाएका थिएनन् ।

भारतीय जनता पार्टी निकट अंशुल सिंह चौहानले गम्भीरको सन्यासका विषयमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनले क्रिकेटको पारि पूरा गरे पनि भाजपाका तर्फबाट सन् २०१९ को राजनीतिक पारीको सुरुवात गर्ने छन् ।’

उनी यसअघि पनि भाजपाको प्रचारमा हिँडेकाले भाजपाको राजनीतिमा आउँछन् भन्ने अड्कल काट्नु स्वभाविक जस्तै छ । गम्भीर २०१४को निर्वाचनमा अरुण जेटलीको प्रचारका लागि अमृतसरसम्म पुगेका थिए । 

दिल्लीका गम्भीर आप पार्टीको खरो आलोचक हुन भने कांग्रेस आई पनि उनलाई मन पर्दैन । 

गम्भीर भाजपामा जान्छन् त भन्ने जिज्ञाषामा दिल्लीको राजनीतिबारे जानकार विश्लेषक प्रमोद जोशी भन्छन्, ‘यो अहिले नै भन्न हतार होला, तर यसको सम्भावना भने छ, किनकी उनी ३७ वर्षका भइसके अब सन्यास लिने बेला भइसकेको छ ।  त्यसैले क्रिकेटपछि राजनीतिमा आउनु स्वभाविक जस्तै हो ।’

-एजेन्सीकाे सहयाेगमा
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया