बुवाआमाले भनेको बेला विदेश नगई पढेको भए हुने रहेछ

 मंसिर २०, २०७५ बिहिबार १६:२६:६ | मेरो कथा मेरो भोगाई

सरोज थापा/हिलेपानी, रामेछाप ।

म तीन वर्ष विदेश बसेर अहिले घरतिरै छु । केही समय वैदेशिक रोजगारले जागिरे जस्तो भइयो । तर अहिले चाहिँ बेरोजगार भएर बसिरहेको छु । झण्डै ९ वर्षअघि हो म युएई गएको ।

त्यतिबेला स्नातक तह दोस्रो वर्षमा पढ्दै थिएँ । विदेश गएका साथीहरुले कमाई राम्रै छ भनेपछि पढाई छोडेर जान तयार भएँ । त्यतिबेला मलाई मेरो पढाइका लागि घरमा किन खर्च थप्ने भन्ने लाग्यो । बुवाआमाले त पढुनञ्जेल पढ । पढाइका लागि खर्च हामी नै गरिहाल्छौं नि भन्नुभएको थियो । तर मैले मानिनँ । 

म २०६६ सालमा सेक्युरिटी गार्डको काममा युएई गएँ । ९२ हजार रुपैयाँ लिएको म्यानपावरले १२ सय दिर्हाम कमाइ हुन्छ भनेको थियो । तलब म्यानपावरले भनेको जति नै पाएँ । 

दुई वर्षपछि मलाई पत्थरी भयो । बिदा लिएर घर फर्किएँ । चार महिनापछि उपचार गरेर फेरि फर्किएँ । थप एक वर्ष बसेर सम्झौता अवधि सकिएपछि घर फर्किएँ । 

तीन वर्ष बस्दा मैले कमाएको घर व्यवहार चलाउनमै खर्च भयो । बहिनीको बिहे गर्दाको खर्च बाहेक अरु कुनै महत्वपूर्ण काम देखिँदैन । तर पैसा तिनै काममा खर्च भयो । उहाँले कमाएको केही पैसा पत्थरीको उपचारमा पनि खर्च भयो । 

विदेशबाट यही कमाएर फर्किए जस्तै भयो । अब त उमेर पनि ३० नाघ्यो । त्यसैले फेरि पढौं भन्दा पनि सोचे जस्तो गरी पढ्न नसकिने रहेछ । त्यसैले अहिले आएर त्यतिबेला बुवाआमाले पढ भनेको कुरा सम्झिरहेको छु ।

पढेको भए विदेश जाँदा पनि नपढ्ने मान्छेको भन्दा राम्रो हुने रहेछ । अहिले आएर चाहिँ मलाई त्यतिबेला बुवाआमाले भनेको बेला पढ्नु पर्ने रहेछ भन्ने लागिरहन्छ । 

अन्तिम अपडेट: मंसिर २८, २०७५

तपाईको प्रतिक्रिया