चाउचाउको प्रलोभन देखाउँदै रुमालले मुख थुनिदिएर ५ वर्षीया बालिकाको बलात्कार

 मंसिर २२, २०७५ शनिबार १२:३५:३० | भवानीप्रसाद पाण्डे

रुपन्देही –  रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको देवदह –७, का १८ वर्षीय जीवन खत्रीमाथि अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेका अन्य चार जनालाई छोडिने इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।

पक्राउ परेका अन्य चार जना युवाहरुको बयानका आधारमा भाग्दै गरेका जीवन खत्रीलाई नवलपरासीको दाउन्नेबाट प्रहरीले पक्राउ गरेको थियो । पीडित बालिकाका आफन्तले खत्रीविरुद्धमा किटानी जाहेरी दिएको र पक्राउ परेका अन्य चार जनाले पनि खत्रीले नै बालिकाको बलात्कार गरेको भन्ने बयान दिएका कारण खत्रीमाथिको अनुसन्धानलाई अगाडि बढाइने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले बताउनुभयो ।

बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएको बेला बलात्कारमा परेको आफन्तले जनाएका छन् । घरमा रहेकी ती बालिकालाई जीवनले चाउचाउ दिन्छु भनी फकाएर अलि पर लगेर रुमालले मुख थुनिदिएर बलात्कार गरेको प्रहरीले बताएको छ । घटनास्थल र बालिकाको घर १०० मिटरको दूरीमा रहेको छ ।

बालिका घरमा नआएपछि हजुरबुवा र हजुरआमाले खोज्दै जाँदा घरबाट केही पर ती बालिकालाई घाइते अवस्थामा भेटाएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । बालिका फेला पर्दा उनको गुप्ताङ्गबाट रक्तश्राव भइरहेको देखिएपछि उपचारको लागि बुटवलमा रहेको लुुम्बिनी अञ्चल अस्पताल बुटवल ल्याइएको थियो ।

बालिका अहिले बोल्न सक्ने अवस्थामा रहेको र ती बालिकाले पनि जीवनले नै बलात्कार गरेको बताएकी छन् । देवदह नगरपालिकाका मेयर हिरा केसीले दोषी उपर कडा कारबाही हुनुपर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया