६ वटा राष्ट्रिय गौरवका आयोजना ४ वर्षमा सम्पन्न हुन्छ : मन्त्री महासेठ

 मंसिर २०, २०७५ बिहिबार १८:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ४ वर्षभित्र ६ वटा राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने दावी गर्नु भएको छ । 

हुलाकी राजमार्ग, पुष्पलाल लोकमार्ग, कालीगण्डकी करिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजनाको काम ४ वर्षभित्र सम्पन्न गर्ने मन्त्री महासेठको योजना छ । मन्त्री महासेठले ६ वटा आयोजनामध्ये हुलाकी मार्गका लागि बजेटको अभाव नरहेको पनि स्पष्ट पार्नुभयो । 

बिहीबार संघीय संसद राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति विवरण पेस गर्दै मन्त्री महासेठले अन्य आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन सरकारले अर्थ मन्त्रालयसँग बजेटका विषयमा छलफल गरिरहेको पनि बताउनुभयो । 

उहाँले हुलाकी राजमार्ग निर्माणका लागि झण्डै ६० अर्ब बजेट लाग्ने जानकारी पनि समितिलाई गराउनुभयो । ४७ अर्ब लागत अनुमान गरिएको त्यो राजमार्गमा भारत सरकारले ८ अर्ब अनुदान सहायता उपलब्ध गराएको छ । समय लाग्ने भएकाले त्यो आयोजना सम्पन्न गर्न ४७ अर्बले नपुग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुमान छ ।

मन्त्री महासेठले रेल सेवा सञ्चालनका लागि अब छिट्टै विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विषयमा भारत र चीन दुवै देशका सरकारसँग कुरा भैरहेको पनि जानकारी दिनुभयो । बैठकमा समितिका सदस्यहरुले ४ वर्षभित्र ६ वटा राष्ट्रिय गौरवको आयोजना निर्माण गरेर देखाउन सरकारलाई सचेत गराएका थिए ।

सरकारले गफमात्रै नभई कामै गरेर देखाउने बेला आएको समितिका सदस्य सुरेन्द्रराज पाण्डेले बताउनुभयो । उहाँले सरकारको नौ महिने कार्यकाल हेर्दा चार वर्ष भित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य हासिल हुनेमा आफू विश्वस्त हुन नसकेको पनि स्पष्ट पार्नुभयो ।

समितिका अर्का सदस्य खिमलाल भट्टराईले लक्ष्यअनुसार राष्ट्रिय गौरवको आयोजना निर्माण सम्पन्न गर्ने आधार तयार पार्न सरकारले जग्गाको मुआब्जा वितरणको कामलाई छिटो सम्पन्न गर्नुपर्ने आवश्यक्ता औँल्याउनु भयो । उहाँले वन क्षेत्रमा गएर आयोजना निर्माणको काम रोकिने गरेको उल्लेख गर्दै त्यसतर्फ पनि सचेत रहन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले काठमाडौंकै सडकको खाल्डाखुल्डी पुर्ने काम समेत गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया