भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेहरुले नै भ्रष्टाचार गर्ने गरेको पाइयाे : प्रम अाेली

 मंसिर २३, २०७५ आइतबार १४:५१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार ‘हुन नदिने’ आफ्नो संकल्प दोहोर्‍याउनु भएको छ ।

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कोसिस गरिरहेको पनि स्पष्ट पार्नु भयो । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले ‘म भ्रष्टाचार गर्दिन’ भन्ने आफ्नो प्रतिबद्धता शतप्रतिशत कार्यान्वयनमा आएको दावी गर्नु भयो ।

भ्रष्टाचार ‘गर्न दिन्न’ भन्ने आफ्नो भनाई पूर्ण रुपमा कार्यान्वयनमा नआएकाले मुलुकमा अझै पनि भ्रष्टाचार भइरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने  कुरामा ढुक्क हुन पनि पटक–पटक आग्रह गर्नु भयो । उहाँले भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीतिलाई निर्मम ढंगले कार्यान्वयन गराउने दृढता पनि दोहोर्‍याउनु भयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्न सम्बन्धित निकायलाई पनि सचेत गराउनु भयो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सजिलो नभएको पनि बताउनु भयो । बुद्धि भएकाहरुले त्यसको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने गरेकाले त्यसलाई नियन्त्रण गर्न कठिनाई भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले भ्रष्टाचार गर्दिन भनेर ठूलो स्वर गर्नेहरुले नै भ्रष्टाचार गर्ने गरेको पाइएकोमा आफू अचम्मित भएको पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचार नियन्त्रण गर्न व्यक्ति, परिवार, समाज, राष्ट्र र सिंगो अन्तराष्ट्रिय समुदायनै एक ढिक्का हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्ष मनाउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया