आमाछोरीबीच कुटाकुट : आमाले नाटक ठानिन् तर छोरीको ज्यान गयो

 मंसिर २०, २०७५ बिहिबार २०:३:८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा –  घरको कामकाजको विषयमा विवाद हुँदा जनकपुरमा आमाले छोरीको हत्या गरेको रहस्य खुलेको छ । 

जनकपुर उपमहानगरपालिका –२४, सोनापाडा बस्ने ४० वर्षकी आमा राजकुमारी मण्डलले आफ्नी छोरी १६ वर्षकी छोरी सोनी  मण्डलको हत्या गरेको रहस्य खुलेको हो । घटनापश्चात प्रहरीले आमा राजकुमारीसहित चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार घटनाको रहस्य सार्वजनिक गरेको छ ।

यसरी गयाे साेनीकाे ज्यान
 
घटना मंसिर १२ गते गत बुधबारको हो । फर्निचर व्यवसाय गर्दै आइरहेका रामवरण मण्डलकी छोरी सोनी आफ्नै घरमा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालयले सोनीको शव बरामद गरेपछि अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा कक्षा ८ मा अध्ययनरत सोनीले घरको काममा त्यति सहयोग नगरेको विषयलाई लिएर आमासँग पटक–पटक विवाद हुुँदै आएको देखिएको छ । जसको कारण सोनीले छुट्टै खाना पकाएर खाने गरेकी थिइन् । खाना पकाउने विषयमा गएको बुधबार दिउँसो ४ बजे आमाछोरीको बीचमा विवाद भएको थियो । 

झगडाकै क्रममा छोरी सोनीले ढोकामा लगाउने आग्लो (बिलैया) ले प्रहार गरी आमाको घाँटीसमेत थिचेकी थिइन् । आमा राजकुमारीले प्रतिकारको क्रममा छोरी सोनीको घाँटी थिचेकी थिइन् । जसको क्रममा केही बेरमा सोनी बेहोस भएर भूइँमा ढलिन् । यसअघि पनि झगडा हुँदा बेहोस हुने नाटक गर्ने गरेकोले यसपटक पनि नाटक गरेको आमा राजकुमारीलाई लागेको थियो । तर पछि हेर्दा छोरी सोनीको मृत्यु भइसकेको आमा राजकुमारीले थाहा पाइन् । 

त्यसपछि मृत्यु भएकी छोरी सोनीलाई अमा राजकुमारीले अन्य दुईजना छिमेकी महिलाको सहयोगमा खाटमा राख्न लगाएको बयान प्रहरीसमक्ष दिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया