सीता-राम विवाह पञ्चमी महोत्सव सुरु : भारतबाट मुख्यमन्त्री योगीसहित साधुसन्त हात्ती, घोडामा आउने

 मंसिर २१, २०७५ शुक्रबार १६:५१:१० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा धुमधामसँग मनाइले सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सव शुक्रबारबाट विधिवत रुपमा शुरु भएको छ ।

त्रेता युगमा जनकपुरमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसँग रामजानकी विवाह पञ्चमी महोत्सव मनाइन्छ ।

विवाह पञ्चमीको पहिलो दिन शुक्रबार जनकपुर नगर दर्शन रहेको छ । नगर दर्शनमा राम र लक्ष्मणको प्रतिकको रुपमा एकजोडा बालबालिकालाई जनकपुरको विभिन्न भाग घुमाइन्छ । नगर दर्शन हेर्न भीड लाग्ने दर्शनार्थीहरुले राम लक्ष्मणलाई फूल छर्केर स्वागत गर्ने परम्परा रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले बताउनुभयो ।

त्यस्तै सप्ताहव्यापी विवाह पञ्चमीको दोश्रो दिन आर्थात शनिबार फूलबारी लीला, तेस्रो दिन मंसिर २३ गते धनुष यज्ञ, चौथो दिन मंसिर २४ गते तीलकोत्सव, पाँचौ दिन मंसिर २५ गते मटकोर र छैठो दिन मंसिर २६ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन मंसिर २७ गते रामकलेवा गरी जन्तीको बिदाई गरेपछि विवाह पञ्चमी महोत्सवको विधिवत समापन हुने गर्दछ ।

यस वर्ष विवाह पञ्चमी महोत्सवको मुख्य दिन मंसिर २६ गते भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीसहति आउने भएकाले विशेष चहलपहल छ । यसपटक अयोध्याबाट साधुसन्तहरु हात्ती, घोडा र उँट चढेर जन्ती आउने कार्यक्रम समेत रहेको सह महन्त बैष्णवले जानकारी दिनुभयो ।

मुख्यमन्त्री योगी समेत जन्ती आउने भएकाले अन्य वर्षको तुलनामा यसपटक विवाह पञ्चमी महोत्सव धुमधामसँग मनाउन एक महिना अघिदेखि नै जानकी मन्दिर व्यवस्थापन पक्ष, प्रदेश २ सरकारलगायत सम्बन्धित निकाय तयारीमा जुटेका छन् ।

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन श्रद्धालुभक्तजन एवं दर्शनार्थीहरु एकसाता अघिदेखि नै जनकपुर आउने क्रम जारी रहेको छ ।   
 
 
 

अन्तिम अपडेट: चैत ९, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया