यस्ता पनि सुधारगृह : पैसा लुट्नेदेखि हस्तमैथुन गराउनेसम्म !

 मंसिर २३, २०७५ आइतबार १४:५:० | नवराज फुयाँल
unn.prixa.net

उनको पढाई हो, शल्य चिकित्सक (सर्जन) । धेरै लामो समय पनि भएको छैन, पढाई सकेको । उज्वल भविष्यको कल्पना गर्दै पढाई सकेर एउटा अस्पतालमा प्रशिक्षण चल्दै थियो । बिस्तारै जिन्दगीको गोरेटोले फड्को मार्ने जमर्को के गरेको थियो, अचानक त्यो जिन्दगीको बाटो नै ‘यूटर्न’ हुन पुग्यो ।

अध्ययनकै क्रममा हो उनले हल्का मदिरा (बियर) खान सिकेको । साथीहरुकै संगत र पारिवारिक तनाव बढ्दै जाँदा मदिरा (बियर) सेवनबाट सुरु भएको ड्रग्स यात्रा पढाइ सकेर प्रशिक्षणमा पुग्दासम्म त लत कै रुपमा देखिन थाल्यो ।  

ड्रग्स सेवन लतकै रुपमा हुन लागे पनि अध्ययनलाई भने प्रभाव परेको थिएन । परिवार पनि खुसी नै थियो । शल्य चिकित्सक भइसकेकोलाई ड्रग्सको सेवन र त्यसले पुर्याउने आर्थिक, सामाजिक तथा स्वास्थमा देखिने प्रभावका बारेमा कसैले सिकाइ रहनु जरुरी नै थिएन । 

चुरोट, खैनी, सुर्ती, मदिरादेखि कुनै पनि नशालु पदार्थ सेवन गर्नु हुन्न भन्दै समाजमा चेतना फैलाउने श्रेय नै चिकित्सकलाई जान्छ । तर चिकित्सक नै यस्तो नशा (ड्रग्स) को लतमा फस्न पुग्दा कसले सम्झाउने ? चाहे पारिवारिक तनावले होस, चाहे कुनै पनि सम्बन्ध बिग्रेपछिको अवस्थाले होस् । चाहे जे सुकै होस्, जानकार हुँदाहुँदै नशा (ड्रग्स) को लतमा फस्नेलाई त्यसबाट छुटकारा दिलाउन जति नै अर्ति दिए पनि के छुन्थ्याे र !

शल्य चिकित्सकको अध्ययन सकेर काम गर्दै गरेको छोरो कुलतमा रहेको र त्यसको लत नै लागेको थाहा पाएपछि परिवारमा कति तनाव भयो होला ? कल्पना पनि गर्न सकिन्न । समस्या त हरेक मोडमा आइ नै रहन्छ । अब छोरोलाई जसरी भए पनि कुलतबाट छुटकारा दिलाउने खोजी सुरु हुन्छ । 

अन्ततः परिवार शल्य चिकित्सक (सर्जन) भइसकेको छोरोलाई ड्रग्सको लत छुटाउन रिह्याब (पुनर्स्थापना) सेन्टरमा राख्ने निर्णयमा पुग्छ । लागू औषधको दुर्व्यसनमा परेकाहरुलाई सुधार गरेर सामान्य जीवन यापनमा फर्काउने मुख्य उद्धेश्य रिह्याब सेन्टर (पुनर्स्थापना) को हो भन्ने सुनेका हुन्छन् परिवारले । केही समयअघि मात्रै पनि गाउँकै एक जना युवकलाई एक वर्षसम्म रिह्याब सेन्टरमा राखेर निकालेपछि उसको बानी सुधार भएको देखेका थिए उनीहरुले ।

लाखौँ खर्च गरेर पढाएको छोरो पढाइमा राम्रै निक्ले पनि सँगसँगै नशाको लत बोकेकाले त्यसलाई फेरि सामान्य जीवनमा फर्काउनु परिवारका लागि चुनौती थियो । दुर्व्यसनबाट छुटकारा दिलाउन भनेर परिवारले धेरैतिर बुझेर काठमाडौंको सुकेधारामा रहेको ‘ट्रान्सफरमेशन नेपाल‘ नामक रिह्याव सेन्टर (पुनर्स्थापना) मा राख्छन् ।

पुनर्स्थापना केन्द्रमा राखेको १० महिनाको बीचमा परिवारले एकपटक पनि छोरोलाई भेट्न पाएन, न त छोरा ले नै परिवारका कुनै सदस्यलाइ भेट्न पायो । छोरो भेट्न भनेर गएका परिवारलाई रिह्याब संचालकले भेट्न दिंदैन थिए । सीसी क्यामेरामा कैद भएका छोराको मुहार हेरेर फर्कन बाध्य हुन्थे परिवार ।

चिकित्सकको परिवार मात्रै होइन विगत ३ वर्षदेखि त्यही सेन्टरमा सुधारका लागि भन्दै राखिएका अन्य व्यक्तिका परिवारले पनि प्रत्यक्ष भेट्न पाउँदैन थिए । लागूऔषधको दुर्व्यसनबाट छुटकारा पाएर छोरो फर्केला भनेर पर्खेका परिवार छोरोलाई रिह्याब सेन्टरले नै मानसिक र शारीरिक यातना दिएको प्रहरीबाट जानकारी पाएपछि झनै मर्माहत हुन्छन् । 

केन्द्र संचालकको चरम शारीरिक र मानसिक यातनाबाट आजित भएका (सुधारका लागि केन्द्रमा राखिएका) हरु संचालक नभएको मौका छोपेर घरको झ्याल फोरेर बाहिर निस्कन सफल हुन्छन् । ३४ जनामध्ये १३ जना त्यही दिन निस्कन सफल हुन्छन् । तिनै बाहिर निस्केका पीडितहरु अन्य साथीहरुलाई पनि बचाउनु पर्यो भन्दै प्रहरीमा पुगेपछि प्रहरीले तत्काल केन्द्रबाट २१ जनाको उद्दार गर्नुको साथै केन्द्र संचालक र एक जना सहयोगी पक्राउ गर्छ ।

उद्दार भएका र केन्द्रबाट भागेर आएकाहरुको बयान र स्थलगत विवरणले केन्द्र सञ्चालकले अमानवीय र पशुवत ब्यवहारमा यातना दिएको निष्कर्षमा प्रहरी पुग्छ । र त्यसैअनुरुप अमानवीय व्यवहार गरेको कसुरमा कारबाहीको प्रकृया प्रहरीले अगाडि बढाएको छ ।

कम छैन यातना

‘यातना कतिसम्म हुन्थ्यो भने सबैलाई नाङ्गै बनाएर हस्तमैथुन गर्न लगाउने,’ उनी सुनाउँछन्, ‘त्यस्तो गर्न नमाने प्लास्टिकको पाइपै पाइपले मरुन्जेल कुट्थे ।’ 

चिकित्सकको परिवार जस्तै ५६ वर्षीय एक बृद्धको परिवारले पनि जाँड रक्सी धेरै खाएको भन्दै लत छुटाउन वृद्धलाई रिह्याब सेन्टरमा राखेका थिए । छोरोले काठमाडौं घुम्न जाम भनेर ल्याएको र त्यतिबेलै रिह्याबमा राखिदिएको उनी बताउँछन् ।

यहाँ आउनुअघि गुल्मीमा रहेका उनी सम्झन्छन्, ‘छोरोले काठमाडौं घुम्न जाउँ भनेर ल्याएको थियो, तीन वर्षसम्म म त एउटै घरको कोठामा यातना भोग्दै घुमिरहेँ ।’ ‘यातना कतिसम्म हुन्थ्यो भने सबैलाई नाङ्गै बनाएर हस्तमैथुन गर्न लगाउने,’ उनी सुनाउँछन्, ‘त्यस्तो गर्न नमाने प्लास्टिकको पाइपै पाइपले मरुन्जेल कुट्थे ।’ 

यस्तै पीडाको अनुभव छ, ६९ वर्षीय वृद्धको पनि । उनलाई पनि जाँडरक्सी खाएर गाउँमा होहल्ला गर्ने गरेकाले परिवारले रिह्याबमा राखेको थियो । ९ महिनाअघि रिह्याबमा पुगेका उनी शुरुको दिनदेखि नै मानसिक र शारीरिक यातनाको शिकार भए ।  

दिनमा एक पटक मात्रै दिसापिसाब गर्न पाउने नियम बनाएको थियो सञ्चालकले । एक पटक भन्दा बढी दिसापिसाब आए लाखौँ बिन्ती गर्दा पनि सञ्चालकले ढोका खोलिदिंदैन थिए । सेन्टरमा बस्ने सबैलाई दिनरात कोठा थुनेरै राखिएको हुन्थ्यो ।

हैरान भएपछि कट्टुमै दिसापिसाब फुस्किए सञ्चालकले त्यसलाई मुखमा लगाइदिने गरेको यातनाले मन मस्तिष्क नै पोल्ने गरेको सुनाउँछन उनी । ‘रिह्याब छिरेदेखि आजै हो, मैले घाम देखेको,’ उनले खुइय गर्दै भने, ‘जिउँदो बाहिर निस्किन्न होला भन्ने लागेको थियो ओहो कसो बाहिर आएँ ।’ 

रिह्याब सञ्चालकले एउटा कोठामा ४/५ जनालाई बन्द गरेर राख्ने गरेका थिए । ‘दिसापिसाब गर्न दिनमा एक पटक बाथरुम निकाल्थे त्यसपछि कोठामै बन्द,’ उनले भने, ‘हाम्रो लागि त त्यो कालकोठरी नै थियो ।’

जाँडरक्सी तथा ड्रग्सबाट छुटकारा दिलाउन भन्दै काठमाडौंको सुकेधारामा सञ्चालनमा रहेको ट्रान्सफरमेसन नेपाल नामक पुनर्स्थापना केन्द्र (रिह्याब सेन्टर) बाट उद्धार गरिएका पीडितहरुले सुनाएको पीडाको पोको हो यो ।   

प्रहरीले चरम यातना दिएको र अमानवीय व्यवहार गरेको जानकारी पाएर केन्द्रमा छापा मारेर उनीहरुलाई उद्धार गरेको थियो । शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा भेटिएका उनीहरुले आफूहरुलाई यातना दिने सञ्चालकलाई कडा कारबाही गर्न माग गरिरहेका थिए ।  

साथमा परिवारका सदस्यहरु पनि उपस्थित थिए । उनीहरु पनि सञ्चालकलाई कारबाही र आफूहरुले अहिलेसम्म तिरेको शुल्क फिर्ता हुनुपर्ने भन्दै माग सार्दै थिए । 

सञ्चालक पक्राउ 

प्रहरीले अमानवीय व्यवहार गर्ने रिह्याब सेन्टर संचालक सन्तोष घिमिरे र उनका सहयोगी समिर मल्ललाई पक्राउ गरेको छ । 

घिमिरेले सञ्चालन गर्दै आएको रिह्यब सेन्टर बन्द गरेर त्यहाँ भएका २१ जनाको उद्दार गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिनुभयो । 

पक्राउ परेका दुबै जनालाई म्याद थप गरेर अमानवीय व्यवहार गरेको कसुरमा कारबाही अगाडि बढाइएको पनि उहाँले बताउनु भयो ।

मुलुकी ऐन अपराध संहिताको धारा १६८ मा अमानवीय व्यवहार गरेको कसुरमा ५ वर्ष कैद र ५० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ । उनीहरुलाई त्यही कसुरमा कारबाही अगाडि बढाइएको उहाँले बताउनुभयो ।  

पैसा लुट्ने धन्दा

‘पुनर्स्थापना केन्द्रका नाममा यो त विशुद्ध पीडा गृह रहेछ,’ ती चिकित्सक भन्छन्, ‘यहाँ त कसरी हुन्छ पैसा लुट्ने धन्दा पो हुँदो रहेछ ।’

सुधारका लागि केन्द्र पुगेका शल्य चिकित्सक रिह्याब सेन्टरको १० महिने बसाई सोचेभन्दा धेरै गुना भयंकर र पीडादायक रहेको सम्झन्छन् । चरम शरीरिक र मानसिक यातनाका कारण  कैयौंपटक अब मरिन्छ भन्ने मात्र लाग्थ्यो, त्यो काल कोठरीबाट निस्कन सक्छु जस्तो लागेको थिएन,’ उनी भन्छन्, ‘तर, अन्ततः समयले मुक्ति दिएरै छाड्यो ।’

‘पुनर्स्थापना केन्द्रका नाममा यो त विशुद्ध पीडा गृह रहेछ,’ ती चिकित्सक भन्छन्, ‘यहाँ त कसरी हुन्छ पैसा लुट्ने धन्दा पो हुँदो रहेछ ।’ अभिभावकसँग महंगो पैसा लिने र त्यहाँभित्र पुगेकालाई सकभर लामो समय राख्ने संचालकको योजना हुँदो रहेछ । यो कुनै डरलाग्दो जेल भन्दा कम नरहेको उनी बताउँछन् । 

यातनाका बारेमा केही बोले पनि झनै कुटाइ खानु पर्थ्याे । ‘तिमीहरूले जेसुकै भने पनि घरवालाले पत्याउँदैनन् भन्दै सञ्चालक घिमिरे र सहयोगी मल्ल मिलेर मरुञ्जेल कुट्थे । ‘तिमीहरूको परिवारको दश औँलाको छाप लगाएर राखेको छु,’ तिमीहरु मरे पनि मलाई केही हुँदैन भन्दै कुट्ने गरेको सम्झन्छन्, गुल्मीका ५६ वर्षीय बृद्ध ।

अझै तिमीहरूका बाबुआमा र अभिभावकले वास्ता नगरेर यहाँ मर्न पठाएको तिमीहरूलाई, माया गर्ने भए यहाँ पठाउँथे र ? भनेर उल्टै परिवारप्रति नै वितृष्णा जगाउन खोज्ने गरेको उहाँ सुनाउनु हुन्छ ।

उपत्यकामा कति छन् रिह्याब सेन्टर ?

लागुऔषध दुर्व्यसनीमा लागेकाहरुलाई सुधार गर्ने भन्दै काठमाडौंमा यस्ता धेरै रिह्याव सेन्टरहरु छन् । 

रिह्याब सेन्टरका नाममा खुलेका संस्थाहरु काठमाडौंमा मात्रै झण्डै ४५ वटा रहेको रिह्याब सेन्टरहरुको छाता संगठन फेडेरेसन अफ ड्रग्स डिमाण्ड रिडक्सनका अध्यक्ष शर्माले बताउनु भयो ।

काठमाण्डौं, भक्तपुर र ललितपुर गरेर उपत्यकाका तिनै जिल्लामा यसको संख्या झण्डै ८०/९० वटा जति पुग्ने उहाँले बताउनुभयो । लागुऔषध दुर्व्यसनमा लाग्नेहरुको संख्या पनि बढिरहेकाले यस्ता केन्द्रहरुको संख्या खुल्ने क्रम पनि बढिरहेको शर्मा बताउनुहुन्छ ।

कति तिर्थे परिवारले

एक व्यक्ति बराबर ३५ हजार रुपैयाँ मासिक शुल्क लिने गरेको थियो यो संस्थाले । मासिक शुल्क तोकिए पनि सुरूमै एक वर्षको शुल्क झण्डै ४ लाख २० हजार बुझाउनु पर्थ्याे ।  

लागूऔषधको दुर्व्यसनबाट मुक्त हुन रिह्याब सेन्टरलाई मासिक रुपमा निकै ठूलो रकम बुझाउनु पर्थ्याे । एक व्यक्ति बराबर ३५ हजार रुपैयाँ मासिक शुल्क लिने गरेको थियो यो संस्थाले । मासिक शुल्क तोकिए पनि सुरूमै एक वर्षको शुल्क झण्डै ४ लाख २० हजार बुझाउनु पर्थ्याे ।  

खान, बस्न, मनोपरामर्श, स्वास्थ्य जाँच, प्रशिक्षण लगायत विभिन्न नाममा केन्द्रले शुल्क असुली गर्ने गरेको थियो । तर मोटो रकम शुल्कका रुपमा उठाउने गरे पनि यो संस्थाले त्यस्ता कुनै पनि सेवा र सुविधा भने त्यहाँ बस्नेलाई दिने गरेको थिएन ।  

रिह्यावमा एकपटक छिरेपछि सकेसम्म उ निस्कन सक्दैन थियो । परिवारलाई केन्द्र सञ्चालकले विभिन्न बहाना बनाएर झुक्याउँदै उसलाई भने रिह्याबमा राखिरहन्थ्यो ।  

आफ्नो परिवारको सदस्यमा सुधार आइरहेको सुनेपछि परिवार पनि मख्ख पर्थे । केन्द्र सञ्चालकले एक जनालाई झण्डै ३ वर्षसम्म राखेर उनीबाट १२ लाख ६० हजारसम्म असुल गरेको थियो । सुधारका नाममा एउटै व्यक्तिबाट लाखौँ असुले पनि सेवा सुविधा भने न्यून थियो ।   

के हो रिह्याब सेन्टर ?

लागुऔषधको दुर्व्यसनीमा परेकाहरुलाई सुधार गरेर सामान्य जीवन यापनमा फर्काउने मुख्य उद्धेश्य हो रिह्याब सेन्टर (पुनर्स्थापना केन्द्र) को । लागुऔषध दुर्व्यसनबाट टाढा रहन र जीवनलाई लागुऔषध मुक्त जीवन जिउन आवश्यक पर्ने सहयोगमा स्थायित्व र सहजता प्रदान गर्ने काम नै यसको हो ।

लागुऔषधबाट मुक्त दिलाउन यसको दुर्व्यसनीमा फस्नेहरुलाई व्यक्तिगत हेरचाह, मनोविमर्श तथा विभिन्न किसिमका परामर्श जरुरी हुन्छ । अहिले सञ्चालनमा रहेका रिह्याब सेन्टरहरु पनि यो सबै सुविधासहित लागुऔषधको दुर्व्यसनमा परेकाहरुलाई सामान्य जीवनमा फर्काउने भनेर जिम्मा लिन्छन् ।

तर रिह्याब सेन्टरहरुले भने जस्तो कुनै पनि सुविधा नदिई दुर्व्यसनबाट उन्मुक्ति दिलाउनुको साटो उनीहरुलाई झनै अर्को दलदलमा फसाइ रहेका छन् । रिह्याब सेन्टरहरुले त्याहाँ भर्ना भएकाहरुलाई मानसिक र शारिरीक यातना दिने गरेको पाइने गरेको छ ।  

देशभर सञ्चालित रिह्याब सेन्टरको छाता संगठन हो, फेडेरेसन अफ ड्रग्स डिमाण्ड रिडक्सन । गृह मन्त्रालय र यसको सञ्चालन नियमावली अनुसार नै रिह्याब सेन्टरहरू चलाउनु पर्ने बताउनु हुन्छ, फेडेरेसन अफ ड्रग्स डिमाण्ड रिडक्सनका अध्यक्ष प्रशान्त शर्मा ।

कुनै पनि रिह्याव सेन्टरले बढीमा २ महिना र नभए ४५ दिनसम्म मात्रै हो परिवारसँग भेट्न नदिने । त्यसपछि भने हरेक हप्ता रिह्याबमा बसेकालाइ भेट्ने सुबिधा उपलब्ध हुन्छ ।

‘रिह्याब सेन्टरमा सर्टिफाई काउन्सिलर, सर्टिफाई चिकित्सक र आवश्यक अन्य सुविधा अनिवार्य हुनै पर्छ’ अध्यक्ष शर्मा भन्नुहुन्छ, ‘अन्यथा त्यो रिह्याव सेन्टर होइन अविभावकलाई ठग्न खोलिएको ठगी केन्द्र हो ।’ नियमानुसार नचल्ने र खाली पैसा कमाउने ध्यानमा राखेर यस्तो विकृति गर्नेहरुका कारण राम्रा काम गर्ने अन्यलाइ पनि असर पुगेको उहाँ बताउनु हुन्छ ।

‘हामीले समय समयमा स्थानीय प्रशासन, प्रहरी र जनप्रतिनिधिसहित संयुक्त रुपमा यस्ता सेन्टरहरुको अनुगमन पनि गर्ने गरेका छौँ,’ उहाले भन्नुभयो, ‘केही समयअघि मात्रै यो संस्थामा अनुगमनमा गर्दा पनि हामीले मापदण्ड पूरा नगरी सञ्चालन भएको पाएका थियौं ।’ 

तत्काल आवश्यक मापदण्ड पूरा गरेर प्रशासनमा जानकारी गराउन त्योबेला नै चेतावनी दिएको उहाँले बताउनु भयो । अध्यक्ष शर्माका अनुसार कुनै पनि रिह्याव सेन्टरले बढीमा २ महिना र नभए ४५ दिनसम्म मात्रै हो परिवारसँग भेट्न नदिने । त्यसपछि भने हरेक हप्ता रिह्याबमा बसेकालाइ भेट्ने सुबिधा उपलब्ध हुन्छ ।

‘सुरु सुरुमा परिवारका मान्छे भेट्दा घर बसेको बिर्सन नसक्ने भएकाले सुरुवाती चरणमा केही दिन भेट्न नदिने मात्रै हो पछि त मज्जाले भेट्न पाइन्छ’ उहाँले भन्नुभयो ।

को हुन पक्राउ परेका घिमिरे ?

घिमिरे पनि केही वर्ष अघिसम्म लागूऔषध दुर्व्यसनीकै लतमा थिए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ निवासी घिमिरे साथीहरुकै संगतले दुर्व्यसनीमा फसेका थिए । उनको परिवारले पनि लागुऔषधको लतबाट छुटकारा दिलाउन रिह्याब सेन्टर राखेका थिए ।

रिह्याब सेन्टरको वरपरका घरका मान्छेलाई त्यो घरभित्र रिह्याब चलेको छ भनेर जानकारी समेत थिएन । प्रहरीले छापा मारेर २१ जनाको उद्दार गर्दा मात्रै आफूहरुले थाहा पाएको सुकेधाराका  निमेष श्रेष्ठ बताउनु हुन्छ ।

काठमाडौंको बुढानिलकण्ठमा रहेको नार्कोनन् भन्ने रिह्याबमा पुगेपछि घिमिरे यसको सेवनबाट मुक्त बनेका हुन् । लागूऔषधको लतबाट मुक्त भएका घिमिरे त्यही संस्थामा अनुभव आदानप्रदान गर्ने व्यक्तिका रुपमा काम गर्न थाले । केही समय काम गरेका उनले संस्थाकै अहित हुने गतिबिधि गरेपछि कामबाट बिदा दिएर घर पठाएको सो संस्थाले जानकारी दिएको छ ।

त्यहाँबाट निस्केपछि नै घिमिरेले आफ्नै संस्थाको स्थापना गरेका हुन् । नार्कोननमा बस्दा घिमिरेले विभिन्न ठाउँमा पुगेर प्रशिक्षकको रुपमा काम गर्ने अनुभव बटुलिसकेका थिए । त्यसैको फाइदा उठाउँदै केही लगानी गरेर उनले ‘ट्रान्सफरमेशन नेपाल’ नामक सुधार केन्द्र खोलेका हुन् ।

पहिले यसको कार्यालय कपनमा थियो । भुकम्पपछि भने त्याहाँबाट सारेर सुकेधारा ल्याइएको हो । रिह्याब सेन्टरको वरपरका घरका मान्छेलाई त्यो घरभित्र रिह्याब चलेको छ भनेर जानकारी समेत थिएन । प्रहरीले छापा मारेर २१ जनाको उद्दार गर्दा मात्रै आफूहरुले थाहा पाएको सुकेधाराका निमेष श्रेष्ठ बताउनु हुन्छ ।

संस्थाको बारेमा जानकारी दिने कुनै पनि होर्डिङबोर्ड टाँसिएको छैन । ‘संस्थाको बारेमा प्रष्ट जानकारी हुनेगरी  बोर्डहरु राखिनु पर्छ,’ छाता संगठनका अध्यक्ष शर्मा भन्नुहुन्छ, ‘यसरी वरपरका स्थानीयलाई नै थाहा नहुने गरी भ्रममा पारेर राख्नु नै गलत हो ।’

अन्तिम अपडेट: फागुन २२, २०७५

नवराज फुयाँल

उज्यालोमा कार्यरत नवराज फुयाँल राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

1 Comments

  • sudarshan

    Dec. 9, 2018, 6:49 p.m.

    I read all this article. Why you did not gave the Credit to Ravi Lamichane and their team to do entire things. Its not fear for your article. Without him, you can not get the article. Nepali media please give the credit for those person who do the good work. Thanks,

  •  0 Reply

तपाईको प्रतिक्रिया