‘म कालले पनि नपत्याएको मान्छे’

 मंसिर २०, २०७५ बिहिबार १२:५१:४१ | दीपा तिमल्सिना
unn.prixa.net

आमाको गर्भमा छँदै बुवा गुमाएको । जन्मेपछि बाल्यकालमै आमाले पनि छोडेको । विष खाँदा पनि मर्न नसकेको । अर्थात कालले पनि नपत्याएको मान्छे  । विगतमा यही थियो, उहाँको परिचय । 

समय र परिवेशसँगै अहिले परिचय फेरिएको छ । उहाँकै शब्दमा भन्नु पर्दा, अहिले उहाँको परिचय – यो देशको एउटा जिम्मेवार नागरिक  ।

मेनुका थापा । जसले आफ्नो भाग्य आफैंले लेख्न संघर्ष गर्नुभयो । बुवा बितेपछि उहाँको आमालाई धेरै दबाब पर्यो । कतिले अरुकै ‘भुँडी’ बोकेको आरोप लगाए, कतिले बाउ ‘टोक्ने’लाई मार्नु पर्छ भने । आमालाई गर्भ तुहाउन धेरै दबाब पर्यो । मानसिक रुपमा आमा बिछिप्त हुनुभयो । तर आमाको ममतालाई उहाँले जोगाइराख्नुभयो । 

जन्म भयो, मेनुका थापाको । बाल्यकालमा आमा बावुबाट माया र स्नेह होइन,  ठीक विपरीत संघर्ष गर्नुपर्यो उहाँले । ‘बाउ टोक्ने’, ‘अलक्षिना’ जस्ता सुन्नै नसकिने शब्द मेनुकाले पचाएर हिँड्नु पर्यो । उहाँलाई नामले कम मात्रैले बोलाउँथे । 

समयसँगै फेरियो परिचय

आमाको साथ छुटेपछि आफन्तकहाँ शरण लिनु पर्यो । तर समाउने हात र साथको साटो उहाँले हेला र बेदना पाउनुभयो । अन्ततः उहाँलाई सडक नै सबैथोक बन्यो । 

बिहान सबेरै उठ्नु अनि खानपानको जोहो गर्न यताउता भौंतारिनु उहाँको दैनिकी थियो । दिनभरी चोक चोकमा भाैँतारियो, पेट भर्यो  । जब साँझ पर्दै जान्थ्यो, उहाँको मन पनि अमिलो हुन्थ्यो । तर एक हिसाबले भाग्यमानी उहाँ । सडककै बास भए पनि रातमा उहाँले सुरक्षित बास पाउनुहुन्थ्यो । उहाँ बस्ने सडकपेटी नजिकै चिया बेच्ने बुढाबुढी बस्दथे । 

‘दिनभरी जहाँ पुगे पनि रात परेपछि म उहाँहरुकोमा जान्थें । मलाई सुरक्षित महशुस हुन्थ्यो । यही बासकै कारण म बलात्कृत हुनबाट र बेचिनबाट जोगिएँ, अहिले त्यस्तै  लाग्छ’ उहाँ भन्नुहुन्छ ।

‘बाउ टोक्ने’, ‘अलक्षिना’ नामको अन्त्य त्यतिबेला भयो, जतिबेला सडकपेटीको बासका क्रममा देउता जस्तो बनेर आए मोहनबहादुर थापा । 

यो २०५५–०५६ सालतिरको कुरो । मनोविज्ञान पढेका मोहनबहादुर थापाले मेनुकाको भाव बुझ्नुभयो । उहाँले मेनुकाको उद्दार गर्ने सोच बनाउनुभयो । तर मेनुका यसमा विश्वस्त हुनु भएन । कारण – उहाँको बाल मस्तिष्कदेखि नै पुरुषप्रति ‘नेगेटिभ भाइभ्स्’ (नकारात्मक सोच) थियो । तर थापाकी श्रीमतीसँग मेनुकाको जब भेट भयो, मेनुकाको जीवनले एक घुम्ती नै पार गर्यो । 

‘बाउ टोक्काई भन्दै मलाई सबैले थुक्थे । आमा बुवा नभएपछि मामा र आफन्तको शरणमा पुगें । तर त्यहाँ पनि मलाई उठाउने भन्दा थुक्ने नै धेरै भए । जिन्दगी जसरी भए पनि आफैंले घिसार्ने हो । कहीँ ठक्कर पाए मैले नै खेप्नु पर्दछ । कहिलेकाहीँ म सम्झन्छु, कस्तो सिनेमा जस्तो छ मेरो जीवन । मैले कहिल्यै सोचेको थिईनँ कि मेरो जीवन आज यो अवस्थामा आउला भनेर’ उहाँले पहिले र अहिलेको क्षण सम्झनुभयो ।

‘मैले बावुलाई देखेकै छैन म कसरी बावु टोकाई भएँ ? मेरो मनमा सधैं यही आक्रोश थियो । मनको आक्रोश आँखामा पनि देखिन्थ्यो ।’  

‘मोहनबहादुर थापासँग म नखुलेपछि श्रीमती मन थापा म छेउ आउनुभयो । महिला मात्रै रहेको परिवारमा हुर्केकी भएर म मन थापासँग घुलमिल भएँ । अन्ततः म उहाँसँगै गएँ । त्यसपछि सडकबाट मेरो जिन्दगी मन थापाको घर हुँदै क्याम्पससम्म पुग्यो’ उहाँले आफ्नो जिन्दगीमा आएको मोडबारे बताउनुभयो ।

पद्मरत्न क्याम्पसका पढाईसँगै थपिंदै गए साथी पनि । खान लाउन र पढ्न पाए पनि मेनुका  भित्रैदेखि सन्तुष्ट हुन सक्नु भएन । जीवनलाई अरुको सहारामा हिँडाउनुभन्दा पनि आफैं सबल बन्नु थियो । 

उहाँ गीत पनि गाउनुहुन्थ्यो । यही क्रममा एक, दुई जना साथी उहाँको गायनबाट प्रभावित थिए । उनीहरुले मेनुकाका लागि महिनामा ३ हजार कमाई हुने जागिर खोजिदिए । सबल बन्ने उहाँको चाहनाको पहिलो कदम बनिदियो, गीत । उहाँले रेष्टुरेन्ट बारमा गाउन थाल्नुभयो । 

‘जागिर पाएपछि कति खुशी भएँ । एक रुपैयाँ नकमाउने मैले अब महिनाको ३ हजार रुपैयाँ कमाउने भएँ । त्यो पनि केही घण्टा गीत गाएर । बेलुकाको जागिर भएकाले मैले अरु काम पनि सजिलै गर्न सक्दथें’ त्यतिबेलाको खुशी साट्दै उहाँले भन्नुभयो । 

तर उहाँको यो खुशीले न जरो गाड्न सक्यो, न फैलिन । ‘जब मैले रेष्टुरेन्ट, बारमा गीत गाउँदै गएँ, वास्तविकता थाहा हुँदै गयो । रेष्टुरेन्ट बारको देखाउने दाँत र चपाउने दाँत फरक हुँदो रहेछ । मैले त्यहाँ स्वाभिमान हैन हिंसा र दुव्र्यवहार देखेँ, भोगेँ । बिस्तारै मलाई असह्य हुँदै गयो । मैले काम गरे बापतको तलब मागेँ ।  जवाफमा साहूले भन्यो’ – “तलब चाहिन्छ भने फलानोसँग सुत्न जा ...।”

गीत गाउन भनेर बोलाएको साहूले “ग्राहकसित सुत्न जा...,अनि तलब पाउँछेस्” भने पछि उहाँलाई असह्य भयो । गीत गाउन भनेर बोलाएपछि गाएको पैसा देउ, अरु थाहा छैन भन्दै साहूलाई उहाँले शब्दले प्रतिकार गर्नुभयो । तर साहूले नसुनेझैँ टार्न खोजे । 

‘अति भयो, मैले सहनै सकिन र छेउमा रहेको बियरको सिसी साहूको टाउकोमा बजारें । अनि त्यहाँबाट म हिँडे’ उहाँले  पुरानो घटना सम्झनुभयो । 

यो घटनापछि रेष्टुरेन्टका साथीभाइले मेनुकाको तारिफ गरे । मेनुकालाई अन्यायविरुद्ध आवाज उठाउन पे्ररित गरे  । बाँच्नैकै लागि सँघर्षका क्रममा उहाँले फेरि एउटा आन्दोलनको थालनी गर्नुभयो – महिला दिदी बहिनीको भलाईका लागि ।

साहूको टाउको फुटाएपछि मेनुका आफ्ना साथीभाइसहित १२ जनाको टोली लिएर अर्को रेष्टुरेन्ट, बारमा जानुभयो । जहाँ उहाँले आफ्नो प्रभाव र दबाब दुवै कायम गर्नुभयो । 

काम र जीवन यसैगरी बित्दै थियो । उहाँले आफूले पाएको सैद्धान्तिक शिक्षालाई बिस्तारै व्यवहारिक बनाउँदै लैजानुभयो । आफूसित काम गर्ने श्रमिकलाई उहाँले श्रम र पारिश्रमिक तथा ऐन कानुनको बारेमा जानकारी गराइरहनुभयो । फलस्वरुप उनीहरुले कुनै रेष्टुरेन्ट बारमा काम गर्नुभन्दा आफ्नै संस्था खेल्न सुझाएनन् मात्र, सहयोग पनि गरे । 

२०–२२ वर्षको उमेर । त्यसमाथि रेष्टुरेन्टमा गीत गाउने । थापाले संस्था दर्ता गर्न धेरै झमेला भोग्नुपर्यो । ‘त्यतिबेलाका सहायक प्रमुख जिल्ला अधिकारीले “संस्था दर्ता गर्न भन्दा जहाँ जे काम गर्छौं, त्यहीँ गर, नसके विवाह गरेर बस्नु ” भन्ने जवाफ दिए । तर भाग्यवश त्यहाँ सञ्चारकर्मी पुगेका रहेछन् । उनीहरुले हाम्रो खबर छापिदिएछन् । त्यसपछि बाध्य भएर हाम्रो संस्था दर्ता भयो ।’ उहाँले भन्नुभयो । 

छोरीको रक्षा गर्दै थापा 

‘धेरैको आरोप आउँछ । डलरको खेती गर्ने त्यो पनि पीडित छोरीको नाममा । म यसलाई सामान्य रुपमा लिन्छु किनकी हामीले दातृ संस्थासित डलर नै थाप्छौं । पैसा नभई कसरी काम गर्ने ? सम्भव छैन । यस विषयमा सरकारले निगरानी गर्नुपर्दछ’, थापाले भन्नुभयो । 

हिजो आज छोरी घरमै असुरक्षित छन् । हजुरबुवा, बुवा, दाइभाइ, काका मामा कोहीसँग सुरक्षित छैनन् छोरी । हिंसा र बलात्कारमा परेका केही छोरीले आत्महत्या नै गर्छन् । कोहीले मानसिक सन्तुलन नै गुमाउँछन् । यस्ता छोरीको हेरचाह र स्वास्थ, शिक्षामा मेनुका थापाले काम गर्दै आउनुभएको छ । 
 

अन्तिम अपडेट: मंसिर २३, २०७५

तपाईको प्रतिक्रिया