चिडियाखानामा उद्धार केन्द्र अभाव

 मंसिर २३, २०७५ सोमबार ५:२५:५२ | रासस
unn.prixa.net

ललितपुर - सदर चिडियाखानामा विभिन्न जीवजन्तुलाई संरक्षण गर्न पहिलो चरणमा ल्याएर राखिने उद्धार केन्द्रको अभाव रहेको छ । 

चिडियाखानाको २३ औँ वार्षिकोत्सवमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख व्यवस्थापक डा चिरञ्जीवी प्रसाद पोखरेलले मुख्य समस्याका रुपमा उद्धार केन्द्रको अभाव रहेको बताउनुभयो । “प्रत्येक वर्ष १०/१५ जीवजन्तु यहाँ संरक्षण गर्नुपर्छ, संरक्षण गरिएको जीवजन्तुलाई छ महीनादेखि एक वर्षसम्म अवलोकन गर्नका लागि राख्न सम्भव हुँदैन, पशु डाक्टरको निगरानीमा संरक्षण गरी राख्नुपर्छ तर स्थान अभाव छ,” प्रमुख व्यवस्थापक पोखरेलले भन्नुभयो । 

चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार उद्धार केन्द्र मात्र नभएर पछिल्लो समय जीवजन्तुको सङ्ख्या बढिरहेकोले स्थान अभाव भएको बताउनुभयो । हाल चिडियाखानामा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् । केही वर्षअघि ८०० जीवजन्तु रहेको यहाँ गत वर्ष धेरै चरा ल्याइएकाले सङ्ख्या बढेको चालिसेले बताउनुभयो । गत आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १४ करोडको आम्दानी गरेको चिडियाखानामा एक लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्ष मुनिकालाई रु ५०, विद्यार्थीलाई रु १००, सर्वसाधारणलाई १५०, सार्क राष्ट्रका पाहुनालाई रु २२० र अन्य देशका नागरिकलाई रु ७५० प्रवेश शुल्क तोकिएको छ । अघिल्लो आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी गरिएको थियो । 

एक वर्षअघि चिडियाखानाको उद्धार केन्द्रमा राखी यही मङ्सिरको पहिलो सातादेखि सर्वसाधारणका लागि अवलोकन गर्न राखिएको रेड पाण्डा र रिङटेल्ड लिमर मुख्य आकर्षणका रुपमा रहेका छन् । 

चिडियाखानामा पहिलोपटक राखिएको सो जनावर एक वर्षअघि जिल्ला वन कार्यालय काठमाडौँले उपलब्ध गराएको हो । अफ्रिकी मुलुकमा पाइने सो जनावरको आयु १६ देखि १९ वर्ष रहेको छ । खैरो शरीर तथा कालो र सेतो रङ मिश्रित लामो पुच्छर भएको उक्त जनावर चिम्पाञ्जी प्रजातिमा पर्छ । पाँच वर्षको भाले–पोथी गरी एक जोडी जनावर अहिले चिडियाखानामा ल्याइएको हो । यस जनावरले विशेषगरी फलफूल र कीरा फट्याङ्ग्रा खाने गर्दछ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया