अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा विकाश र रत्नजित प्रि–क्वार्टरफाइनलमा, नङसल बाहिरिइन्

 मंसिर १९, २०७५ बुधबार १९:२८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल नम्बर एक रत्नजित तामाङसँगै विकाश श्रेष्ठ काठमाडौंमा जारी नेपाल इन्टरनेशनल सिरीज ब्याडमिन्टन प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन । महिला एकलतर्फ नङशलदेवी तामाङ बाहिरिएकी छिन् ।

हलचोकस्थित सशस्त्र प्रहरीको कोर्टमा भएको खेलमा पुरुष एकलतर्फ रत्नजितले मरिससका टेजराज पुल्टोलाई २१–० र २१–८ को सेटमा हराए । यस्तै अर्को खेलमा विकाश श्रेष्ठले नेपालकै जीवन आचार्यलाई दुई–एकको सेटमा हराउँदै नकआउट चरणमा प्रवेश गरे । उनले जीवनलाई २१–१४, १९–२१ र २१–१८ को सेटमा हराए ।

नेपालकै विजित थापामगरले भुटानका कर्मा छेन्द्रुलाई २१–१० र २१–१३ को सेटमा पाखा लगाए भने प्रिन्स दाहाल भियतनामका ली डु फाटसँग हार्न पुगे । यस्तै अर्को खेलमा नेपालका दिपेश धामी मलेसियाका टेक जी सुसँग पराजित हुँदा प्रफुल महर्जन भारतका अमिया ओकासँग पराजित भए । यस्तै नवीन श्रेष्ठ थाइल्याण्डका खेलाडीसँग हार्न पुगे ।

महिला एकलतर्फ नङशल तामाङ इरानी खेलाडी सोरीयासँग दुई–शून्यको सोझो सेटमा पराजित भइन् । यस्तै अनुमाया राई पनि मलेसियाकी थेट टारसँग हारिन् भने जेसिका गुरुङ भारतकी रशी त्यागीसँग पाखा लागिन् । यस्तै सिता राई पनि थाइल्याण्डकी खेलाडीसँग निराश भइन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया