अलैँचीको मूल्य घट्दा किसान निराश

 मंसिर २१, २०७५ शुक्रबार १९:६:३७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – बेसीशहर नगरपालिका–१०, खाँचेका सोमबहादुर तामाङ २ वर्ष मलेसिया बस्नुभयो । पैसा कमाउनकै लागि उहाँ मलेसिया जानुभएको थियो ।

‘श्रम–पसिना परदेशको मरुभूमीमा होइन, देशकै पाखापखेरीमा चुहाउनुपर्छ’ भन्दै उहाँ गाउँ फर्किनुभयो र अलैँची खेतीको थालनी गर्नुभयो । सोमले नै खाँचेमा सबैभन्दा पहिले व्यावसायिक रुपमा अलैँची खेतीको थालनी गर्नुभएको हो ।

अहिले उहाँले ३५ रोपनी जग्गामा अलैँची लगाउनुभएको छ । उहाँले रामशाही, गोलशाही र भर्लाङ्गे जातको अलैँची लगाउनुभएको हो ।       

मूल्य घट्दा किसान निराश   

अलैँची खेतीमा लाग्दै गर्दा विगतका वर्षहरुमा अलैँची बिक्रीबाट राम्रो पैसा हात पार्नुभएको थियो, सोमबहादुरले । गाउँमै बसी अलैँची बिक्रीबाट राम्रो कमाई हुँदा उहाँ खुशी नै हुनुहुन्थ्यो ।

तर पछिल्ला केही वर्षमा अलैँचीको मूल्य घटेपछि उहाँ निरास हुनुहुन्छ । ‘पहिले अलैँचीको राम्रै मूल्य पाइएको थियो । तर पछिल्ला वर्षमा अलैँचीको मूल्य घट्दो छ । यसले किसानमा निराशा छाएको छ,’ उहाँले भन्नुभयो ।

कुनै वर्षमा प्रतिकेजी २२ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्म अलैँची बेच्नुभएका तामाङले अहिले प्रतिकेजी ७ सय ५० रुपैयाँमै अलैँची बेच्नुभएको छ । उहाँका अनुसार किसानले गएको वर्ष प्रतिकेजी ६ सय ५० रुपैयाँमा अलैँची बेचेका थिए ।   

विगतमा राम्रो मूल्य पाउँदा अलैँची बिक्रीबाट वार्षिक ५ देखि १० लाखसम्म आम्दानी गर्न सफल किसान तामाङले अलैँचीको मूल्य घट्दा वर्षमा २ देखि ३ लाख कमाई हुन पनि धौंधौं हुने गरेको बताउनुभयो । 

उहाँले ४० रोपनी जग्गामा अलैँची लगाउनुभएको छ । ‘यो वर्ष झण्डै ३५ क्वीन्टल अलैँची उत्पादन भएको छ । तर मूल्य घटेको छ । अहिलेको बजार भाउमा अलैँची बेच्ने हो भने लगानी उठाउन पनि धौंधौ छ,’ उहाँले भन्नुभयो । 

उत्पादित अलैँचीको मूल्य घट्दा किसानमा निराशा छाएको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङ बताउनुहुन्छ । उहाँका अनुसार अलैँचीले राम्रो मूल्य पाउँदा जिल्लामा अलैँची बिक्रीबाट वार्षिक १३ देखी १४ करोडसम्म भित्रिएको थियो । अलैँचीको मूल्य घट्दा पनि जिल्लामा वार्षिक ६ देखि ७ करोड रुपैयाँसम्म भित्रिएको छ ।   

‘किसानले अहिले पनि प्रतिकेजी ७ सय ५० रुपैयाँमा अलैँची बेचिरहेका छन् । गुणस्तरीय अलैँची उत्पादनमा किसानले जोड दिनुपर्छ । अलैँचीले राम्रो बजार र मूल्य पाउने नै छ । मूल्य घट्यो भन्दैमा अहिल्यै किसान आत्तिहाल्नुपर्ने अवस्था भने छैन,’ उहाँले थप्नुभयो ।   

पछिल्लो समय छिनखोला, खुदी, लुँदी, पसगाउँ, घाम्राङ, खिम्चोक लगायतका ठाउँका किसानले अलैँचीको गुणस्तर सुधारमा जोड दिएका छन् । 

भारतको बजारमा निर्भर !   

अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित अलैँचीको माग भएको खण्डमा अलैँचीले राम्रो मूल्य पाउने उहाँ बताउनुहुन्छ । 

नेपालमा उत्पादित अलैँचीको मूल्य भारतको बजारले निर्धारण गर्ने उहाँको भनाई छ । यहाँ उत्पादित अलैँची झापा बिर्तामोड हुँदै भारत पुग्छ । भारत हुँदै नेपालको अलैँची अन्य तेश्रो देश पुग्छ । 

‘अन्तर्राष्ट्रिय बजारमा नेपालको अलैँचीको माग बढेमा हाम्रो अलैँचीले राम्रो मूल्य पाउँछ । त्यसैले किसानले गुणस्तरीय अलैँची उत्पादनमा जोड दिनुपर्छ,’ उहाँले भन्नुभयो ।   

उहाँका अनुसार गएको वर्ष जिल्लामा ७ सय २१ क्वीन्टल अलैँची उत्पादन भएको थियो । यसवर्ष झण्डै ९ सय क्वीन्टल अलैँची उत्पादन हुनसक्ने उहाँको अनुमान छ । अहिले जिल्लामा ४ सय क्वीन्टल अलैँची बिक्री भईसकेको छ । 

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई, अलैँची जोन कार्यक्रम सञ्चालनमा छ । अलैँची जोन कार्यक्रम लमजुङका प्रमुख वरिष्ठ कृषि अधिकृत गोविन्दराज कोइरालाका अनुसार जिल्लाको दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, क्वहोलासोथर गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिका गरी ५ स्थानीय तहमा अलैँची जोन कार्यक्रम सञ्चालन भएको छ ।

यसले जिल्लामा अलैँची विस्तार र गुणस्तरका क्षेत्रमा काम गर्दै आएको छ ।     
 

अन्तिम अपडेट: चैत १३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया