मध्यरातमा निकुञ्जको हात्ती बजारमा, एक घर भत्कायो

 मंसिर २१, २०७५ शुक्रबार ७:३५:५० | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको जंगली हात्ती बिहीबार राति ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको सिंहवाहिनी खेल मैदान नजिकको बस्तीमा प्रवेश गरेर आतंक मच्चाएको छ । 

जंगली हात्तीले ठाकुरबाबा नगरपालिका १ सिंहवाहिनीका ठग्गा थारुको घर भत्काएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । 

जंगली हात्तीले ठग्गा थारुको घरको भित्ता भत्काएर घरभित्र रहेको झण्डै ५० किलो चामल, ५० किलो मकै र धान खानुका साथै खेतबारीमा रहेको तरकारीबालीमा समेत क्षती पुर्याएको स्थानियवासीले जनाएका छन् । हात्तीले घर भत्काइरहेको अवस्थामा घरभित्रै सुतेकाहरु भने सकुशल भाग्न सफल भएको स्थानीयले जानकारी दिएका छन् । 

यसैगरी निकुञ्ज भित्रबाट आएको जंगली हात्तीले नयाँ बसपार्कका स्थानीय रणबहादुर रावतको घर नजिक रहेको केरा समेत नष्ट गरेको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । 

बिहिबार राति झण्डै साढे ८ बजेतिर भुरिगाउँ बजारको नयाँ बसपार्क क्षेत्रमा बर्दिया निकुञ्जका जंगली हात्ती प्रवेश गरेपछि निकुञ्जका कर्मचारी, निकुञ्ज सुरक्षार्थ शिव दल गणका नेपाली सेना, इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी र स्थानियबासीले हात्ती धपाउन प्रयास गरेका थिए ।

हात्ती धपाउन आएको निकुञ्जको टोली र नेपाली सेनाले हात्ती धपाए पनि धेरै बेरसम्म हात्ती नभागेकोले आतंक मच्चिएको निकुञ्जले जनाएको छ । 

यस्तै, कर्मलाको मयूरबस्ती गाउँ क्षेत्रमा पनि मध्यराति जंगली हात्ती प्रवेश गरी दुःख दिएको छ । झण्डै राति २ बजेसम्मको होहल्लापछि जंगली हात्ती निकुञ्ज भित्र पसेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया