सभामुख र उपसभामुखको विषयमा संसदमा भनाभन

 जेठ ३०, २०७५ बुधबार १४:२०:१९ | उज्यालो सहकर्मी

काठमाडौं – सभामुख र उपसभामुख पदबारे प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच भनाभन भएको छ । 

बुधबारको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेत बालकृष्ण खाँडले संविधान अनुसार सभामुख र उपसभामुख भिन्न दलबाट चयन हुनुपर्ने प्रावधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएपछि बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच भनाभन सुरु भएको हो । 

सांसद खाँडले बोल्दै गर्दा सत्तापक्षका सांसद खगराज अधिकारीले नियमापत्ति गर्दै सभामुख र उपसभामुखको हैसियत दल विशेषको नभई स्वतन्त्र भएको दावी गर्नुभयो । उहाँले सभामुख र उपसभामुख चुनावपश्चात नै स्वतन्त्र हैसियतमा रहेको पद भएकाले दलीय बाँडफाँडको कुराको औचित्यहीन भएको बताउनुभयो । लगत्तै प्रतिवाद गर्न र्माक समाई उभिएका कांग्रेसका सांसद देवप्रकाश तिमिल्सिनालाई भने सभामुखले समय दिनुभएन । त्यसपछि कांग्रेसकी पार्वता डिसी चौधरी, अतहर कमाल मुसलमान , भरत शाहलगायतले संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्न रोष्टम पुगेका सांसद अतहर कमाल मुसलमानले संविधान कार्यान्वयको सुरुवात सदनबाट नै हुनुपर्ने भन्दै सभामुख र उपसभामुख पदको सवालमा कांग्रेसका प्रमुख सचेतकले बोल्दै गर्दा  सत्ता पक्षबाट सांसहरुबीचमा भनाभन हुने अवस्था सिर्जना हुनु गलत भएको बताउनुभयो । उहाँले यस्तै हुने हो भने भोलिका दिनमा सदन सञ्चालन हुन पनि अप्ठ्यारो हुनेतर्फ सचेत गराउनुभयो । आफूहरुले उठाएको सवाल पद प्राप्तीको विषय नभई न्याय र सिद्धान्त तथा संविधान कार्यान्वयनको विषय भएकाले गम्भीरतापूर्वक ग्रहण गर्न सत्तापक्षको ध्यानाकर्षण गराउदै आवश्यक पहल गर्न सभामुखलाई आग्रह गर्नुभयो । उहाँले आफूले बनाएको नियमलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो ।

त्यसैगरी सांसद भरतकुमार शाहले उत्कृष्ट प्रजातान्त्रिक देशमा पनि सभामुख र उपसभामुख भिन्न दललाई दिने चलन रहेको भन्दै प्रजातान्त्रिक पद्धति अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै सांसद प्रकाश रसाइलीले सभामुख र उपसभामुख संविधानले गरेको व्यवस्था अनुसार गर्नुपर्छ भन्दा सांसदहरुप्रति आरोप–प्रत्यारोप हुने अवस्था सिर्जना हुनुले राम्रो सन्देश नजाने भन्दै कानुन र संविधानमा उल्लेख भएको प्रावधान कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘संविधान मैले नै बनाएको भन्ने केही नेताहरुले बाहिर गएर प्रतिक्रिया दिनु आपत्तिजनक कुरा हो ।  एउटा पदका लागि नेपाली कांग्रेस पार्टी मरिहत्य गर्ने पार्टी होइन । कुरा कानुन र संविधानको हो ।’

सांसद पार्वता डिसी चौधरीले सभामुख भन्दा विधि र पद्धति अनुसार चल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद देवप्रकाश तिमिल्सिनाले संविधान कार्यान्वयन गर्नुपर्छ भन्दा सत्तापक्षका सांसदले विरोध गरेकोमा आपत्ति जनाउँदै संविधानको अक्षरसः कार्यान्वयन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया