म्यानचेस्टर सिटीकाे अपराजित यात्रामा लाग्याे 'ब्रेक', चेल्सीसँग हार्‍याे

 मंसिर २३, २०७५ आइतबार ७:१६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पराजित भएको छ । चेल्सीसँग २–० ले पराजित भएपछि म्यानचेस्टर सिटीको यो सिजनको अपराजित यात्रा तोडिएको छ ।

अघिल्लो खेलमा कमजोर टोली उल्भरह्याम्टनसँग पराजित भएको चेल्सीले शनिबार राति भएको खेलमा उत्कृष्ट जित निकाल्यो । चेल्सीको यो जितले म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्ण विराम लाग्यो । चेल्सीलाई जित दिलाउनका लागि एंगोलो कान्टे र डेविड लुइजले एक एक गोल गरेका थिए । दुबै गोलका लागि एडिन हाजार्डले एसिस्ट गरेका थिए ।

पहिलो हाफमा म्यान्चेष्टर सिटीले केही राम्रा अवसर पाएको थियो । तर सबै प्रयास चेल्सी गोलकिपर केपा अरिजाबालागा र डिफेन्डरले विफल बनाए । स्ट्याम्फर्ड ब्रिजमा भएको खेलको ४५औं मिनेटमा इडिन हाजार्डको क्रसमा कान्टेले पेनाल्टी स्पट नजिकैबाट गोल गर्दै चेल्सीलाई पहिलो हाफअघि १–० को अग्रता दिलाए ।

दोस्रो हाफमा चेल्सीले म्यान्चेष्टर सिटीलाई दबाबमा राख्न सफल भयो । विलियनको एउटा उत्कृष्ट फ्रिकिक म्यान्चेष्टर सिटीका गोलकिपर इडर्सन मोरेजले बचाएका थिए । त्यसपछि फेरी विलियनको ग्रास बललाई गोलकिपरले विफल बनाइदिए । ७८औं मिनेटमा इडिन हाजार्डले प्रहार गरेको कर्नरमा डेविड लुइजले हेड गर्दै गोलमा परिणत गरेपछि चेल्सीले २–० को अग्रता लियो ।

म्यानचेस्टर सिटीले भने एक गोल पनि फर्काउन सकेन । यो पराजयपछि म्यानचेस्टर सिटी प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा झरेको छ । उसको ४१ अंक छ भने बर्नमाउथलाई हराएको लिभरपुल ४२ अंकसहित पहिलाे स्थानमा छ । चेल्सी ३४ अंक सहित चौथो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया