नक्कली रिपोर्ट बनाएर जिल्ला जनस्वास्थ्य कार्यालयले ३० लाख रकम भुक्तानी दिएको खुलासा

 मंसिर २३, २०७५ आइतबार १२:१४:२ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – जिल्ला जनस्वास्थ्य कार्यालयले नक्कली रिपोर्ट बनाएर ठेकेदार कम्पनीलाई ३० लाख रुपैयाँ भुक्तानी दिएको खुलासा भएको छ । 

कार्यालयले गएको आर्थिक वर्षमा गरेको टेन्डर अनुसारको औषधि ठेकेदार कम्पनीले आपूर्ति नगरे पनि फर्जी दाखिला रिपोर्ट बनाएर भुक्तानी दिएको खुलासा भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन यादव, स्टोरकिपर राजकुमार महतो र तत्कालीन लेखापाल बब्लुकुमार अग्रहरीको मिलेमतोमा आपूर्ति नै नभएको औषधिको पनि भुक्तानी दिइएको हो । 

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ठेकेदारले कबोल गरेअनुसारको सामान आपूर्ति नगरेको अवस्थामा पूरा भुक्तानी दिइनु अख्तियारको ठाडो दुरुपयोग भएको बताउनुभयो  । जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरण गर्न जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले आर्थिक वर्ष ०७४/७५ मा ३० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार कार्यालयले औषधि खरिदका लागि स्थानीय एक दैनिक पत्रिकामा ०७५ साल जेठ २२ गते टेन्डरको सूचना प्रकाशित गरेको थियो ।

औषधि खरिदका लागि इटहरीको जनआशीर्वाद फार्मेसी, राजविराजको अबि फर्मा र अभिषेक फार्मेसीले टेन्डर भरेकामा जनआशीर्वादको स्वीकृत भएको थियो । त्यसपछि ०७५ असार १२ मा जिल्ला जनस्वास्थ्य र जनआशीर्वाद फार्मेसीबीच सम्झौता भएको थियो । त्यसअनुसार सम्झौता भएको मितिले ७ दिनभित्र टेन्डरमा उल्लिखित २७ प्रकारका आपूर्ति गर्नुपर्ने थियो । तर तोकिएको म्यादभन्दा ५ महिना बितिसक्दा पनि कबोल गरिए अनुसारको औषधि आपूर्ति गरिएको छैन । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका स्टोरकिपर राजकुमार महतोले औषधि खरिदको टेन्डर कबोल गरेको कम्पनीले पूरा परिमाणको औषधि अझै पनि नबुझाएको जानकारी दिनुभयो  ।

‘कुल २७ प्रकारका औषधि जुन परिमाणमा कबोल गरिएको थियो, अझै आपूर्ति गरेको छैन,’ महतोले भन्नुभयो । उहाँका अनुसार ११ हजार ४ सय प्याकेट ‘ओआरएस’ दिइनुपर्नेमा अझै पनि ६ हजार प्याकेट आपूर्ति भएको छैन । त्यसैगरी मेट्रोनिडाजोल ४०० एमजीको १ लाख १४ हजार ट्याब्लेट कबोल गरिएकामा अझै पनि २ हजार ट्याब्लेट आपूर्ति भएको छैन । रयानीटिडिन १ लाख १४ हजार ट्याब्लेटमा १३ हजार ट्याब्लेट आएको छैन ।

यस्तै कबोल गरिएका स्प्रीट २ सय ४० बोतल र इन्जेक्सन डाइलोना ५ सय एम्पुल पनि जनस्वास्थ्य आएको छैन । यसका अतिरिक्त इन्जेक्सन एट्रोपिन २ सय एम्पुल खरिद गर्नुपर्ने टेन्डरमा देखिए पनि आपूर्ति शून्य छ । टेन्डरमा कबोल गरिएका अन्य केही औषधि पनि अझै आएका छैन । तर कम्पनीले औषधि नबुझाए पनि जिल्ला जनस्वास्थ्य कार्यालयले टेन्डरमा उल्लेख भएअनुसारको ३० लाख रुपैयाँ गएको असारमै भुक्तानी दिएको खुलेको छ । तर जनस्वास्थ्यले औषधि आपूर्ति नहुँदै ०७५ साल असार २९ गते जनआशीर्वाद फार्मेसीलाई ३० लाख रुपैयाँ भुक्तानी दिएको छ ।

जनस्वास्थ्य कार्यालयका तत्कालीन लेखापाल बब्लुकुमार अग्रहरीले स्टोर फाँटबाट आफूसमक्ष दाखिलाको पूर्ण रिपोर्ट आएकाले भुक्तानी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘टेन्डरमा कबोल भएअनुसारको २७ प्रकारको औषधि कबोल गरिएअनुसारको परिमाणमा आपूर्ति भएको दाखिला रिपोर्ट आएपछि मात्र मैले भुक्तानी दिएको हुँ ।’ दाखिला रिपोर्टमा सबै औषधि दाखिला भइसकेको भनेर स्टोरकिपर राजकुमार महतोले हस्ताक्षर गरेका छन् भने कार्यालय प्रमुख निरञ्जन यादवले प्रमाणित गरेका छन्  ।

स्टोरकिपर महतोले आफूले कार्यालय प्रमुखको आदेशमा फर्जी दाखिला रिपोर्ट बनाएको बताउनुभयो । उहाँले, ‘टेन्डरमा कबोल भएअनुसारका र परिमाणमा अझै पनि औषधि आपूर्ति हुन सकेका छैनन्, हाकिमसाबको आदेशमा मैले सबै औषधि आपूर्ति भएको दाखिला रिपोर्ट बनाएँ, मैले कुनै प्रलोभन लिएको छैन, व्यावहारिक रूपमा भुक्तानीमा मात्र सहयोग गरिदिएको हुँ ।’

यता जनस्वास्थ्य प्रमुख यादवले औषधिहरू कबोल गरिएको परिमाणअनुसार आपूर्ति नभएको स्वीकार गर्नुहुँदै ‘केही अझै आपूर्ति भइसकेका छैन,’ उहाँले भन्नुभयोे टेन्डर अनुसारको औषधि आपूर्ति नहुँदै पूरा भुक्तानी दिइएको पनि स्वीकार गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया