थाइ दूतावासको सहयोगमा लुम्बिनीमा निःशुल्क आँखा शिविर

 मंसिर २२, २०७५ शनिबार १९:५०:१२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – लुम्बिनीमा थाइल्याण्ड राजदूतावासको सहयोगमा निःशुल्क मोतिया बिन्दुको ३ दिने अपरेशन शिविर सञ्चालन भएको छ ।

तिलगंगा आँखा अस्पताल काठमाडौंका वरिष्ठ नेत्र विशेषज्ञ डा. रोहितको नेतृत्वको विशेषज्ञ टोलीले लुम्बिनीको थाई बिहारमा तीन दिनसम्म निःशुल्क रुपमा मोतियाबिन्दुको अपरेशन गरेको हो । तिलगंगा आँखा अस्पतालकै सबै मापदण्ड अनुसारको सेवा आँखा रोगीहरुलाई प्रदान गरिएको वरिष्ठ नेत्र विशेषज्ञ डा. रोहितले बताउनुभयो ।

अपरेशनमा यसवर्ष ७ सय जना बिरामीहरुको निःशुल्क अपरेशन गरिएको छ । भैरहवा, काठमाडौंलगायतका स्थानमा रहेका आँखा अस्पतालमा गएर रकम तिरेर आँखा अपरेशन गर्न नसक्ने बिरामीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको तिलगंगा आँखा अस्पताल काठमाडौंका आउट रिच प्रबन्धक खेम गुरुङले बताउनुभयो ।

मोतिया बिन्दु अपरेशनका लागि भैरहवा, काठमाडौंलगायत शहरका आँखा अस्पताल पुगी व्यक्तिगत खर्च गर्न नसक्ने आँखाका रोगीहरुलाई यो शिविरले निकै सहयोग पुगेको छ ।

लुम्बिनीमा रहेको थाई बिहारले प्रत्येक वर्ष गर्दै आएको यो शिविर नवौं वर्ष पनि निरन्तरता पाएको छ । लुम्बिनी वरपरका विपन्न समुदायका लागि लक्षित गरी शुरु गरिएको यो शिविरबाट सर्वसाधारणले निकै फाइदा पाएको लुम्बिनी स्थित थाई बिहारका प्रमुख भिक्षु सुपतले बताउनुभयो । 

तौलिहवा, रामग्राम र लुम्बिनीमा आखाँ परीक्षण गरी अपरेशन गर्नु पर्ने आँखाका रोगीहरुलाई लुम्बिनीमा रहेको थाई बिहारमा ल्याई निःशुल्क अपरेशन गरिएको हो । आँखा शिविरको अवलोकनमा नेपालका लागि थाईल्याण्डका राजदूत भकबत तांसकुल समेत पुग्नु भएको थियो । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया