कर्णाली प्रदेशले २३ अर्बको बजेट ल्याउने

 जेठ ३०, २०७५ बुधबार १९:८:२९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी वर्षका लागि २३ अर्ब बराबरको बजेट ल्याउने भएको छ  । 

प्रदेश सरकारले असार एक गते ल्याउने आर्थिक वर्ष २०७५/७६ का लागि २३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो । 

प्रदेश सरकारले प्रादेशिक गौरवसहित महत्वपूर्ण योजनाहरुमा बजेट विनियोजन गर्ने गरी बजेट ल्याउन लागेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । 

केन्द्रीय सरकारले कर्णाली प्रदेशलाई पठाउने  सशर्त अनुदान र प्रदेश आफैले राजश्व संकलन गर्ने लक्ष्यका साथ बजेटको तयारी गरेको उहाँले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा अहिले राजश्व संकलनको अवस्था कमजोर रहेकोले आन्तरिक आय स्रोत झण्डै ५० करोडको मात्र अनुमान गरेको छ । 

संघीय सरकारले प्रदेश सरकारलाई दिने वित्तीय समानिकरण अनुदान ९ अर्ब १३ करोड, राजश्व बाँडफाँडबाट प्राप्त करिब ५ अर्ब ५१ करोड र सशर्त अनुदानबाट ६ अर्ब ६१ करोड र प्रदेशको आन्तरिक स्रोतबाट करिब ५० करोड र चालु आर्थिक वर्षको बाँकी  करिब ५० करोड बजेट गरी करिब २३ अर्बको बजेट ल्याउने तयारी गरेको हो । 

आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले प्रदेश सरकारले बजेट छर्ने प्रवृत्ति, अनुदान शीर्षक र स–साना रकम छुट्टाउने प्रवृत्तिलाई निरुसाहित गरी महत्वपूर्ण योजनाहरुमा बजेट केन्द्रित हुने बताउनुभयो । ‘आगामी वर्षको बजेट कर्णाली प्रदेशका प्रत्येक स्थानीय तह, निर्वाचन क्षेत्रमा राम्रो देखिने निश्चित महत्वपूर्ण योजना र जनताको उत्पादन र रोजगारी केन्द्रित हुन्छ’, मन्त्री ज्वालाले भन्नुभयो, ‘बजेट विकास निर्माणका कामहरुमा बढी भन्दा बढी खर्च गरी पूँजीगत खर्च बढाउने र थोरै बजेटबाट उपलब्धि हासिल गर्न लाग्छौँ ।’ 

उहाँले प्रदेशमा आफ्नै संरचना गराएर बजेट कार्यान्वयन गर्ने पनि बताउनुभयो । ‘प्रदेशका आफ्नै संरचना गराउन लागिपरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘यो बजेट हामीले प्रदेशको आफ्नै संरचना बनाएर खर्च गर्छाैँ ।’  मन्त्री ज्वालाले अबदेखि असार लागिसकेपछि विकासका नाममा गरिने खर्च बन्द गर्ने बताउनुभयो । उहाँले अब असारे विकास खर्च बन्द गरी  दसैँतिहार सकिएलगत्तै बजेट कार्यान्वयनमा जोड दिने बताउनुभयो । कात्तिकदेखि जेठ महिनासम्म बजेट कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । 

मन्त्री ज्वालाले कर्णाली  हिजोका दिनमा उपेक्षित भएकाले अब त्यो स्वीकार्ने नहुने भन्दै केन्द्र सरकारसँग आगामी दिनहरुमा धेरै भन्दा धेरै बजेट ल्याउने प्रयास गर्ने उहाँले बताउनुभयो । ‘कर्णालीले जसरी हिजो पीडा भोगेको थियो, उपेक्षित भएको थियो । अब हामीलाई त्यो स्वीकार्य छैन् । संघीय सरकारसँग हामीले आगामी दिनमा धेरै बजेट ल्याउने प्रयास गछौँ । अहिले जति बजेट छ त्यसबाट परिणाम ल्याउने गरी काम गछौँ’, मन्त्री ज्वालाले भन्नुभयो ।  
 

अन्तिम अपडेट: चैत ४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया