देश निर्माणमा इन्जिनियरको भूमिका महत्वपूर्ण: प्रम ओली

 मंसिर २२, २०७५ शनिबार १४:३६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो विचार व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले इन्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनीयता बढाउनु पर्नेमा जोड दिनुभएको छ । उहाँले सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको बताउनुभएको छ । 

‘तपाईंहरुको पोगत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । 

राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो,’प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘यसमा सरकार प्रतिवद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ ।’

प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भु बहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागहरुसहितको ज्ञापन पत्र बुझाएको छ ।
प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको बताउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया