निर्मलाको लागि न्याय माग गर्दै महेन्द्रनगरमा बृहत् प्रदर्शन

 मंसिर २०, २०७५ बिहिबार १६:४८:४० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको न्यायको माग गर्दै कञ्चनपुरमा बृहत् प्रदर्शन गरिएको छ । 

नागरिक संघर्ष समितिले घोषणा गरेको चार दिने कार्यक्रम अन्तरगत बिहीबार महेन्द्रनगरमा वृहत् प्रदर्शन गरिएको हो । 
समितिको निर्धारित कार्यक्रम अनुसार बिहीबार मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरिएको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले बताउनुभयो । 

उहाँले निर्मलाको न्यायका लागि आफूहरुले सुरुआतदेखि नै आन्दोलन गर्दै आएको बताउँदै सरकारले दोषीलाई जोगाउन निर्दोष व्यक्तिलाई फसाउन नपाउने बताउनुभयो ।

पछिल्लो समय संघर्ष समितिले घोषणा गरेको चार दिने आन्दोलन सरकारलाई दबाबमूलक भएको बताउँदै आन्दोलनका आउँदा कार्यक्रम छलफलपछि निर्धारण हुने उहाँले बताउनु भयो ।

चोक चोकबाट सुरु गरिएको मानव साङ्लोसहितको प्रदर्शन पछि गएर र्‍यालीमा परिणत भएको थियो । प्रदर्शनमा विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक विद्यार्थी, अधिकारकर्मी लगायत सर्वसाधारणको उपस्थिति थियो । 

यसअघि, संघर्ष समितिले प्रशासन अगाडि कालो पट्टी बाधेर धर्ना बस्नुका साथै हराएको न्याय खोज्ने भन्दै टर्च बालेर विरोध प्रदर्शन गरेका थिए ।

पीडित परिवारले गएको कार्तिक २५ गतेबाट सुरु गरेको अनिश्चितकालीन धर्नामा ऐक्यवद्धता जनाउदै आएको संघर्ष समितिले नागरिक समाजसँगको छलफल पछि आन्दोलनका आउँदा कार्यक्रम बारे तय गर्ने जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया