श्रृङ्खला खतिवडाबारे के भन्छन् पूर्व मिस नेपाल तथा कलाकारहरु ?

 मंसिर २३, २०७५ आइतबार १४:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – मिस वल्र्डको नतिजा सार्वजनिक भएसँगै यति बेला विश्वको ध्यान मिस वर्ल्डमा केन्द्रित छ ।

मिस वल्र्डको उपाधि मेक्सिकोकी सुन्दरी भेनेसा दे लिओनले प्राप्त गर्न सफल भइन् । यस्तै थाइल्याण्डकी सुन्दरी रनर अप हुन सफल भइन् । यता नेपालकी सुन्दरी श्रृङ्खला खतिवडा भने टप १२ सम्म पुग्न सफल भइन् । टप १२ बाट भने श्रृङ्खला खतिवडाका निम्ति मिस वर्ल्डको यात्रा टुङ्गिन पुग्यो ।

अन्तिम पाँचमा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड ओसियानिया–२०१८, को उपाधि जित्न आवश्यक थियो तर त्यो उपाधिमा भने श्रृङ्खला खतिवडा चुक्न पुगिन् । त्यो उपाधि भने थाइल्याण्डकी सुन्दरीले आफ्नो पोल्टामा पार्न सफल भइन् । थाइल्याण्डकी सुन्दरीले उक्त उपाधि जितेसँगै नेपालकी सुन्दरी श्रृङ्खलाको उपाधि यात्रामा पूर्ण बिराम लागेको हो ।

हुन त श्रृङ्खलाले त्यसभन्दा अघि नै २ उपाधि जित्न सफल भैसकेकी थिइन् । नेपालले मिस वर्ल्डबाट हासिल गरेको यो नै सबैभन्दा ठूलो उपाधि हो । यसअघि २०१३ को प्रतियोगितामा नेपालकी सुन्दरी इशानी श्रेष्ठले ब्यूटी विद् अ पर्पस अवार्ड जित्न सफल भएकी थिइन् । साथै उनी प्रतियोगिताको टप १० सम्म पुग्न सफल भएकी थिइन् ।

२०१८ को प्रतियोगितामा सहभागी भएकी नेपालकी सुन्दरी श्रृङ्खला खतिवडाले भने ब्यूटी विद् अ पर्पससँगै मल्टिमिडिया अवार्ड पनि आफ्नो पोल्टामा पार्न सफल भइन् । ब्यूटी विद् अ पर्पस अवार्ड जितेसँगै श्रृङ्खलाले आफ्नो सामाजिक सञ्जालमर्फत खुशी व्यक्त गरेकी थिइन् ।

उनले मिस वर्ल्डको उपाधि जितेसरह भएको समेत बताएकी थिइन् । श्रृङ्खला टप १२ बाट बाहिरिएसँगै अन्तिम ५ मा थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैका सुन्दरीहरु छानिएका थिए । अन्ततः सबैलाई पछि पार्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वल्र्ड २०१८ को उपाधि जित्न सफल भइन् ।

श्रृङ्खलाले पाएको उपाधि भने नेपालका लागि भने अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता मानिएको छ । नेपालले अहिलेसम्म मिस वल्र्डमा दुई वटा उपाधि जित्न सकेको थिएन । तर २०१३ मा नेपालका तर्फबाट सहभागी इशानी श्रेष्ठ भने टप १० सम्म पुग्न सफल भएकी थिइन् ।

२०१२ मा मिस नेपालको उपाधि जित्न सफल सृष्टि श्रेष्ठको बुझाइमा श्रृङ्खला निकै अब्बल भएको र उनी मिस वल्र्डको उपाधिका पाउनलायक भएको समेत बताइन् ।  ‘अब हामीले भनेर केही हुँदैन, मिस वल्र्डको नतिजा आइसकेको छ । श्रृङ्खलाले पनि नेपाललाई विश्वमाझ चिनाउन ठूलो भूमिका निर्वाह गरेकी छन् । अब यसलाई नै हामीले हाम्रो जित सम्झिनुपर्छ । ’‍

यता २०११ कि मिस नेपाल मलिना जोशीको नजरमा पनि श्रृङ्खला निकै साहस र हौसला भएकी नारी हुन् । उनीबाट आफूले पनि ठूलो आशा राखेको समेत उनले बताइन् । मलिनाले आफूले मिस वल्र्डमा सहभागी हुँदा यस्तो चर्चा नभएको बताइन् । ‘त्यो समयमा अहिले जस्तो धेरैले फेसबुक चलाउँदैन थिए, यूट्युब यस्तो सक्रिय थिएन, न त मनिसले इन्स्टाग्राम नै चलाउँथे’, मलिनाले भनिन्, ‘त्यो त छँदै थियो, मेरो समयमा मल्टिमिडिया अवार्ड नै थिएन ।’

नेपालकी सुन्दरी नायिकाको उपनाम पाएकी नायिका करिष्मा मानन्धरको नजरमा पनि श्रृङ्खला निक्कै अब्बल नारी हुन् । उनले भनिन्, ‘यस पटक जति आश मैले कहिले पनि गरेकी थिइनँ । जे भए पनि श्रृङ्खलाले आफूलाई प्रमाणित गरेकी छिन् । मलाई यस पटक एउटै कुरामा दुःख लाग्यो’, मानन्धरले भनिन्, ‘धेरैले श्रृङ्खलालाई निर्मला पन्तको घटनासँग जोडेर हेर्नुभयो, तर यो बिल्कुलै फरक–फरक पाटो थियो ।’

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पनि यस पटक ठूलै आशा पलाएको थियो । उनले प्रतिष्पर्धीहरुसँग देखाएको व्यवहारले आफ्नो मन छोएको उनको भनाई थियो । ‘जे भए पनि उनले २ वटा अवार्ड जित्न सफल भइन् । उनले अब आफूलाई देशको विकासमा समर्पित गर्नुपर्छ’, श्रेष्ठले भने, ‘किनभने नेपाललाई श्रृङ्खला जस्ता युवाप्रतिभाहरुको खाँचो छ ।’

हास्यकलाकार केदार घिमिरेलाई श्रृङ्खलाप्रति नेपालीहरुले देखाएको सद्भावका कारण निकै खुशी लागेको छ । ‘यदि कोही नेपाली अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान्छ भने उसलाई एकजुट भएर साथदिने नेपालीहरुको बानी निकै उत्कृष्ठ छ । यसभन्दा अघिका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि यस्ता धेरै उदाहरणहरु छन् । प्रसान्त तामाङ, तेरिया मगरसँगै श्रृङ्खलालाई पनि उदाहरणका रुपमा लिन सकिन्छ ।’

श्रृङ्खलाबाट आफूले पनि धेरै कुरा सिकेको हास्यकलाकार कुञ्जना घिमिरे बताउँछिन् । श्रृङ्खलाले मिस वल्र्डको उपाधि जित्नेमा आफू निकै आशावादी भएको तर उक्त कुरा सफल हुन नसकेको उनले बताइन् । ‘आफूभित्र साहस बटुल्न परे श्रृङ्खलालाई हेर्न आवश्यक छ’, हास्यकलाकार घिमिरे, ‘नेपाललाई उनी जस्तै प्रतिभावान सुन्दरीको आवश्यकता रहेको छ ।’ 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया